बागमती सफाई अभियानमा राष्ट्रपति पनि सहभागी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १३:१४

काठमाडौँ, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च सांस्कृतिक, धार्मिक र सभ्यताको धरोहर वागमती नदीको अस्तित्व सङ्कटमा परेकाले जीवन्त बनाउन सबै जुट्नुपर्ने बताउनुभएको छ ।ratrapati

वागमती सफाइ महाअभियान १५० सप्ताहमा प्रवेश गरेको अवसरमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा आजदेखि गुह्येश्वरीमा सुरु भएको ‘वागमती महोत्सव’ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

bagmati-150_hapta-1

“हाम्रो जन्मदेखि मृत्युसम्म सम्बन्ध राख्ने, भावनात्मक सम्बन्ध गाँसिएको वागमती नदीलाई स्वच्छ राख्नु हामी सबै नेपालीको दायित्व हो, भावी सन्ततिलाई सुरक्षित भविष्य हस्तान्तरणका लागि पनि यस्ता धरोहरलाई प्राकृतिक रुपमै जोगाइ राखिनुपर्छ”–उहाँले भन्नुभयो ।

bagmati-150_hapta-12

जीवनको पीडादायी अवस्थामा समेत वागमतीसँग भावनात्मक सम्बन्ध गाँसिएकाले स्वच्छ बनाउने अभियानमा आफू सधैँ लाग्ने उहाँको प्रतिबद्धता थियो । वागमतीको जीवन्तता भावी पुस्तासम्म बचाउनका लागि प्राकृतिक चीजबीजको सङ्ग्रह गरेर वागमती सङ्ग्रहालय निर्माण गरिनुपर्ने आवश्यकतामाथि राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।

वागमतीलाई पुर्खाले छोडेकै अवस्थामा पु¥याउनका लागि विज्ञान र प्रविधिलाई जोडेर सरसफाइमा जुट्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा कावा प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले वागमती नेपालको धर्म, संस्कृति सभ्यतालाई प्रतिनिधित्व गर्ने नदी भएकाले यसको स्वच्छतामा सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“वागमतीमा जस्तै देशको राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा समेत प्रदूषण फैलिएको छ, १५० हप्तामा त वागमती पूर्णरुपमा सफा हुन सकेको छैन भने राजनीतिक, सामाजिक, विकास र धार्मिक क्षेत्रमा व्याप्त फोहरलाई सफा गर्न सबै नागरिकको सहयोगबिना सम्भव हुनेछैन”–उहाँले भन्नुभयो ।

सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले मानवकै अदूरदर्शी क्रियाकलापले वागमती जस्ता धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदामा ढल मिसाइएकाले सफाइमा पनि सबै जुट्नुपर्ने बताउनुभयो ।
पूर्व मुख्यसचिव एवम् वागमती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेलले नदी फोहर बनाउनेले नै सफाइ नगरे नदीलाई प्राकृतिक अवस्थामा फर्काउन नसकिने भएकाले नागरिक टोलटोलबाट सफाइमा जुट्नुपर्ने बताउनुभयो । “सफाइमा सरकारी निकायका राष्ट्रसेवक पनि लाग्नुपर्छ, राष्ट्रसेवकले गरेको कामको नागरिकले अनुगमन गर्नुपर्छ, कसैले गलत काम गरेमा नागरिक खबरदारी गरिनुपर्छ, यसो भएमात्र वागमती सफा हुनसक्छ”–उहाँले भन्नुभयो ।

समितिका अध्यक्ष किशोरकुमार शाक्यले वागमती सफाइका लागि जनचेतनामूलक अभियान सुरु भएपछि यसका सहायक नदी र देशभरका अन्य पोखरी, तालतलैया पनि सफा गर्न स्थानीयवासी जुट्नु सकारात्मक भएको बताउनुभयो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको थियो । यो अभियानपछि सुन्दरीजलबाट गुह्येश्वरीसम्मको वागमती सफा हुनका साथै ४० वर्षपछि गुह्येश्वरी क्षेत्रको नदीमा माछा खेल्न थालेका छन् । समिति परिसरमा निर्मित बाल उद्यानको पनि आजै राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो । आजको सफाइमा राष्ट्रपति भण्डारी पनि सहभागी हुनुभयो ।

‘मेरो सपनाको वागमती’ शीर्षकमा आयोजना गरिएको उपत्यकाव्यापी कविता र चित्रकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौँथो हुने विद्यार्थीलाई क्रमशः रु २५, १५, १० र रु पाँच हजार नगदसहित राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।

भोलिसम्म चल्ने महोत्सवमा वागमतीसँग सम्बन्धित तस्बिर, चित्रलगायत ऐतिहासिक चीजबीजको प्रदर्शन गरिएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१