मृतकको अंग जीवितमा राख्ने कानुन बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार ०८:५१

काठमाडौ,३१ साउन । आधुनिक चिकित्सा प्रणालीबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गराउने कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मानव शरीरको अंग प्रत्यारोपण ऐन २०५५ को संशोधन विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा मस्तिष्क मृत्युको घोषणा गर्न सकिने व्यवस्था छ । विधेयक पारित भएपछि त्यही व्यवस्थाका आधारमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।

मस्तिष्क मृत्यु (ब्रेन डेथ) भन्नाले मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्षमता फेरि नपलाउने गरी पूर्ण ध्वस्त भएको अवस्था जनाउँछ । मृतकका काम लाग्ने अंग झिकी अन्य व्यक्तिमा प्रत्यारोपण गरी मानव उपचारमा प्रभावकारिता ल्याउन नयाँ व्यवस्था गर्न लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए ।मृत्यु भएका व्यक्तिको अंग प्रयोग भएपछि मानव शरीरको अंग किनबेचसमेत रोकिने स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले बताए । स्वास्थ्य मन्त्रालयले पेस गरेको मानव अंग प्रत्यारोपण ऐन २०५५ संशोधन गर्न बनेको विधेयक संसद्मा विचाराधीन छ । मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकार श्रेष्ठका अनुसार सवारी दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेका र मस्तिष्कघात भएका व्यक्तिको मस्तिष्क मृत्यु हुन सक्छ । सवारी दुर्घटनामा मुलुकमा सरदर दैनिक चार जनाको मृत्यु हुन्छ । मस्तिष्क मृत्युको घोषणा गर्ने स्पष्ट मापदण्ड नहुँदा काम लाग्ने अंग त्यत्तिकै खेर गइरहेको अवस्था छ । काठमाडौं उपत्यकामा मात्रै बर्सेनि करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुने उनले बताए ।

विकसित मुलुकमा ८० प्रतिशतभन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको अंगबाट गरिन्छ । ‘हाम्रो देशमा पोलेर खरानी र गाडेर कुहाइरहेका छौं,’ डा. श्रेष्ठले भने, ‘मस्तिष्क मृत्यु भएका एक व्यक्तिको कम्तीमा आठ महत्त्वपूर्ण अंगहरू काम लाग्छन् ।’ दुई मृगौला, दुई फोक्सो, कलेजो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा निकालेर जीवित व्यक्तिमा प्रयोग गर्न सकिन्छ । यसले स्वस्थ व्यक्तिले अंग दान दिँदा हुने खतराबाट जोगिन्छ । दाताको खाँचो पर्दैन । बिरामीको आफन्तको खर्च कम हुन्छ । प्रत्यारोपणलाई आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१