एकल महिलाले अझै पनि अपहेलना र दुव्र्यवहार सहनु परेको गुनासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ माघ २०७१, शुक्रबार ११:४०

बुटवल, १६  माघ  । एकल महिलाले अझै पनि समाजमा आफूहरुले अपहेलना र दुव्र्यवहार सहनुपरेको बताएका छन् ।

सरकारले आमाको नामबाट पनि नागरिकता दिने व्यवस्था गरे पनि रूपन्देहीमा अझै पनि आमाको नामबाट नागरिकता दिन झन्झट रहेको उनीहरूको गुनासो छ ।

न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत पुनरावेदन अदालत बुटवलले बिहीबार आयोजना गरेको अदालत र एकल महिलाबीचको अन्तरक्रियामा सहभागी एकल महिलाले सो गुनासो गरेका हुन् ।

सो अवसरमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश सारदाप्रसाद घिमिरेले जो विभेदमा छ उसको कुरा सुन्नुपर्छ भन्ने मान्यताअनुरुप अदालतले समुदायसँगको अन्तरक्रियालाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो ।

कसैले पनि न्यायबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालत समुदायका बीचमा जान थालेको र असहायले वैतनिक वकिलको सहयोग लिन सक्ने उहाँले बताउनुभयो ।

पुनरावेदन अदालतकी न्यायाधीश निलम पौडेलले सर्वसाधारणको मर्का बुझ्न र आम समुदायको अदालतप्रतिको धारणा बुझनका लागि पनि समुदायसँग अदालत कार्यक्रम महत्वपूर्ण रहेको छ भन्नुभयो ।

मानव अधिकारका लागि एकल महिला समूह रुपन्देहीको अध्यक्ष राधिका श्रेष्ठले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आए पनि एकल महिला अझै पनि आर्थिक, सामाजिक र धार्मिक विभेद सहन बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा एकल महिलाले भोगेका सामाजिक, कानुनी समस्याबारेमा जानकारी गराएका थिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१