पहिरोले बनाएको तालमा प्रतिसेकेन्ड १९० घनमिटर पानी थपिँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ श्रावण २०७१, बुधबार १८:१७

लामोसाँघु (सिन्धुपाल्चोक),२१ साउन  । चट्टाने पहिरोले सुनकोशी नदी थुनेर जुरेमा बनेको तालमा प्रतिसेकेन्ड १९० घनमिटरका दरले पानी थपिइरहेको छ। थपिने र निकास हुने पानीको मात्रा खासै फरक नहुँदा पाँच दिनअघि अघि पहिरोले बनाएको तालमा पानीको सतह घटेको छैन। २ सय घनमिटर प्रतिसेकेन्डका दरले पानीको निकास भइरहेको छ।10583851_764869696903721_948889668616378196_n

वर्षाका कारण तालको पानी घट्न नसकेको हो। अहिले पोखरीमा ८० लाख घनमिटर पानी जमेको नेपाली सेनाले जनाएको छ।
३ किलोमिटर लम्बाइको पोखरीमा चौडाइ ९० देखि ४ सय मिटर फराकिलो छ भने ४५ मिटर गहिरोसम्म पानी जमेको छ।

नेपाली सेनाले पानी बहाव ठूलो बनाउन विस्फोट गर्ने तयारी गरिरहेको जर्नेल अस्मिनकुमार थापाले नागरिकन्युजलाई बताए। उनका अनुसार उद्दारमा एक सयभन्दा बढी नेपाली सेना संलग्न छन्। गत शनिबार बिहान करिब डेढ सय मिटरमाथिबाट खसेको कान्ले खहरेको चट्टाने पहिरोले सुनकोसी नदी थुनिएको हो। चट्टाने बाँध खोप्ने ड्रिल मेसिन र विस्फोटक पदार्थसहित सेनाको प्राविधिक टोली उचित मौकाको पर्खाइमा छ।

ओरिएन्ट म्याग्नेसाइट कम्पनी रहेको स्थानमा सेनाले अस्थायी क्याम्प बनाएको छ। सो क्याम्पमा बाँधभन्दा तल्लो क्षेत्रका पीडित सर्वसाधारण सेल्टर लिएर बसिरहेका छन्।

हिजो मंगलबार पनि सेनाले विस्फोट गराई बाँध फुटाएर नदीमा पानी बहाब बढाउन प्रयास गरेको थियो। वर्षाका कारण बिस्फोट गराउने प्रयास हिजो असफल भएको थियो। मौसमविद, भूगर्भविद र जलउत्पन्न प्रकोप प्राविधिकको सल्लाहअनुसार बहाव मात्रा बढाउन लागिएको हो।

पहिरोमा हराइरहेका भनिएकाको खोजी पनि जारी छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटिरहेका छन्। पहिरोमा परी मर्नेर्को संख्या ३३ पुगेको छ भने अहिलेसम्म कम्तिमा १ सय १७ बेपत्ता छन्। राम्चेका २ सय ७, मांखाका ९७ र धुस्कुनका ३४ जना विस्थापित भएका छन्। पहिरोले मांखाका ड्याम, काबुने र टेकानपुर गरी तीन गाउँ सुनकोसीमा विलय गराएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१