नेपालगन्जमा सुरक्षा व्यवस्था कडा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ भाद्र २०७२, मंगलवार १३:३३

काशी पोख्रेलn

बाँके १५ भाद्र ।  मधेशी मोर्चा र थरुहट संघर्ष समितिको बन्दलाई ध्यानमा राखेर नेपालगन्जमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले नगरका चोक चोकमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
आइतबारदेखि बन्द पुनः शुरु गरिएपछि अवस्था नियन्त्रणमा राख्न सोमबार बिहानैदेखि नगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए । उनले कुनै पनि अवस्थामा जिल्लाको शान्ति सुरक्षा खलबलिन नदिने तथा कसैले पनि बलजफ्ती बन्द गराउन नपाउने तथा शान्ति भङ्ग हुने कुनै काम गर्न नदिने बताए ।
सशस्त्र प्रहरीलाई नगरका विभिन्न भागमा व्यापक पैदल गस्तीमा हिँडाइएको छ । बन्दका कारण नेपालगन्जका केही पसल व्यवसाय सञ्चालनमा भए पनि अधिकांश बन्द नै छन् । सानो तथा लामो दूरीका कुनै पनि चार पाङ्ग्रे सवारी साधन चलेका छैनन् भने मोटरसाइकल, विद्युतीय रिक्सा र टाँगा निर्वाध रूपमा चलिरहेका छन् ।
आन्दोलन पक्षधरले नेपालगन्जका चारवटा नाकाबाटै विभिन्न नारा लगाउँदै जुलुसहरू निकालेका छन् तर यस पटकका जुलुसमा बालबालिकाको सहभागिता छैन भने जुलुसमा सहभागी भएकाले हातमा कुनै किसिमको लठ्ठी र घरेलु हतियार पनि बोकेका थिएनन् । सरकारले वार्ता गर्ने खालको वातावरण नबनाउँदा बन्द र हडताल लम्बिएको तमलोपाका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले बताए ।
आन्दोलनकारीको पत्रको जवाफ दिँदै सरकारले तत्काल सेना र सशस्त्र प्रहरी फिल्डबाट पछाडि नहट्ने सङ्केत गरेकोले आन्दोलन लम्बिने र झन कडा हुने उनले बताए । संघीय समाजवादी फारेमका केन्द्रीय सदस्य मोहम्मद इश्तियाक राइले सरकार दमन र गैरप्रजातान्त्रिक बाटोमा जान थालेकाले यसको परिणाम राम्रो नहुने बताए । उनले अझै पनि वार्ताको वातावरण बनाएर सरकारले समस्या समाधानमा चासो देखाउनुपर्ने माग गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१