मलाई थाहै थिएन भारतले नाकाबन्दी गरेको छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ माघ २०७२, आईतवार ०७:०६
iraभारतीय लेखिका इरा त्रिवेदीले आफ्नै अनुभव समेटेर लेखेको उपन्यास ‘ह्वाट उड यू डू टू सेभ दी वल्र्ड’पछि चर्चामा आइन् । त्यसपछि उनका अरू दुई उपन्यास छापिए । र, एउटा ‘ननफिक्सन’ । यी सबै पुस्तक ‘बेस्टसेलर’ कृतिमा पर्छन् । इरा प्रेम र यौनलाई आफ्नो लेखनको प्रमुख विषय बनाउँछिन् । अर्को रोचक पक्ष, इराका उपन्यासमा प्रमुख पात्रमा सधैँ रिया मात्र छिन् । तिनै इरा अहिले पोखरामा छिन्, लिटरेचर फेस्टिभलका लागि । उनीसँग शिखर घिमिरेले शनिबार कुरा गरे । त्यसैको सम्पादित अंश : तपाईंले लगातार तीनवटा फिक्सन लेखेपछि ननफिक्सनमा लाग्नुभयो । किन ? भारतीय समाजका विभिन्न विषयले मलाई ननफिक्सनमा ल्यायो । समाजमा जे भइरहेको छ, त्यसले मैले ननफिक्सन पनि लेख्नुपर्छ भन्ने बनायो । भारतीय समाजले मलाई ननफिक्सनमा लगेको हो । के तपाईं फिक्सनमै ती कुरा लेख्न सक्नुहुँदैनथ्यो ? होइन, मलाई फिक्सनमा ती कुराको न्याय गर्न सक्छु भन्ने नै लागेन । जब मैले पत्रपत्रिकाका लागि लेखहरू लेख्न थालेँ, जब मैले पत्रपत्रिकामा कलम चलाउन थालेँ, त्यसपछि मैले समाज बुझ्न थालेँ । समाजका ती सबै कुरा मैले उपन्यासमा लेख्न सक्दिनथेँ, लेखेकै खण्डमा पनि त्यसलाई ‘सिरियस्ली’ नलिने समस्या हुन सक्थ्यो । त्यसैले, मैले ननफिक्सन रोजेँ र भारतमा देखिएको लैंगिक विभेदबारे लेखेँ । अनि फेरि फिक्सनमा लेखिएको भए यी कुराप्रति मानिस झन् ‘कन्फ्युज्ड’ हुन्थे, उनीहरूलाई यत्तिकै कथा लेखिएको होलाजस्तो लाग्न सक्थ्यो । त्यसो त तपार्इंले फिक्सनमा ‘सिरियस’ कुरा पनि लेख्नुभएको छैन । पछिल्लो समय भारतमा लेखकहरू किन प्रेम र रोमान्सलाई मात्र आफ्नो उपन्यासको विषय बनाइरहेका छन् ? यो किन हो भन्दा, यी दुवै विषय मानिसको जीवनका अभिन्न अंग भइसकेका छन् । पहिले–पहिले ‘अरेन्ज म्यारिज’ हुन्थ्यो । त्यसमा अहिलेजस्तो प्रेम हुँदैनथ्यो । तर, यसको अर्थ यो पनि होइन कि त्यतिवेला रोमान्टिक लभ हुँदैनथ्यो । अहिले बद्लिरहेको संस्कृति, संस्कार र समाजका कारण यस विषयमा धेरै लेखिन थालेको होजस्तो लाग्छ । मैले पनि यी विषय छान्नुको कारण यही नै हो । समाजको अभिन्न अंग भएकाले अरू लेखकले पनि सम्भवत: यो विषय छानेका हुन् । भारतमा त गरिबी ठूलो समस्या छ, मानिसहरू सडकमा सुत्छन्, त्यहाँ नै उनीहरूको मृत्यु हुन्छ । राजनीतिक परिवर्तन पनि । यी विषयचाहिँ के समाजका कुरा होइनन् ? यी पनि विषय छन् । तर, समाजलाई भोलि गाइड गर्ने भनेको अहिलेका युवाले हो । मैले उनीहरूको विषयमा लेखेकी हुँ । फेरि, भारतका ठूला समस्यामध्ये लैंगिक विभेद पनि हो । मलाई लाग्छ, मैले फिक्सन र ननफिक्सनमा यी कुरा लेखेर भारतीय समाजलाई न्याय नै गरिरहेकी छु । कतै तपाईं बेस्टसेलर बन्न ‘चिप’ साहित्य त लेख्दै हुनुहुन्न ? त्यस्तो पनि होइन । युवा वर्गलाई पनि पुस्तक पढ्ने बानीको विकास गर्नुपर्छ । र, मैले लेखेका पुस्तकमा उनीहरूको आकर्षण हुनु भनेको समाजलाई फाइदा हुनु नै हो । तर, यो होइन कि बेच्नका लागि मात्रै म किताब लेखिरहेकी छु । र, उनीहरूको आकर्षण किन बढेको छ भने उनीहरूले जीवनमा भोगेको विषयमा नै म लेखिरहेकी छु । मलाई लाग्छ, जे कुराले मान्छेलाई पढ्न आकर्षित गर्छ, त्यो लेख्नुपर्छ । यदि मान्छेले चित्र मात्रै पढ्छन् भने त्यस्तै पुस्तक निकाल्नुपर्छ । ‘कमिक्स’ मात्र मान्छेको पढाइमा पर्छ भने पनि त्यही लेख्नुपर्छ । किन भन्दा, पढ्नु भनेको अत्यन्त राम्रो कुरा हो । जे कुराले पढ्नमा मानिसलाई ध्यान केन्द्रित गर्छ, त्यही कुरा लेखिनुपर्छ । आखिर कसैले पढ्नु भनेको सबैभन्दा राम्रो कुरा हो । तपाईंले मिस इन्डियामा भाग लिनुभयो, त्यही कुरा पहिलो उपन्यासमा पनि लेख्नुभयो । सौन्दर्य र लेखनलाई कसरी ‘ब्यालेन्स’ गर्दै हुनुहुन्छ ? मिस इन्डियामा भाग लिएको विषय त अर्को हो । त्यतिवेला म ‘टिनएज’मै थिएँ । तर, सौन्दर्यको विषय अर्को हो । म छिट्टै एउटा नयाँ प्रोजेक्ट सुरु गर्दै छु । त्यसमा म ‘ब्युटी’बारे नै लेख्नेछु । तर, सौन्दर्य त दुइटा कुरा हुन्छन् । एउटा भित्री सौन्दर्य, अर्को बाहिरी । यी कुराहरूले पनि लेखनमा प्रभाव त पार्छन् नै । के तपाईंका पाठकले अब अरू केही पढ्न पाउँदैनन् त ? तपार्इं सधैँ ब्युटी, लभ र सेक्सकै विषयमा लेख्नुहुन्छ ? होइन, म साहित्य लेख्ने पनि कोसिस गर्दै छु । तर, केचाहिँ साँचो हो भने म महिलाका विषयमा भने लेख्न छुटाउँदिनँ । मैले महिलाका विषयमा लेख्दा एउटा राम्रो काम गरिरहेकी छु भन्ने ‘फिल’ हुन्छ । तपाईं त अन्तर्राष्ट्रिय पत्रिकाका लागि स्तम्भ पनि लेख्नुहुन्छ, भारतीय डिप्लोमेसीबारे । के मोदी सरकार सफल छ भन्ने लाग्छ ? म त अहिले पूरै अचम्ममा छु । मलाई भारतले नेपालमाथि नाकाबन्दी लगाएको कुरा नै थाहा थिएन । यो अत्यन्त नराम्रो भएको छ । तर, साँच्ची मलाई यो कुरा हिजो काठमाडौं आउँदासम्म थाहा थिएन । बरु, भूकम्प गएको थाहा थियो, मलाई दु:ख लागेको थियो । भारतीय मिडियाले यो विषयमा लेखेका पनि छैनन् । भारतले नेपाललाई त सहयोग गर्नुपथ्र्यो । भारतले सहयोग गर्नुपर्ने देशलाई यस्तो गरेकोमा मलाई दु:ख लागेको छ । यो कदापि राम्रो होइन, ‘इट्स नट गुड’ । तपाईंले उपन्यास ‘दियर इज नो लभ अन वालस्ट्रिट’मा महिला र पुरुषको सम्बन्धबारे लेख्नुभएको छ, के त्यो पनि तपाईंको पहिलो उपन्यासजस्तै सत्य हो ? यो त सर्वव्यापी कुरा हो । विश्वभर प्रेम छैन । भएका ठाउँको अनावश्यक कुरा गरिएको छ । विश्वभर प्रेम छैन भन्नुको अर्थ नि:स्वार्थ प्रेम छैन । यो फरक कुरा हो, अमेरिकी राष्ट्रपति कार्यालयमै क्लिन्टन र लेविंस्कीको ठूलो चर्चा भयो । तर, प्रेम त कहीँ पनि छैन । जहाँतहीँ महिलामाथि अत्याचार छ । तर, मेरो यो भनाइलाई ‘जेनेरलाइज’ पनि नगर्नुहोला । यस्ता विषयमा तपार्इं कसरी लेख्नुहुन्छ ? रिसर्च गरेर । हेर्नुस्, मैले मेरो पछिल्लो पुस्तक लेख्न झन्डै चार वर्ष मात्र रिसर्चमा बिताएँ । त्यसका लागि झन्डै ६ सय मानिससँग अन्तर्वार्ता गरेँ । यो आफैँमा एउटा कठिन विषय थियो, तर मैले गरेँ । लेखन पनि कठिन विषय हो । तर, यसमा लाग्दा एउटा छुट्टै आनन्द हुन्छ । अहिले त म पूर्णकालीन लेखक नै भइसकेकी छु । यो कुरा फरक हो, कहिले म उपन्यास लेखिरहेकी छु, त कहिले फिल्मका लागि स्क्रिप्ट । तपाईं अहिले आफूलाई भारतीय साहित्यमा कहाँ पाउनुहुन्छ ? अबको १० वर्षमा कहाँ पाउनुहुन्छ ? अहिले म जे गरिरहेकी छु, जे लेखिरहेकी छु, त्यसले एउटा विशेष अर्थ त राखेको नै छ । तर, साहित्यमै म कहाँ छु भन्ने भन्न सक्दिनँ । केचाहिँ हो भने अहिले म जे लेखिरहेकी छु, त्यो पनि भारतकै कुरा हो । म अहिले भारतीय महिलाका विषयमा केन्द्रित छु । महिलाका विषयमा लेखिरहेकी छु, यसलाई पक्कै पनि सबैले बुझ्नेछन् । मलाई लाग्छ, वर्षौँपछि पनि महिलाका विषयमा कुरा आउँदा मेरो योगदानको पनि चर्चा हुनेछ । अबको १० वर्षपछि म साहित्यमा पनि विशेष स्थानमा हुन सक्नेछु । म एउटी लेखिका हुँ, मेरा शब्दहरू सही स्थानमा प्रयोग हुन् भन्ने मलाई लाग्छ । तपाईं लेखनमा नआएको भए के हुनुहुन्थ्यो ? म एउटा योगा टिचर हुन्थेँ । हेर्नुस्, अहिले पनि म जब लेखिरहेकी हुन्नँ, त्यतिवेला योगा गरिरहेकी हुन्छु । मेरो यो अचम्मको बानी पनि हो । प्रत्येक दिन म दुई घन्टा योगा गर्छु । अनि त्यसपछि मात्र लेख्छु । योगाले मलाई धेरै फाइदा पुगेको छ । पहिले मेरो घाँटी अत्यन्त दुख्थ्यो, योगा गर्न थालेपछि सन्चो भयो । त्यही भएर मलाई योगाको माया पनि लाग्छ, योगा गर्नुपर्छ भन्ने लाग्छ । भारतमा त धेरै लेखकले ‘बुकर प्राइज’ पनि जितेका छन् ? तपाईंले पनि पाउनुहोला ? के थाहा ? कसलाई पो थाहा हुन्छ र ? तर, म आशावादी छु । अहिलेसम्म मैले लेखेका पुस्तकहरू फरक छन्, अब म छिट्टै साहित्यिक पुस्तक लेखनमा लाग्नेछु । हेरौँ, अब के हुन्छ ? तपाईं के पढ्नुहुन्छ ? कसरी पढ्नुहुन्छ ? म अहिले लभ स्टोरीहरू लेखिरहेकी छु । त्यसैले, म पनि लभ स्टोरी पढ्न रुचाउँछु । मैले धेरै किताब पढेकी छु । तर, मलाई बिट्रिस लेखक त्यति मन पर्दैन । मलाई अमेरिकन लेखक धेरै मन पर्छ । म उनीहरूका पुस्तक पढ्छु । म पुस्तक अत्यन्त छिटो पढ्न सक्दिनँ, ढिलो पढ्ने पाठक हुँ । तर, म पुस्तक छान्दा सहज छु । हातमा जुन पुस्तक पर्छ, त्यही पढ्न थाल्छु । तर, अध्ययनलाई धेरै माया गर्छु । एउटै पुस्तक दोहोर्‍याएर पनि मैले धेरै पढेकी छु । एउटा त्यस्तै दोहोर्‍याएको पु्स्तक हो, ‘गोन विथ द विन्ड’ । १० पटक पढिसकेकी छु मैले यो पुस्तक । तर, मैले आजसम्म दोहोर्‍याएर मेरै आफ्नै पुस्तकचाहिँ पढेकी छैन । जब एउटा पुस्तक छापिन्छ, त्यसमा मेरो काम सकिन्छ । म त्यसलाई पढ्दिनँ । हेर्नुस्, मैले नेपाली लेखक पनि पढेकी छु । मन्जुश्री थापालाई । enayapatrika बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१