सिरियामा युद्धविराम सुरु, विश्वव्यापी चासो बढेको राष्ट्रसंघको भनाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७२, शनिबार १५:४४
विदेशगएको पाँच वर्षदेखि हिंसा जारी रहेको मध्यपूर्वी राष्ट्र सिरियामा शुक्रबारको मध्यरातिदेखि युद्धविराम सुरु भएको  छ।
शनिबार बिहानै गरिएका अनुगमनहरुमा सरकार तथा विद्रोही तर्फबाट नै देशमा शान्तिको पहलस्वरुप कुनै हिंसात्मक कार्य नगरेको पाइएको बताइएको छ।
यस युद्धविरामलाई विश्वव्यापी रुपमा हेरिएको र विश्वमा नै सिरियाको विषयलाई लिएर व्यापक मात्रामा चासो बढेको पाइएको छ।
संयुक्त राज्य अमेरिका र रसियाको विशेष पहलमा सुरु भएको यस युद्धविरामको संसारमा नै चासो र चर्चा पनि सुरु भएको बताइएको छ। शुक्रबारै मध्यरातिदेखि सुरु हुने भनिएको सो युद्धविरामको पालनाका लागि सिरियालाई पनि दबाब बढिरहेको छ।
 युद्धविरामको सुरुवात भएको मध्यरातिदेखि बिहानसम्म कुनै हिंसाका घटना भएका छैनन् र सरकारी एवम् विद्रोही पक्षबाट नै यसका लागि संयमता अपनाएको देखिएको छ।
यस युद्धविरामलाई इमान्दारिताका साथ पालना गर्न संयुक्त राष्ट्रसंघले पनि विश्वव्यापकी रुपमा आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि युद्धविरामका लागि इमान्दार रहन आग्रह गर्दै यसको कार्यान्वयन भए नभएको संसारका मानिसले निगरानी गरिरहेको जानकारी गराएका छन्।
सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिका र रसियाद्वारा प्रस्तावित यस युद्धविरामका लागि आफू सहमत रहेको प्रतिबद्धता बुधबारै व्यक्त गरेका थिए।
उनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरी रसिया र अमेरिकाका तर्फबाट आगामी शनिबारदेखि युद्धविराम गर्न गरिएको आदेशको पालना गर्ने जानकारी दिएको क्रेमलिनले जनाएको छ।
सिरियामा विद्रोह गरिरहेका विपक्षीहरुले पनि यस विषयमा सहमति जनाएका छन्। उनीहरुले सरकारी सेनाले गर्ने गरेका हवाई हमला रोक्नुपर्ने, देशभरि नै आवश्यक परेको मानवीय सहायतासम्बन्धी नागरिकलाई सहयोग पु¥याउन दिनुपर्ने जस्ता शर्त राखेका छन्।
सुरक्षा परिषदको प्रस्ताव 
यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि युद्धविराम पहिलो प्रयास हो भन्दै यसको पालना गर्न आग्रह गरेको छ।
उक्त परिषदको शुक्रबार बसेको बैठकले सिरियामा युद्धविराम लागू र कायम गर्न एक नयाँ प्रस्ताव पारित गरेको हो। सो प्रस्ताव सुरक्ष परिषदका सबै सदस्यले सर्वसम्मत रुपमा पारित गरेका हुन्।
सुरक्षा परिषदले यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गर्ने र त्यसका लागि विश्व समुदाय एवम् सिरियाको बारेमा असल चिताउने सबै पक्ष र समुदायको सहयोगको अपेक्षा पनि गरेको छ।
महासचिव बानको स्वागत 
यसैबीच सुरक्षा परिषदको उक्त प्रस्तावको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले स्वागत गरेका छन्। उक्त परिषदले सर्वसम्मत रुपमा यस युद्धविरामको बारेमा प्रस्ताव पारित गरेर संसारका शान्तिप्रेमी जनताका लागि प्रेरित गरेको धारणा राखे।
साथै उनले सिरियाली सरकार र त्यहाँका विपक्षीहरुलाई पनि युद्धविरामको पालना गरी आगामी दिनमा दिगो शान्तिका लागि अघि सारिएको यस पहललाई साकार पार्ने काममा सघाउन आग्रह गरेका छन्।
यसैगरी उनले यो अवस्थासम्म ल्याइ पुर्याउनका लागि मेहनेत गर्ने अमेरिका र रसियालाई पनि विशेष धन्यवाद दिएका छन्।
सिरियामा गएको करिब पाँचवर्षदेखि हिंसा जारी रहेको छ। त्यहाँको गृहयुद्धमा परी दुई लाख ७० हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको मानवअधिकारीवादी समूहले मङ्गलबार जनाएको छ। रासस/एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१