‘द्वन्द्वपीडितलाई धोका दिए प्रचण्ड र देउवा पनि जेल जान्छन्’: दीक्षित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८०, बिहीबार ०७:५०

काठमाडौं  । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनवटा क्षेत्रको उपनिर्वाचनले जनता परम्परागत दलसँग वाक्कदिक्क भएको स्पष्ट देखाएको बताएका छन् ।
‘जनताले कम्प्लिटली नयाँ अनुहार चाहेका छन् । अब मुलुक नयाँ अनुहारले हाँक्नुपर्छ भन्ने जनचाहना देखाएका छन् । शेरबहादुर देउवाले भनेजस्तो सामाजिक सञ्जालबाट ठूला दलहरुप्रति आक्रमण मात्र गरेको होइन, तिरस्कार र घृणा नै गरेका छन् । यसलाई मामुली हिसाबले नलिऔं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. दीक्षितले भने ।
कांग्रेसको गढ ढल्दाखेरि पनि देउवाले राजीनामा नदिएको उनको आरोप छ । डा. दीक्षितले भने, ‘अब यस्ता नेताहरुबाट आशै गर्न पर्दैन । यी सुध्रिनेवाला पनि छैन, हट्नेवाला पनि छैनन् । जनताले यस्ता नेता चाहिँदैन भनिसके । अब देशव्यापी चुनाव भयो भने पुराना र कुहिएकालाई जनताले ठेगान लगाउँछन्बे ।’ ‍यसले राजनीतिक अस्थिरता जन्माउने खतरा रहेको पनि उनले औंल्याए ।
लोकतन्त्रभित्रबाट सुधार नभए बाहिरबाट हस्तक्षेप हुन सक्ने डा. दीक्षितको आकलन छ । उनले भने,’ देश श्रीलंकाको बाटोमा हिँडिसक्यो । प्रधानमन्त्री अर्थतन्त्र राम्रो छ भनेर झूट बोलिरहेका छन् । अब लोकतन्त्र बचाउने हो भने प्रणाली नै परिवर्तन गर्नुपर्छ । अब राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । लोकतन्त्रभित्रबाट विकल्प आएन भने बाहिरबाट आउँछ । त्यो खतरनाक हुनेछ ।’
प्रमुख राजनीतिक दलहरुले द्वन्द्वपीडितलाई धोका दिन लागेको आरोप पनि डा. दीक्षितले लगाए । उनले थपे, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउन सभामुखले तीन जना शीर्ष नेताहरुलाई बोलाए तर द्वन्द्वपीडितलाई बोलाएनन् । पीडितलाई यसरी धोका दिन पाइँदैन । धोकै दिए प्रचण्ड र देउवा जेल जाने अवस्था आउँछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१