उपत्यकाका तीन वटै जिल्लामा आजदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ कार्तिक २०७७, आईतवार ०४:४८

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आफ्ना अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन वटै जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्नुका साथै तीनवटै प्रशासन कार्यालयका कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि ति कार्यालयहरुले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका हुन् ।

जिप्रका काठमाडौंले असोज २८ गतेदेखि नै अत्यावश्यक बाहेकको सेवा बन्द गरेकोमा जिप्रका ललितपुर र भक्तपुरले पनि कार्तिक २ गते आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना जारी गरेका छन् ।

शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धी मात्र सेवा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने जनाइएको छ । ती बाहेकका सेवाहरु भने स्थगित गरिएको जनाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि कार्तिक २ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिकरुपमा बढिरहेको अवस्थामा सेवाग्रहीहरुको भीडभाड बढेकाले संक्रमण फैलनसक्ने जोखिमका कारण सेवा स्थगित गर्नुपरेको ललितपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ललितपुरमा विद्युत, खानेपानी र टेलिकम जस्ता सेवा भने बन्द हुने छैनन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भोलि कार्तिक २ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा बाहेकका सबै काम, कारबाही स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१