विश्वका धनीहरूको नयाँ सूची सार्वजनिक,पुटिन संसारकै धनी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ माघ २०७२, आईतवार ०७:१५

putinपुटिनसँग  दुई अर्ब डलर
केही दिनअघि विश्वका धनीहरूको नयाँ सूची सार्वजनिक भएको छ । माइक्रोसफ्ट मालिक बिल गेट्स फेरि पनि एक नम्बरमा परे । मानव इतिहासमै सबैभन्दा धेरै सम्पत्तिका मालिक गेट्ससँग ८७ अर्ब ४० करोड डलर सम्पत्ति छ । ठीक यही समयमा अमेरिकी अधिकारीले सार्वजनिक रूपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘भ्रष्ट’ भने । यससँगै पुटिनसँग कति सम्पत्ति छ ? भन्ने बहस पुन: एकपटक सुरु भएको छ । अमेरिकाले यसअघि नै पुटिनका सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको थियो, तर उनीमाथि प्रत्यक्ष रूपमा भ्रष्टाचारको आरोप लगाएको यो पहिलोपटक हो । पुटिनका विरोधीहरू उनीसँग दुई सय अर्ब डलरको सम्पत्ति भएको दाबी गर्छन्, जुन बिल गेट्सको सम्पत्तिको तुलनामा साढे दुई गुणा बढी हो ।

रुस–पश्चिम तनाव नयाँ चरणमा
स्वदेशमा व्यापक जनसमर्थन पाएका, तर पश्चिमका स्थायी शत्रु मानिने रुसका ‘म्याचो’ राष्ट्रपति संसारकै शक्तिशाली व्यक्ति हुन् । यसमा दुई मत छैन । तर, तिनै व्यक्ति संसारकै धनी व्यक्ति हुन सक्छन् भन्दा धेरैलाई विश्वास लाग्दैन । बेलायती अखबार मिररले उनीसँग कति सम्पत्ति हुन सक्छ भन्नेबारे एउटा लामै लेख छापेको छ । रुसका ‘करिब तानाशाह बनिसकेका’ उनी शक्तिलाई आफू खुसी प्रयोग गर्छन् । एक साताअघि बेलायतले पुटिनबारे एउटा सनसनीपूर्ण प्रतिवेदन जारी गर्‍यो । सन् २००६ मा लन्डनमा एक पूर्वरुसी जासुसको हत्या भएको थियो । अलेक्जेन्डर लित्भिनेन्कोको हत्याबारे सर रोबर्ट ओगेनले गरेको अध्ययनले सो हत्या पुटिनको सहमतिमा भएको हुन सक्ने आशंका व्यक्त गर्‍यो । बेलायतको आरोपविरुद्ध क्रेमलिनले कडा प्रतिक्रिया दिएको छ र रुस–पश्चिम तनाव नयाँ सिराले अहिले अघि बढिरहेको छ ।

रुसमा ‘नयाँ जार’को उदय
१६ वर्षअघि पुटिन पहिलोपटक रुसी राष्ट्रपतिमा निर्वाचित भएका थिए । ६३ वर्षीय पुटिन अहिले अभूतपूर्व शक्ति उपभोग गरिरहेका छन् । तर, पश्चिमले अहिले फरक खाले आरोप लगाइरहेको छ कि उनले कल्पनै गर्न नसकिने गरी कमाएका छन् । ‘रुसी क्रान्तिको करिब एक सय वर्षपछि रुसमा नयाँ जारको उदय भएको छ,’ मिररले लेखेको छ ।
पुटिन आफूलाई सामान्य व्यक्तिका रूपमा चिनाउँछन् । सरकारी तथ्यांकमा उनले सन् २०१४ मा ७६ लाख रुबल (करिब एक लाख १८ हजार डलर) कमाएको उल्लेख छ । सम्पत्तिको हकमा उनीसँग दुईवटा अपार्टमेन्ट र एउटा कार पार्किङ ग्यारेजमा सेयर छ । तर, उनीसँग ४० अर्बदेखि दुई सय अर्ब डलरसम्म सम्पत्ति हुन सक्ने अनुमान छ ।

आफू मात्र होइन मित्र र सहयोगी पनि धनी
त्यसो त रुसमा भ्रष्टाचार व्यापक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले भर्खरै जारी गरेको सूचीमा रुस एक सय १९औँ स्थानमा छ । रुसमा एउटा भनाइ चर्चित छ, ‘माछा टाउकोदेखि कुहिन थाल्छ ।’ यसको अर्थ क्रेमलिन पनि भ्रष्टाचारमुक्त छैन । यहाँ कलात्मक भ्रष्टाचार हुने बताइन्छ ।
वर्षौँसम्म आलोचकहरू उनी ‘माफियाशैली’मा निजी सम्बन्धलाई पैसा कमाउन प्रयोग गर्ने आशंका गर्थे । यो साता अमेरिकी अर्थ मन्त्रालयले पनि त्यस्तै आवाज उठाएको छ । उनीसँग निकै धेरै निजी सम्पत्ति भएको बताइन्छ । एक रिपोर्टअनुसार पुटिनसँग अर्बौँ डलर पर्ने दरबार र साढे तीन करोड डलर पर्ने ओलम्पिया नामको जहाज पनि छ । यो जहाज उनका ‘अल्ट्रा रिच’ मित्र तथा चेल्सी मालिक रोमन अब्रामोबिचले उपहारका रूपमा दिएको बताइन्छ ।

सम्पत्ति लुकाउने लामो अनुभव
‘हामी देखिरहेका छौँ, उनका मित्र, सहयोगी बिस्तारै धनी बनिरहेका छन्, सरकारी सम्पत्ति प्रयोग गरेर । उनले आफ्ना साथी नठानेकाहरू धनको मामिलामा बिस्तारै सीमान्तकृत भइरहेका छन् । ऊर्जा सम्झौतामा होस् या ठेक्कापट्टामा, उनी आफ्ना साथीलाई विश्वास गर्छन् अरूलाई होइन,’ बिबिसी पानारोमासँग कुरा गर्दै अमेरिकी अर्थ मन्त्रालयका अधिकारी एडाम स्जुबिनले यसै साता भनेका थिए ।
‘यो भ्रष्टाचार हो,’ उनले अगाडि थपे, ‘केजिबीका पूर्वजासुस पुटिनसँग सम्पत्ति लुकाउने वर्षौर्ँ लामो अनुभव छ ।’
पुटिनबारे ज्ञाता एंगस रोक्बर्ग पनि पुटिनसँग असीमित शक्ति र धन भएको स्विकार्छन् । भन्छन्, ‘उनी जारजस्तो व्यवहार गर्छन्, उनी आफूलाई जार ठान्छन्, सम्भवत: उनी जारजस्तै बाँच्न चाहन्छन् ।’
‘द स्ट्रोङम्यान: भ्लादिमिर पुटिन एन्ड द स्ट्रगल फर रसिया’का लेखकसमेत रहेका उनी अगाडि थप्छन्, ‘उनी ठूलो देशका राष्ट्रपति हुन् र नेताहरू धनी हुन्छन् भन्ने विचार उनको छ ।’

६ लाख डलर पर्ने घडी
उनीसँग धेरै सम्पत्ति छ भन्ने संकेत वेलामौकामा देखिन्छ । गत वर्ष उनी इटालियन कम्पनी लोरा पियानाले बनाएको करिब तीन हजार डलर पर्ने क्यासमेयर र सिल्क ट्रयाकसुटमा देखिएका थिए । उनले लगाउने घडी करिब साढे ६ लाख डलर पर्छ । त्यसैगरी, सन् २००९ मा उनले एकजना कामदारलाई आठ हजार डलर पर्ने लुगा उपहारका रूपमा दिएका थिए ।
पुटिन र उनको समूहले सम्पत्ति र भ्रष्टाचारको आरोपलाई ‘पूर्ण रूपमा काल्पनिक’ भनी खण्डन गरेको छ ।
‘म युरोपको मात्र होइन, संसारकै धनी मानिस हुँ । मसँग भावना छ । म धनी हुँ । यो ठूलो देशको नेताका रूपमा जनताले मलाई दुईपटक विश्वास गरे,’ अमेरिकी आरोपपछि पुटिनले यस्तो अभिव्यक्ति दिए ।

पुटिनमाथि भ्रष्टाचार आरोप
राजनीतिक विश्लेषक स्टानिस्लाभ बेल्कोभ्स्कीका अनुसार पुटिनले तीनवटा सरकारी तेलखानीबाट ३९ अर्ब डलर कमाएको दाबी गर्छन् ।
सर्गेभ कोलेस्निकोभ पनि पुटिनले निजी फाइदाका लागि सरकारी कोष र सहयोग दुरुपयोग गर्ने दाबी गर्छन् । उनी र दुईजना पार्टनरले रोजइन्भेस्ट नामको कम्पनी खोलेको उनी बताउँछन् । यो कम्पनीमा ९४ प्रतिशत सेयर पुटिनको छ । ‘यो कम्पनीले प्रारम्भिक रूपमा १६ वटा परियोजनामा लगानी गरिसकेको छ । र, अब बिस्तारै पैसा कृष्णसागरमा रहेको अर्बौँ डलर पर्ने कोन्स्टान्टाइन दरबारतिर जान थालेको छ,’ कोलेस्निकोभ दाबी गर्छन् ।
पुटिनले आरोप अस्वीकार गरेका छन् । तर, प्यानोरोमाले भने यसबारे कागजात भेट्टाएको बताएको छ । पुटिनका पूर्वसहयोगीले पनि रुसका ठूला कम्पनीमा उनको सेयर रहेको बताउँछन् ।

गरिब परिवारका धनी पुटिन
यस्तो दाबी गर्नेहरूमा उनलाई सेन्ट पिटर्सबर्गमा उपमेयर हुँदादेखि चिन्नेहरूसमेत छन् । पुटिनको जन्म यही सहरमा भएको थियो । गरिबीमा हुर्केका उनका पिता भ्लादिमिर स्पिरिडोनोभिचले सोभियत सेनाबाट दोस्रो विश्वयुद्धमा लडेका थिए । त्यहाँबाट फर्केर उनी कामदार भएर बाँचे । पुटिनकी आमा मारिया इभानोभाले भोकमरीमा झन्डै ज्यान गुमाएकी थिइन् ।
सन् १९७५ मा ग्रयाजुएट गरेका पुटिन केजिबीमा भर्ती भए । पछि एजेन्टका रूपमा उनलाई पूर्वी जर्मनी खटाइयो । सन् १९९१ मा सरकारी कार्यालयमा काम गर्ने गरी फर्केपछि उनले साथीहरू बनाउन थाले । यो समूह अझै पनि उनीनिकट छ ।

छोरी–ज्वाइा पनि उस्तै धनी
उनका विरोधी मानिने लेखक करेन डेविसाले रुसी व्यवस्था पुरानो भनाइका आधारमा चल्ने बताउँछन्, ‘मेरा मित्रका लागि सबै कुरा, शत्रुका लागि कानुन’ । उनका सहयोगी तथा वकिल दुवैजना प्रधानमन्त्री बनिसकेका छन् । पानोरामाका अनुसार उनका अर्का मित्र सर्जी रोल्डुगिनसको रुसकै ठूलो बैंकमा सेयर छ । त्यसैगरी, उनका छिमेकी युरी कोभाल्चुकको पनि ठूलो व्यापार छ । पुटिनको सानो वेलाको साथी बोरिस रोटेनबर्ग सरकारी ठेक्का लिन्छन् ।
आफ्नो निजी जीवनलाई निकै गोप्य राख्ने पुटिनका दुई छोरी छन् । उनले सन् २०१३ मा पत्नी ल्युडमिलासँग सम्बन्धविच्छेद गरेका थिए । अहिले उनको नाम ३२ वर्षीया जिम्न्यास्ट अलिना काबेभासँग जोडिन्छ । पुटिनका सन्तानको नाममा कति सम्पत्ति छ भन्ने ठोकुवा गर्न कठिन छ । तर, उनकी कान्छी छोरी क्याटेरिना टिखोनोभा र उनका पति किरिल सामालोभले पिताको पदको फाइदा उठाइरहेको अनुमान छ ।

सबै दाबी विरोधीबाट
विश्लेषकहरू पुटिनका छोरी–ज्वाइँसँग दुई अर्ब डलरको सम्पत्ति भएको बताउँछन् । तर, यसलाई पुष्टि गर्न भने कठिन छ । रोक्सबर्ग भन्छन्, ‘यदि पुटिनसँग वास्तवमै यति धेरै सम्पत्ति छ भने हामी किन उनका घडीको मात्र पछि लागिरहेका छौँ?’
‘उनीसँग वास्तवमै महँगो जहाज छ भने उनी किन कहिल्यै त्यसमा देखिएनन् ? उनका हरेक घन्टा निगरानी गर्न सकिन्छ । उनीसँग अर्बौँ डलर पर्ने महल छ भने उनी किन त्यहाँ बस्दैनन् ?’ रोक्सबर्ग अगाडि थप्छन्, ‘सबै लगानी र स्वामित्व गोप्य छन् । र, अधिकांश दाबी उनका विरोधीबाट छ ।’

पुटिनबारे पश्चिमको पाँच दाबी

एक अर्ब डलरको दरबार
कृष्णसागरको तटमा पुटिनको एक अर्ब डलर मूल्यको दरबार रहेको दाबी गरिएको छ । विकिलिक्सले सन् २०११ मा महल निर्माण भइरहेको तस्बिर सार्वजनिक गरेको थियो । सन् २०१० मा पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले यो महलसँग पुटिनको कुनै सम्बन्ध नभएको बताएका थिए ।

अथाह सम्पत्ति
पुटिनले सन् २०१४ मा एक लाख १९ हजार डलर कमाएको बताएका छन् । सन् २००७ मा सिआइएले उनीसँग ४० अर्ब डलर सम्पत्ति रहेको रिपोर्ट जारी गरेको थियो । केहीले त उनीसँग दुई सय अर्ब सम्पत्ति भएको दाबी गरेका छन् । यो पैसा उनले रुस र विदेशमा विभिन्न व्यापारमा लगानी गरेको बताइन्छ ।

ठूलो तेल व्यापार
अमेरिकी अधिकारीका अनुसार पुटिनले जेनाडी टिमचेन्कोसँग मिलेर तेलको व्यापार गरिरहेका छन् । यिनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । पुटिनको तेल कम्पनीले विश्वको करिब तीन प्रतिशत माग पूर्ति गर्ने अमेरिकाको
दाबी छ ।

चेल्सीमालिकबाट महँगो ‘याच’
पुटिनलाई उनका मित्र तथा चेल्सीका मालिक रोमन अब्रामोबिचले साढे तीन करोड डलर पर्ने ‘याच’ (जहाज) उपहारका रूपमा दिएको बताइन्छ । अब्रामोबिचले सन् २००२ को मार्चमा आफ्ना कर्मचारीमार्फत यो जहाज उपलब्ध गराएका हुन् ।

पुटिन ‘भ्रष्ट’
पुटिनले सरकारी कोषलाई निजी फाइदाका लागि प्रयोग गरिरहेको आरोप अमेरिकाले लगाएको छ । उनले रुसी ऊर्जा र सरकारी ठेक्कालाई आफ्नानिकटका मानिसलाई दिने गरेको बताइन्छ । तर, क्रेमलिनले भने यसलाई अस्वीकार गरेको छ । ‘यो काल्पनिक दाबी हो,’ क्रेमलिनले भनेको छ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१