बारपाकका विद्यार्थीमा बेहोस हुने समस्या देखियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७२, आईतवार १२:३१

गोरखाबजार, । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् । यहाँ एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिनुभयो । हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् ।pak

विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षकको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको हो । छात्रामा बेहोस हुने समस्या देखापरेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताउनुभयो । अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थीमा बेहोस हुने समस्या देखापरेको छ ।

“गत आइतबार पहिलोपटक विद्यार्थी बेहोस भएका थिए,” उहाँले भन्नुभयो – “त्यसपछि लगातार विद्यार्थी बेहोस हुने क्रम बढ्यो ।” भूकम्पपछि बढेको मानसिक तनावले गर्दा बेहोस हुने बिरामी बढेको हुनसक्ने अनुमान गरिएको छ ।

बिरामी विद्यार्थीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर लगिएको छ । अर्का शिक्षक जनी घलेका अनुसार सन्तुलित भोजनको अभावले गर्दा महिला तथा विद्यार्थी छात्रामा शारीरिक समस्या देखिएको हो ।

उहाँले भन्नुभयो – “पालमुनिको बास छ । पोषणयुक्त खाना खान पाएका छैनन् । भूकम्पपछि दुई छाक खाना खान नपाएका विद्यार्थी पनि छन् ।”

विद्यार्थी लगातार एकदेखि दुई घन्टासम्म बेहोस हुने गर्छन् । “धेरै विद्यार्थीको आँखामा आँसु देखिन्छ,” उहाँले भन्नुभयो, “भूकम्पअघि हँसिला विद्यार्थी अहिले उदास र निराश देखिन्छन् ।” भूकम्पले घर भत्किएको, परिवार, आफन्तजनको निधन भएको, किताबकापी पुरिएको जस्ता अनेकखालका तनावका कारण पनि विद्यार्थीको आत्मबल कमजोर भएको हुनसक्ने शिक्षक अनुमान गर्छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले समस्या समाधानका लागि चिकित्सकको टोली परिचालन गरिएको बताउनुभयो । मानसिक समस्याका कारणले गर्दा बेहोस हुने समस्या देखिएको भन्दै अधिकारीले मनोपरामर्शदाता खटाएको जानकारी दिनुभयो । यसअघि बारपाकमा फैलिएको कमलपित्त रोग नियन्त्रणमा आएको बताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१