आज इन्द्रजात्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७४, मंगलवार ०६:४३

काठमाडौं ।   भाद्र शुक्ल चतुर्दर्शीका दिन मनाइने इन्द्रजात्रा मंगलबार परेको छ । काठमाडौं उपत्यका लगायत धुलिखेल, दोलखा लगायतमा स्वर्गका राजा इन्द्रको पूजाअर्चना गर्दै जात्रा मनाइने चलन छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गत आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि जात्रा सुरु भएको हो । इन्द्र जात्राको अघिल्लो दिन सोमबार ५ सय ४ कुमारी पूजा गरिएको छ । जात्राको मुख्य दिन हनुमानढोका दरबार क्षेत्रमा दिउँसो राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने काठमाडौं जात्रा व्यवस्थापन समितिले जनाएको छ । जात्राका बेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ ।

इन्द्रजात्रामा काभ्रेको नाला जंगलबाट ल्याइएको ३६ हात लामो लिंगो ठड्याउने परम्परा छ । तान्त्रिक विधिद्वारा पूजा गरी जंगलमा छोडिएको बोकाले स्पर्श गरेको रूख इन्द्रध्वजाका लागि लिंगोका रूपमा विधिपूर्वक तयार पारिन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याएपछि नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । जात्राभर लाखेनाच, महाकाली नाच, दशअवतार तथा देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा ‘पुलुकिसी’ नाचिन्छ ।
राजधानीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१