नारायणगढ–मुग्लिन सडकको दुई ठूलो पहिरो पन्छाउन दिनभर लाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७५, बुधबार १३:१४

चितवन।  नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ।सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ। सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो।

बिसुरालका अनुसार दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए।

मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ। बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ।

पहिरोले पूरै सडक ढाकेको छ। टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए। ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ। यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१