याद गर्नुहोस् । तपाईले प्रयोग गर्ने क्रिमले बनाउला कुरुप !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १२:१७

सुन्दरतासम्बन्धी चासो जुन रूपमा बढेको छ, त्यही रूपमा सुन्दर हुन खोज्दा कुरूप हुने पनि बढ्दै गएका छन् । नेपाली समाजमा गोरो हुनु सुन्दरताको पहिलो मानक मान्ने गरिएको पाइन्छ । सबैलाई गोरो हुने चाहना हुन्छ । यही चाहनाको सही व्यवस्थापन गर्न नसक्दा आफ्नो छालाको प्राकृतिक स्वरूप नै बिगार्ने धेरै छन् । क्रिमका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड अनुहारको छालादेखि शरीरका अन्य भागको छाला क्षणभरमै गोरो बनाइदिने भन्दै विज्ञापन गर्छन्, त्यसैको पछि लाग्दा छालामा विभिन्न समस्या देखा परेर चिकित्सककहाँ आउने बढ्दै गएका छन् । अनुहारमा कुनै दाग, धब्बा नभएकाहरूले आफ्नो छाला कुन खालको छ र त्यसमा क्रिम, लोसन, जेल वा अक्वा जेल के लगाउँदा लाभदायक हुन्छ भन्ने पत्ता लगाउन छाला रोग विशेषज्ञसँग एक पटक परामर्श गर्ने हो भने सुन्दर हुने चाहनामा धेरै भागदौड गर्नैपर्दैन । कुन प्रकृतिको छालामा कस्तो खालको क्रिम लगाउने भन्ने सही सल्लाह छाला रोग विशेषज्ञले मात्र दिन सक्छन् ।

jjjएकपटक चिकित्सकसँग चेकजाँच गराउँदा लाग्ने खर्च र उसले प्रेस्काइब गरेको क्रिम किन्ने बजेटको तुलनामा कैयौँ गुणा बढी पैसा तिरेर क्रिम किनेर जथाभावी अनुहारमा लगाउनेहरूले नै आफ्नो सुन्दरता बिगार्ने गरेका छन् । विशेष गरेर महिलाहरू आफ्नो अनुहारको छालाको रङ र अनुहारमा आउने चायापोतोका कारण निकै हैरान हुने गरेको मैले पाएकी छु । युवावस्थामा डन्डीफोर र त्यसले ल्याउने दाग र खतलाई लिएर पनि धेरै महिला चिन्तित हुने गरेका छन् । अनुहारमा भएका तिलकोठीले पनि धेरैलाई पिरोलेको हुन्छ । कसैको कामको प्रकृति नै सुन्दरतासँग जोडिएको हुन्छ । जस्तो कि, एयर होस्टेस, कलाकार, हस्पिटालिटी क्षेत्रमा काम गर्नेहरूले आफ्नो अनुहार सकेसम्म सुन्दर राख्न जरुरी हुन्छ । अनुहारमा भएको चायापोतो तथा दागका कारण पेशाबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । यस्ता महिलाका लागि सौन्दर्य उपचार सुन्दरतासँगमात्र जोडिएको हुँदैन । यो उनीहरूको अनिवार्य आवश्यकता हुन जान्छ । अनुहारको छाला निकै संवेदनशील हुन्छ । अनुहारमा लगाउने क्रिम तथा सनब्लक मौसम अनुसार फरक–फरक हुन्छन् ।
तर, धेरैजसो महिला, जो विज्ञापनकै भरमा बजारमा गएर विश्व बजारका चर्चित ब्रान्डका क्रिम किनेर अनुहारमा लगाउँछन्, बाह्रै महिना एकै किसिमको क्रिम दलिरहेका हुन्छन् । न छालाको टाइप थाहा छ, न त मौसमअनुसार क्रिम बदल्नुपर्छ भन्ने ज्ञान छ । यसले गर्दा जतिसुकै चलेका ब्रान्डका क्रिम लगाउँदा पनि अनुहार जस्ताको तस्तै रहन्छ । छालामा भएको समस्या कम हुँदै जानुको सट्टा झन बढ्ने हुन्छ । त्यसैले नाम चलेको ब्रान्ड र धेरै पैसा तिरेको क्रिम राम्रो हुन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ ।
अनुहारको छालामा केही समस्या देखिनेबित्तिकै धेरैजसोले मेडिकल तथा कस्मेटिक पसलमा यति दिनभित्रमा दाग सफाचट भन्दै प्रचार गरिएका क्रिम किनेर लगाउने गरेका छन् । जुन सबैभन्दा हानिकारक हुने गरेको छ । मेडिकल र ब्युटी पार्लर चहारेर हैरान भएका तथा अनुहार कुरूप भइसकेपछिमात्र महिलाहरू छालारोग विशेषज्ञकहाँ आइपुग्छन् । निकै बिग्रिसकेको छालाको उपचारमा चिकित्सकले पनि रातारात चमत्कार गर्न सक्ने होइन । तर, उपचारका लागि आउनेहरू निकै हतार गरिरहेका हुन्छन् । धेरैलाई उपचार हुन सक्छ भन्ने विश्वास पनि हुँदैन । राम्रो हुने धुनमा सामान्य जानकारी पनि नलिईकन जथाभावी क्रिम दल्ने दिदीबहिनीलाई कमसे कम एकपटक आफ्नो छालाको प्रकार र त्यसमा सुट गर्ने क्रिम छनोटका लागि छालारोग विशेषज्ञसँग भेट्न आग्रह गर्छु ।

लेखक : डा. सोनिया गुप्ता, डर्माटोलोजिस्ट, स्वस्ति लेजर एन्ड स्किन केयर, नक्साल, काठमाडौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१