मधुमेह अर्थात् चिनी रोग बाट कसरि बच्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७१, मंगलवार १२:३५

शरीरमा चिनी अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौ । यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणाली प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरूः जस्तै आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।

हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांकअनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यीमध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।
नेपालमा पनि मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । खासगरी सहरी क्षेत्रका वासिन्दमा अत्यन्तै बढ्दो मात्रामा देखिएको छ । नेपाल मधुमेह संघको एक प्रतिवेदनअनुसार सहरी क्षेत्रमा २० वर्ष माथिका कुल जनसंख्यामध्ये १५ प्रतिशत र ४० वर्ष माथिका करिब १९ प्रतिशतमा मधुमेह रोग भएको देखाइएको छ । हाल नेपालमा करिब आठ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । बढ्दो सहरीकरणसँगै शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, मोटोपनको नै यो रोग फैलनुका प्रमुख कारक तत्त्व हुन् । ९०-९५ प्रतिशत मधुमेहका बिरामी खासगरी वयस्क अर्थात् ४० वर्ष माथिकालाई हुने गर्छ । जसलाई दोस्रो प्रकारको मधुमेहमा वर्गीकरण गरिएको छ । बच्चाहरूमा देखिने पहिलो प्रकारको मधुमेह पनि वाषिर्क ३ प्रतिशतले बढेको छ । जसअनुसार प्रत्येक वर्ष संसारमा ७०,००० बालबालिका यस समस्याबाट प्रभावित हुने अनुमान छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा देखिन्छ । जसबाट करिब एक प्रतिशत गर्भवती महिला प्रभावित हुने गरेको पाइन्छ । धेरैमा शिशु जन्मेपछि मधुमेहको अवस्था हटे पनि कतिपय महिलामा यो रोग जीवनभर नै हुनसक्छ ।
madhumehaमधुमेह सरुवा रोग होइन, तर यो हुने कारणहरूमध्ये वंशानुगत पनि प्रमुख कारणको रूपमा देखिएको छ । बुबाआमामध्ये एकजना अथवा दुवैजनामा मधुमेह भएमा छोराछोरीलाई पनि हुने सम्भावना अत्यन्तै बढी हुन्छ । अतः परिवारमा मधुमेह भएमा अन्य व्यक्ति विशेष सचेत हुनु आवश्यक छ । मधुमेह रोग भएमा देखिने प्रमुख लक्षणमा धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।

मधुमेह हुँदा आँखामा देखिने असर
मधुमेहले शरीरका अन्य भागहरू जस्तै- आँखाको दृष्टि पर्दा (रेटिना) का रक्त नसाहरूमा असर पुर्‍याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धोसमेत बनाउन सक्छ । जसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्त्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । मधुमेहले असर गर्दा सुुरुमा रेटिनामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । तर यदि समयमै उपचार (लेजर पद्धति) नभए नयाँ-नयाँ रक्तनसाको वृद्घकिा साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कने र जलविन्दुको समस्या भई दृष्टि सधैंका लागि गुम्ने हुन्छ । सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ । जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा यो संख्या निकै बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । सही ज्ञानको अभावका कारण धेरै बिरामी दृष्टि धमिलो भएपछि मात्र आँखा जचाउन आउने हुँदा यो रोगले आँखामा धेरै असर पुर्‍याइसकेको हुन्छ र दृष्टि बचाउन निकै गाह्रो पर्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहीन हुने र १० प्रतिशतमा ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ ।
रेटिनामा छिटो असर देखापर्ने अन्य कारणहरूमा सानै उमेरमा देखापर्ने मधुमेह, रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूमपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुख मानिन्छन् । मधुमेहका बिरामीमा आँखामा देखापर्ने अन्य समस्यामा आँखाको परेलामा पटक-पटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिरमिर हुने, चस्माको पावर छिटोछिटो परिवर्तन हुने, आँसुको कमी (सुख्खापन बढ्ने), आँखाको संक्रमण बढी हुने, मोतीविन्दु छिटो देखापर्ने र जलविन्दुको सम्भावना बढी हुन्छ । हाल विश्वमा भएका कुल दृष्टिविहीनमध्ये ४.८ प्रतिशत मधुमेहका कारण भएको पाइएको छ ।
मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय ४० वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ, ताकि समयमै रोग पत्ता लगाउन सकियोस् । प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउनुपर्छ । उच्च रक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका र धूमपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखापर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । यदि मधुमेहका बिरामीको रेटिनामा असर देखा परिसकेको भए नेत्र विशेषज्ञले भनेको समयमा नियमित परीक्षण र आँखाको उपचार गराउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, जुन खानपिनमा परहेज, शारीरिक व्यायाम र औषधीको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिन्छ । यी सावधानी अपनाउन सकेको खण्डमा मधुमेहले गर्दा हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वास्थ्य शिक्षा र जनचेतनामा अभिवृद्घ गर्नु नै मधुमेह रोगको रोकथाम र नियन्त्रणको सजिलो र प्रभावकारी उपाय हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१