मोदी भ्रमणका लागि राजधानीमा सादा पोसाकमा प्रशस्तै सुरक्षाकर्मी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७१, शुक्रबार ०५:५४

काठमाडौं ,१६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अवधिभरका लागि राजधानीमा सादा पोसाकमा प्रशस्तै सुरक्षाकर्मी परिचालन गरिने भएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित गुप्तचर विभागका भिन्नाभिन्नै टोलीलाई काठमाडौं उपत्यकाका मुख्यमुख्य स्थानमा खानतलासी गर्ने र पक्राउ गर्ने अधिकारसहित सादा पोसाकमा परिचालन गरिएको सैनिक स्रोतले बतायो।212804

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुरक्षा योजना लागू गर्ने निर्णय पनि सरकारले गरेको छ। यसअन्तर्गत उनी आउनुभन्दा एक दिनअघि साउन १७ गतेदेखि फर्कने दिन १९ गतेसम्म विमानास्थलभित्र तस्बिर नभएका पासवाहकलाई समेत प्रवेश दिइनेछैन। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचर विभाग एवं विमानस्थल कार्यालयका महाप्रबन्धक सहभागी साउन १२ गतेको बैठकले विमानस्थल सवारीसाधनलाई समेत निषेधित क्षेत्रबाट बाहिर जाने र प्रवेश गर्न रोक लागाउने निर्णय गरेको छ।

विमानस्थलको पत्रमार्फत प्रवेश अनुमति लिएका सवारीसाधनलाई मोदीको भ्रमण अविधिभर प्रवेशमा रोक लगाइएको छ। विमान पार्किङ क्षेत्र, सवारीसाधन पार्किङ क्षेत्र र गोल्डेन गेट क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मीले खानतलासीसहित निगरानी गर्नेछन्।

मोदीको निजी सुरक्षामा खटिएको कमान्डो समूहका प्रतिनिधिको एडभान्स टिमले विमानस्थल र भ्रमणस्थलको सुरक्षासम्बन्धी व्यवस्था र भेटघाटस्थलको अवस्थाबारे नेपाली सेनाका प्रतिनिधिसँग अध्ययन गरेर फर्किएको छ। मोदी गुजरातको मुख्यमन्त्री हुँदा उनको हिन्दु धार्मिक छवि र गुजरातमा भएका हिंसात्मक घटनाका साथै छिमेकी राज्य बिहारको पटनामा चुनावी सभाका क्रममा भएको विस्फोटलाई पृष्ठभूमिका राखेर सुरक्षा विश्लेषण गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी सुरक्षा स्रोतले दियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१