शारीरिक तौल धेरै घट्यो कि ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ चैत्र २०७१, बुधबार १४:३२

शारीरिक तौललाई व्यक्तिको पोषण एवम् स्वास्थ्य स्थिति बुझाउने एक मापकको रुपमा लिइन्छ । व्यक्तिको शारीरिक तौल, उसको उमेर, उचाइभन्दा कम वा बढी भएको अवस्थालाई पोषण र स्वास्थ्यको स्तर ठीक नभएको मानिन्छ । साधारणतया कम तौल भन्नाले व्यक्तिको उचाइ र उमेरअनुरुप शरीरको तौल १० देखि २० प्रतिशत कम भएको अवस्थालाई बुझाउँछ । बी.एम.आई.को फर्मुला प्रयोग गरेर शारीरिक तौल निर्धारण गरेपछि मात्रै तौल बढेको वा घटेको थाहा हुन्छ ।

तौल कम हुनुको कारण
कम तौल हुनुमा पनि विभिन्न शारीरिक एवम् मानसिक कारणहरु छन् । यसबाहेक युवावर्गमा विशेषगरी युवतीहरुमा आफ्नो शरीर पातलो राख्ने होडमा खाना खाने प्रवृत्तिमा विकृतिले गर्दा कम तौलको समस्या अझ बढी देखिन्छ ।

विभिन्न शारीरिक समस्याका कारणले गर्दा पनि शरीरको तौल आवश्यकताभन्दा घट्ने हुन्छ । जस्तै– हाइपर थाइरोइडिजम भएको अवस्थामा मेटाबोलिजम प्रक्रिया बढ्ने हुनाले शरीरलाई शक्तिको आवश्यकता बढी हुन्छ । शरीरको आवश्यकताअनुरुप खानाबाट शक्ति प्राप्त गर्न नसकेको स्थितिमा शरीरमा जम्मा भइरहेको पौष्टिक तत्त्वहरु उपयोग हुँदै जान्छ । फलस्वरुप तौल घट्ने हुन्छ । यसै गरी क्यान्सर भएको अवस्थामा खानाप्रतिको रुचिमा कमी तथा तन्तुहरु नाशिने हुनाले यस्तो स्थितिमा पनि तौल कम हुन सक्छ । क्षयरोग, एचआईभी⁄एड्स रोगका बिरामीमा पनि कम तौलको समस्या हुन सक्छ ।

शारीरिक कारणबाहेक मानसिक कारण जस्तै–चिन्ता, तनाव, डर, एक्लोपना आदिले गर्दा पनि खानाप्रतिको रुचिमा कमी आउने, शारीरिक रुपले निष्क्रिय हुने हुन्छ । यसले गर्दा व्यक्तिको तौल द्रुत गतिले घट्ने हुन्छ । औषधिको कारणले, बढी मात्रामा कडा खालको शारीरिक व्यायाम गर्नाले, पाचन तथा शोषण कार्यमा गडबडी हुनाले, नियमित रुपमा आवश्यकताभन्दा कम खाना खानाले पनि शरीरको तौल घट्न सक्छ ।

kkkतौल कम हुँदा आइपर्ने समस्या
शरीरको तौल क्रमिक रुपले निरन्तर घट्दै गइरहेको स्थितिमा तुरुन्तै रोक्न नसकेको खण्डमा स्वास्थ्यमा थप प्रतिकूल असर पर्न सक्न्छ । कम तौलको शिशुले राम्ररी स्याहार नपाएको स्थितिमा उसको मानसिक तथा शारीरिक वृद्धि विकासमा पनि प्रतिकूल असर पर्ने हुन्छ ।
शिशु तथा साना बालबालिकामा बाह्य तथा आन्तरिक कारणले गर्दा शरीरको तौल कम हुनुलाई पौष्टिक दृष्टिकोणले नराम्रो पोषणस्थितिको संज्ञा दिई कुपोषण भएको मानिन्छ । यस्तो अवस्थामा उनीहरुलाई क्वासिवर्कर तथा मरास्मस हुन सक्छ ।

कम तौलको कारणले गर्दा बढ्दो उमेरका बालबालिकाको विकासमा नकारात्मक प्रभाव पर्न सक्छ । रोगप्रतिरोधात्मक शक्तिको कमी भई अन्य रोगको समेत सिकार हुन सक्छ । गर्भवती महिलामा कम तौलको कारण गर्भ नरहने, गर्भधारणको समस्या हुने, समयमा मासिक श्राव नहुनेजस्ता समस्या आउन सक्छ । यसै गरी कम तौल भएका महिलामा अस्टोपोरोसिस (क्याल्सियम र भिटामिन ‘डी’को कमी भई हाड कमजोर हुने) तथा रक्तअल्पता (एनिमिया– लौहतत्त्व, फोलेटे, भिटामिन ‘बी१२’को कमी भई रातो रक्तकोषको कमी हुने) को समस्या आउन सक्छ । यसै गरी कम तौलका कारण चाँडै थाक्ने, कार्यक्षमतामा ह्रास आउने, अन्य संक्रमण रोगको सम्भावता बढ्ने, हाडहरु थोरै ठेस लाग्दा पनि भाँचिने आदि हुन्छ ।

सन्तुलित रुपमा तौल बढाउने उपाय
विविध कारणहरुबाट शरीरको तौल घट्न सक्ने हुनाले समयमै कारण पत्ता लगाई आवश्यक कदम चल्नुपर्छ । शारीरिक कारणले तौल कम भएमा आवश्यक औषधि उपचार विधि अपनाउनुपर्ने हुन्छ । कडा किसिमको शारीरिक व्यायामको कारण तौल कम भएमा व्यायामको पद्धतिमा नै परिमार्जन गर्नुपर्ने हुन्छ । यदि मानसिक तनावका कारण त्यस्तो भएको हो भने सम्बन्धित विशेषज्ञबाट उपयुक्त सुझाव लिनुपर्ने हुन्छ । यी उपायहरुबाहेक तौल बढाउन दैनिक खाने खानामा उचित परिवर्तन तथा परिमार्जित गर्न नितान्त आवश्यक हुन्छ ।
शरीरको तौल ठीक अवस्थामा ल्याउन, कोष तथा तन्तु बनाउन र मर्मत गर्न, शरीरबाट नाश हुने पौष्टिक तत्त्वहरु सुरक्षित गर्न, व्यक्तिको पोषण एवम् स्वास्थ्यस्तर ठीक राख्न कम तौल भएका व्यक्तिका लागि भोजनमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । यसका लागि व्यक्तिको दैनिक खाने खानामा आवश्यक पौष्टिक तत्त्वको मात्रा बढाउनुपर्ने तथा सोही अनुरुप खाद्यपदार्थको प्रकार पनि समावेश गर्नुपर्ने हुन्छ ।
क्यालोरी शक्तिः सर्वप्रथम दैनिक क्यालोरीको परिमाण बढाउनुपर्ने हुन्छ । यसको प्रत्यक्ष सम्बन्ध शरीरको तौलसँग हुने भएकाले व्यक्तिको तौल कतिसम्म बढाउने हो सोही अनुरुप क्यालोरी बढाउनुपर्ने हुन्छ । प्रतिदिन थप ५०० क्यालोरीले व्यक्तिको आधा केजी तौल बढाउन मद्दत पुर्याउँछ । यदि सो भन्दा बढी तौल बढाउनु छ भने प्रतिदिन १००० क्यालोरी बढाउनुपर्ने हुन्छ ।

प्रोटिनः क्यालोरीको परिमाण बढाउनुको साथै प्रोटिनको परिमाण पनि बढाउनुपर्ने हुन्छ । साधारणतया यस्तो अवस्थामा १.५ देखि २ ग्राम प्रतिकिलो तौलबराबर प्रोटिनको मात्रा बढाउनुपर्छ । यस अवस्थामा मांसपेशी ह्रास हुने भएकाले प्रोटिनयुक्त खाद्यपदार्थ खासगरी उच्च बायोलोजिकल भ्यालु भएका र पचाउन सजिलो खाद्यपदार्थहरु जस्तै– दूध, अण्डा, माछा, चिल्लोरहित मासु आदि भोजनमा समावेश गर्नुपर्छ । दाल र भातको समिश्रण पनि उपयुक्त प्रोटिनको स्रोत हो ।

कार्बोहाइड्रेटः कार्बोहाइड्रेट पनि क्यालोरीको राम्रो स्रोत भएकाले बढी कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ । पूरै अन्न, माडयुक्त साग, तरकारी, ताजा फलफूल प्रशस्त मात्रामा समावेश गर्नुपर्छ भने चिनी, जाम, मह आदि ठीक मात्रामा समोवश गर्नुपर्छ ।
फाइबरः कम तौल भएका व्यक्तिलाई भोजनको योजना गर्दा फइबरयुक्त खाद्यपदार्थको छनोट र समावेशमा पनि ध्यान पुर्याउनुपर्छ । फाइबर बढी भएको खानाको परिमाण बढी भए तापनि क्यालोरी कम दिने भएकाले यस्तो स्थितिमा दिसा खलास हुन आवश्यक परिमाणमा मात्र घुलनशील फाइबरयुक्त खाद्यपदार्थ भोजनमा समावेश गर्नुपर्छ ।

चिल्लो पदार्थः चिल्लो पदार्थले प्रोटिन र कार्बोहाइड्रेटले भन्दा बढी शक्ति दिन्छ भन्दैमा बढी परिमाण समावेश गर्नुहुँदैन । नरम प्रकारको चिल्लो जस्तै– बटर, क्रिम तथा वनस्पति तेलको ठीक मात्रामा प्रयोग गर्दा शरीरले राम्ररी उपयोग गर्न सक्छ ।भिटामिन र खनिज तत्त्वः भिटामिन र खनिज तत्त्वको आवश्यकता पनि बढी हुने भएकाले ताजा तरकारी, फलफूल र उमारेको गेडागुडी भोजनमा प्रशस्त समावेश गर्नुपर्छ ।

स्वास्थ्य तौलका लागि ध्यान दिनुपर्ने कुरा
– सबै खाद्यसमूहबाट उपयुक्त परिमाणमा खानाको छनोट गर्नुपर्छ ।
– तौल बढाउनका लागि दिनको २ वा ३ पटक खानुको सट्टा ५ वा ६ पटक मात्रा मिलाएर खानुपर्छ ।
– कम तौल भएकाहरुका लागि क्यालोरी तथा पौष्टिक तत्त्व बढाउनुपर्ने हुनाले व्यक्तिको अवस्थाअनुसार बिस्तारै खाद्यपदार्थको मात्रा र दिनको छाक पनि बढाउनुपर्छ ।
– यस अवस्थाका लागि बढी क्यालोरी, बढी प्रोटिन, बढी कार्बोहाइड्रेट र मध्यम चिल्लो पदार्थ भएको भोजनको व्यवस्था गर्नुपर्छ ।
– पानी वा कुनै झोल पदार्थ पिउनु छ भने खाना खानु करिब आधा घन्टाअगाडि वा पछाडि लिँदा बेस हुन्छ ।
– खानाप्रतिको रुचि कम भएर पनि कम तौलको समस्या आउने हुनाले सकेसम्म खाने खाना रुचिकर, स्वादिलो र आकर्षित तवर पकाउने तथा पस्किने गर्नुपर्छ ।
– तौल बढाउने अभिप्रायले पूरै तेल–घिउमा पकाएको, तारेको खानेकुरा खाँदा शरीरले क्यालोरी त प्राप्त गर्छ तर भोजन असन्तुलित भई अन्य आवश्यक पौष्टिक तत्त्वहरु प्राप्त गर्न असमर्थ हुन्छ ।
– सोडा, कफी, कार्बोनेट पेयपदार्थबाट प्रशस्त क्यालोरी प्राप्त हुन्छ तर अन्य पौष्टिक तत्त्वहरु प्राप्त नहुने भएकाले यी पेयपदार्थको सट्टा भोजनको बीच–बीचमा स्न्याक्सको रुपमा कम चिल्लोको दूधबाट बनेको सेक ९कजबपभ०, फलफूल जुस, क्रिम हालेको सूप आदि लिँदा उपयुक्त हुन्छ ।
– यस्तो स्थितिमा क्यालोरीको परिमाण बढाउनुपर्ने तर एकैचोटि खानाको परिमाण बढाउँदा शरीरले उपयोग गर्न नसक्ने हुनाले क्यालोरीको परिमाण पनि बढ्ने र खानाको मात्रा पनि ठीक रुपको हुने किसिमले खानाको व्यवस्था गर्नुपर्छ । जस्तै– दूध–सूपमा क्रिम हाल्ने, पाउरोटीमा जाम तथा बटर हाल्ने आदि तवरले खाना तयार गर्नुपर्छ ।
– सकेसम्म दैनिक भोजनमा पूरै अन्न, उमारेको गेडागुडी तथा पूर्ण प्रोटिन भएका खाद्यस्रोतहरु जस्तै– अण्डा, मासु, माछा, दूध, दही, चीज समावेश गर्नुपर्छ ।
– यसप्रकार दैनिक खानामा फेरबदल गरी खाँदा हप्तादिनमा कति तौल बढेको छ, सो पनि जाँच गर्नुपर्छ ।
– खानाबाहेक यस अवस्थामा ठीक प्रकारको व्यायाम (शरीरको अवस्थाअनुरुप) नियमित रुपमा गर्दा शरीरमा चिल्लो तन्तुभन्दा मांसपेशी तन्तु बढ्ने हुनाले शरीर गठिलो बनाउन मद्दत पुग्छ
युवतीहरुमा गलत प्रवृत्ति

बडी युवावर्ग विशेषगरी युवतीहरुले आफ्नो शरीरलाई आकर्षित तथा स्लीम बनाउने क्रममा खाना खाने प्रवृत्तिमा गलत तरिका अपनाउन सक्छन् । उनीहरुमा एनोरोक्सिया, बुलिमिया नर्भोसाजस्ता खानाप्रतिको गलत मानसिकताको विकास भएको पाइन्छ । एनेरोक्सियामा व्यक्तिले ज्यादै थोरै खाने वा खाएको खाना विभिन्न तवरले शरीरबाट बाहिर फ्याँक्ने अथवा बढी मात्रामा पेयपदार्थ उपयोग गर्ने प्रवृत्ति हुन्छ । बुलिमियामा खाने खानाको परिमाण साधारणभन्दा बढी र ठीक समयमा खाइन्छ तर शरीरले प्राप्त गर्नुअगाडि बान्ता गरेर, पिसाब तथा दिसा हुने औषधि सेवन गरेर शरीरबाट निष्कासित गरिन्छ । खासगरी शारीरिक बनावटप्रति बढी सजग हुने व्यक्तिहरुमा यस प्रकारको गलत प्रवृत्ति पाइन्छ, जसले गर्दा जानी–जानी वा अन्जानले शरीरको तौल आवश्यकभन्दा न्यून हुन जान्छ ।

जया प्रधान

[email protected]

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१