मानिसको मस्तिष्कमा चिप लगाउन मस्कको कम्पनीलाई अनुमति, चिप प्रत्यारोपण गर्नेको खोजी सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८०, आईतवार ०६:१९

अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ ।

रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ ।

उक्त ट्रायलका क्रममा सुरुमा पक्षघातका रोगीको मस्तिष्कमा चिपसेट जडानको परीक्षण गरिनेछ ।

न्युरालिंकले यस्ता व्यक्तिको खोजी गरिरहेको छ जसमा सर्भाइकल स्पाइनल कर्डको समस्याका कारणले पक्षघात भएको छ वा एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस जस्ता स्वास्थ्य समस्या छन् ।

यद्यपि न्युरालिंकले यो अध्ययनका क्रममा सुरुमा कतिजना मानिसमा परीक्षण सुरु गर्न लागेको छ भन्ने चाहिं खुलेको छैन । यो परीक्षण सक्नका लागि ६ वर्षको समय लाग्नेछ ।

यो अनुसन्धानमा एउटा रोबोटले सर्जरी गरेर मानिसको दिमागमा एउटा ब्रेन कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्नेछ । त्यसको सहयोगबाट उक्त चिपले चाल तथा मनसायका तरंगहरुलाई ग्रहण गर्नेछ र अगाडिको निर्देशन प्रदान गर्नेछ । त्यसपछि उक्त चिपसेटको साथमा अर्को डिभाइसले ती कमान्डलाई ग्रहण गरेर त्यस अनुसारको काम हुनेछ ।

न्युरालिंकका अनुसार सुरुआती चरणमा उसको लक्ष्य कम्प्युटर कर्सर तथा किबोर्डलाई नियन्त्रण गर्नु हो । यस्तो नियन्त्रण कमान्ड सिधै मस्तिष्कमा जडित चिपसेटबाट प्राप्त हुनेछ । त्यसपछि कर्सर चल्न सुरु गर्नेछ र किबोर्डबाट टाइप हुनेछ ।

उदाहरणको रुपमा प्यारालाइसिसका बिरामीको मस्तिष्कमा चिप लगाइसकेपछि त्यो बिरामीले केवल सोंचेकै आधारमा माउस तथा कर्सर चलाउन सक्नेछ ।

न्युरालिंकले एउटा डिभाइस बनाएको छ जो एउटा सिक्काको आकारको छ । उक्त चिपलाई कम्पनीले लिंक नामाकरण गर्न सक्दछ । यो डिभाइसले कम्प्युटर, मोबाइल फोन तथा अन्य उपकरणहरुलाई मस्तिष्कको गतिविधि (न्यूरल इम्पल्स) बाट सीधै नियन्त्रण गर्ने क्षमता प्रदान गर्नेछ ।

न्युरालिंकले सुरुमा यस्तो चिपसेटको १० जना मानिसमा परीक्षण गर्ने अनुमति प्राप्त हुने अपेक्षा गरेको थियो । तर अमेरिकाको फूड एण्ड ड्रग प्रशासनले सुरक्षाको प्रश्न उठाउँदै धेरै मानिसमा परीक्षणको अनुमति दिएको छैन । तर केही व्यक्तिमा परीक्षणको लागि एफडिएले अनुमति दिएको छ । यद्यपि उसले कतिजना मानिसमा ट्रायलको अनुमति दिएको भन्ने चाहिं खुलाइएको छैन ।

एफडीबाट प्राप्त अनुमति निकै महत्वपूर्ण पहिलो खुट्किला भएको र यसले भविष्यमा एकदिन हाम्रो प्रविधिले धेरै मानिसहरुलाई सहयोग गर्न सकिने न्युरालिंकले जनाएको छ ।

सर्भाइकल स्पाइन के हो ?

Cervical Spine मेरुदण्डको एउटा भाग हो जुन गर्धको आधारबाट सुरु भएर मेरुदण्डका C1 देखि C7 हड्डीसम्म पुग्दछ । मेरुदण्डको हड्डी स्नायुहरुको एउटा यस्तो समूह हो जसले मस्तिष्कबाट सरीरका अन्य हिस्साहरुसम्म सन्देश अर्थात् कमान्ड सम्प्रेषण गर्दछ । मेरुदण्डको हड्डीमा चोट लाग्नु पूरै सरीरका लागि खतरनाक सावित हुनसक्छ र यसले पक्षघात निम्त्याउन सक्दछ ।

एमायोट्रोफिक ल्याटरल स्क्लेरोसिस के हो ?

एएलएस भनिने भनिने यो रोग एक न्युरोडिजेनेरेटिभ बिमारी हो । यसले मस्तिष्कको सेरेब्रल कर्टेक्स, मेरुदण्डको हड्डी तथा ब्रेनस्टेमका स्नायुसम्मलाई प्रभावित गर्दछ । यो रोगले मांशपेशीहरुलाई नियन्त्रण गर्ने मोटर न्युरोनको निरन्तरको क्षयीकरणको गराउँदछ । यो एक दुर्लभ रोग हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१