कांग्रेसलाई रास्वपा सांसदको ओपन च्यालेन्ज, ‘देउवा, आरजु र जयवीरमाथि छानविन नभएसम्म अब समिति बन्दैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०८१, शुक्रबार ०६:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारमाथि छानविन नभएसम्म सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबन्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अब पहिला कांग्रेसका नेताहरु पार्टी सभापति देउवा, उनकी श्रीमती आरजु राणा देउवा र उनका छोरा जयवीरमाथि छानविनका लागि तयार हुनुपर्ने बताए ।

रास्वा नेता झाले आफ्ना सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगी प्रकरण पुष्टि भएमा आफूहरु सबै राजनीति छाड्न तयार रहेको पनि बताए । लामिछानेमाथि छानविन गर्न अब पहिलो शर्त देउवा परिवारको सम्पत्ति छानविन हुनुपर्ने उनको माग छ ।

‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्नसक्छु मेरो सभापतिको सबै छानविन गर । म तयार छु, हामी सबै राजनीति छोड्न तयार छौं । उहाँको केही घोट निस्कियो भने उहाँ एक्लैले राजनीति छोड्छु भनेर जानुभएको छ, हामी सबै राजनीति छोड्छौं । के नेपाली कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छ ? कि मेरो सभापतिको सबै छानविन गर । उसको छोरोको पनि छानविन गर, श्रीमतीको पनि गर । त्यो हिम्मत राख्नसक्छ ? सक्छ भने हामी च्यालेन्ज गर्छौं,’– उनले भने, ‘अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, नेपाली कांग्रेसका पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईको सभापतिको पनि फाइल खोल्नुस् ।’

साथै, कांग्रेसका सांसदहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए । कांग्रेसले संसद्मा अभद्रता प्रदर्शन गरेको उनको टिप्पणी छ । ‘हात हालाहाल गर्ने ? त्यो पनि आफ्नो बुबाको उमेरको मान्छेलाई ? त्यो त मिल्दैन नि । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२/०६३ को सहयात्री पनि त हुन् । नेपालको सबैभन्दा ठूला राजनीतिक दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन,’– उनले भने ।

आफूहरुले ‘समिति मान्छौं तर हामीलाई जहाँ आरोप लगाउनु भएको छ त्यही जवाफ दिन दिनुस् । एक दुई वटा सहकारीमात्रै किन सबै सबै सहकारीको अनुसन्धान हुने गरी समिति बनाऔं’ भन्दा कांग्रेस सहमत नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१