नारायणहिटीमा वृद्धा आमाको यो हालत बनाएर के गर्दैछन् ज्ञानेन्द्र ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०७:३३

ratnrajylaxmiकाठमाडौँ,४ माघ ।नेपाली राजसंस्थामा कुनैबेला रत्न मानिने पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाहको दैनिक अचेल दयनीय र निरस छ । उमेर र स्वास्थ्यका कारण कमजोर बन्दै गएकी उनी पारिवारिक रुपमा पनि एक्लै छिन्। तत्कालिन युवराज महेन्द्रसँग बिहे गरेर दरबारमा भित्रिएकी रत्न आफ्नो जमानामा शालीन महारानीका रुपमा चिनिन्थिन् ।राजकाजमा उनी खासै चासो र हस्तक्षेप पनि राख्दैनथिन् । तत्कालिन राजा महेन्द्रको निधनपछि उनको जीवनमा दुःखका दिन सुरु भए ।

२०६२ ०६३ को जनआन्दोलनपछि राजसंस्था अन्त्य भएर देशमा गणतन्त्र आएपछि त उनी पारिवारिक रुपमा पनि एक्लै परेकी छन् । गणतन्त्र घोषणापछि रत्नको परिवार (छोरा ज्ञानेन्द्र, बुहारी कोमल, नाति पारस, नातिनी बुहारी हिमानी लगायत) नारायणहिटी छाडेर नागार्जुन दरबार गए । तर, पनि स्वर्गीय महेन्द्रसितको भावनात्मक सम्बन्धका कारण रत्नले नारायणहिटी छाड्न मानिन् । रत्न बस्दै आएको नारायणहिटीभित्रको महेन्द्र मञ्जिल तत्कालिन राजा महेन्द्रले उनकै लागि बनाइदिएका थिए ।

गणतान्त्रिक सरकारले पनि उनको भावनाको कदर गर्दै त्यहीं बस्ने अनुमति दियो । गणतन्त्र कार्यान्वयनपछि परिवारले नारायणहिटी छोड्दा रत्नले नारायणहिटीमै बस्ने इच्छा व्यक्त गरेकी थिइन् । आफू बाँच्दासम्म महेन्द्र मञ्जिल नछाड्ने उनको इच्छा छ । गत ४ भदौमा रत्नले ८७ औं जन्मदिन मनाइन् । पछिल्ला सात वर्षमा उनी मुस्किलले ४ ५ पटक महेन्द्र मञ्जिलबाट बाहिर निस्किइन् ।

चार वर्ष पहिले खुट्टामा देखिएको घाउमा क्यान्सरको आशंकामा रत्न उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल गएकी थिइन् । त्यतिखेर उनी पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारसित गएकी थिइन् । पछिल्लोपटक असोज पहिलो साता छोरा ज्ञानेन्द्र हृदयघात भएर अस्पताल भर्ना हुँदा उनी भेट्न थापाथालीस्थित नर्भिक अस्पताल पुगेकी थिइन् ।त्यतिबेला गाडीबाट ओर्लेपछि नातिनी बुहारी हिमानीले रत्नलाई हात समातेर अस्पतालभित्र लगेकी थिइन् । उमेर बढ्दै जाँदा रत्न थलिँदै पनि गएकी छन् ।राम्रोसित हिंडडुल गर्न पनि गाह्रो हुन थालेको छ । हातगोडा दुख्ने र करकर खाने रोगले उनलाई सताएको छ ।

गणतन्त्र आएपछि ज्ञानेन्द्रको परिवारले नारायणहिटी छाडेपछि रत्नसँगै उनकी सासु सरला मानन्धर पनि नारायणहिटीमै बसेकी थिइन् । सरला राजा त्रिभुवनकी भित्रिया हुन् । तर, ०६६ फागुनमा रत्नको निधन भएपछि रत्न एक्लै भएकी छिन् । सरलाको निधनपछि रत्नको दिनदिनै भेट्ने र कुरा गर्ने साथी टुटेको सुसारेहरु बताउँछन् । सरला नारायणहिटीभित्र रत्न बस्ने महेन्द्र मञ्जिलसँगैको बम्बै चोकमा बस्थिन् । महेन्द्र मञ्जिलमा रत्नलाई सघाउने दुई पुरुष र चार महिला सुसारेहरु छन् । ती सबै उमेरले ६० कटेका छन् ।

उनीहरुको तलब र रत्नको आवश्यक खर्च भने निर्मल निवासले व्यवस्था गरिदिने गर्छ । सुसारेहरुको सेवा सुविधा अत्यन्त न्युन छ । स्रोतका अनुसार मासिक ४ देखि ६ हजारसम्ममा सुसारेहरु काम गर्ने गर्दछन् । पूर्वराजपरिवारका बाँकी सदस्यहरुलाई सुविधा उपलब्ध गराउँदै आएको सरकार रत्नप्रति भने उदासिन छ । सरकारबाट उनले कुनै सुविधा पाएकी छैनन् । यहाँसम्मकी नारायणहिटी दरबारभित्रै पालिएका गाईको दूधसमेत उनले खान पाउँदिनन् ।

८६ वर्षीया रत्न आफ्नो बाँकी जीवन पूरै धार्मिक कार्यक्रम र पूजापाठमै बिताउने योजनामा छिन् । उनी हरेक एकादशीमा ब्रत बस्छिन् । केही समयअघिसम्म नारायणहिटीभित्रै रहेको नारायणथान मन्दिर गएर पूजापाठ गर्छिन् । त्यस्तै हरेक मंगलबार नारायणहिटीभित्रैको गणेश मन्दिरमा पूजापाठ गरेकी थिइन् । तर, पछिल्लो समय हिंडडुल गर्न गाह्रो भएपछि मन्दिरमै गएर पूजापाठ गर्न छाडेकी छन् । निर्मल निवास श्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र हरेक सोमबार रत्नलाई भेट्न नारायणहिटी आउने गर्छन् ।

बेलुकी करिब चार बजे उनी महेन्द्र मञ्जिल पुग्ने गरेको श्रोत बताउँछ । कहिलेकाहीं ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल पनि जाने गर्छिन् । करिब एक घण्टा ज्ञानेन्द्र महेन्द्र मञ्जिलमा बस्ने गर्छन् र आमा रत्नसँगै चिया लिने गर्छन् । रत्नका नातिनी बुहारी, नातिनी, पनाति , पनातिनीहरु भने प्रायः मंगलबार भेट्न आउँछन् ।नेपालमा हुँदा पूर्वयुवराज पारस शाह पनि हजुरआमा रत्नलाई भेट्न बेलाबेलामा आउने गर्थे । परिवारका सदस्य र नजिकका नातेदारबाहेक अरुलाई भेट्न रत्नले पनि रुचाउँदिनन् ।

कुनै सार्वजनिक कार्यक्रममा जान पनि उनलाई रुची हुँदैन । मुमाबडामहारानी कसैलाई भेट्ने इच्छा गरिबक्सन्न । भेट्न खोज्नेहरुले पनि अब त प्रयास गर्नै छाडे एक सुसारेले भने । पूर्वपरिवारका सदस्यहरु रत्नलाई भेट्न जाँदा जयनेपाल सिनेमा हलको अगाडिको दरबारको गेटबाट नारायणहिटी छिर्ने गर्छन् ।त्यो गेटभित्र सँगै नेपाली सेनाको उपत्यका पृतना छ । राजतन्त्र समर्थकहरु पनि रत्नप्रति पूरै बेखबर छन् । रत्नलाई भेट्न उनीहरुले कुनै चासो देखाएका छैनन् ।

को हुने रत्न ?
स्वर्गीय राजा महेन्द्रकी कान्छी श्रीमती हुन् रत्न । जेठी श्रीमती इन्द्रराज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले रत्नसित बिहे गरेका थिए । वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र जन्मेपछि इन्द्रको निधन भएको थियो । राणा प्रधानमन्त्री जुद्धशमरेशरका नाति हरिशमशेरकी छोरी हुन् रत्न । महेन्द्रकी जेठी श्रीमती इन्द्र राज्यलक्ष्मी रत्नकै दिदी हुन् । २००७ सालको इन्द्रको निधन भएको थियो । श्रीमतीको निधनले राजा महेन्द्र विक्षिप्त बनेका थिए । उनी तनावमा रहन थालेका थिए । पछि उनको रत्नसित प्रेम बस्यो । बिहे गरेपछि भने उनी सामान्य बन्न थाले । राजा महेन्द्रले रत्नलाई निकै माया पनि गर्थे । अहिले रत्न बस्दै आएको महेन्द्र मञ्जिल उनले रत्नलाई उपहार दिएका थिए । रत्नकातर्फबाट एउटा पनि सन्तान भएनन् । पति महेन्द्रको निधन भएपछि रत्न उदास हुन थालेकी हुन् ।

रत्नको परिवारका सबै सदस्यसित राम्रो सम्बन्ध रहे पनि पूर्वरानी ऐश्वर्यासित भने कहिल्यै राम्रो सम्बन्ध हुन नसकेको दरबारनिकट श्रोतको भनाइ छ । पूर्वअधिराजकुमार धीरेन्द्रको पदवी खोसिनुमा ऐश्वर्याको महत्वपूर्ण भूमिका थियो । जुन, रत्नलाई मन परेको थिएन ।

दरबार हत्याकाण्डकी साक्षी

रत्नले आफ्नो जीवनमा धेरै दुःख, पीडा र बियोग पनि झेल्नुपरेको छ । तर, पनि उनी कहिल्यै विचलित भइनन्। जानकारहरु भन्छन्, मुमाबडामहारानीमा दुःख पीडा सहने सक्ने र अरुलाई आफ्नो पीडा सुनाएर दुःखी नबनाउने सोच छ । तत्कालिन युवराज महेन्द्रले रत्नसित बिहे गर्न खोज्दा राजा त्रिभुवनले विरोध जनाएका थिए । कुनै पनि हातलमा त्रिभुवनको बिहे रत्नसित नगराउने पक्षमा त्रिभुवन थिए । उता रत्नको प्रेममा चुर्लुम्म डुबेका महेन्द्र कुनै पनि हालतमा बिहे गर्न चाहन्थे । बरु त्यसका लागि युवराज पद छाड्न पनि उनी मानसिक रुपमा तयार भइसकेका थिए ।

तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र गृहमन्त्री बीपी कोइरालाले महेन्द्रका बाबुछोराको विवाद मत्थर पारेका थिए । त्यसपछि मात्र महेन्द्रको रत्नसित बिहे भयो । बिहे भएको दुई वर्षपछि नै राजा त्रिभुवनको निधन भयो । महेन्द्र राजा र रत्न महारानी बनिन् । २०२८ सालमा राजा महेन्द्रको निधन भयो । र, २५ वर्षमा महारानी बनेकी रत्न ४२ वर्षकै उमेरमा विधवा भइन् । त्यसपछि उनी राजकाजबाट क्रमशः टाढिँदै आध्यात्मिक बन्दै गइन् ।२०५८ सालमा भएको दरबार हत्याकाण्डकी जीवित साक्षी पनि हुन् रत्न । यद्यपि त्यस घटनाबारे उनले अहिलेसम्म कहींकतै बोलेकी छैनन् ।

यो घटनाले उनलाई थप विक्षिप्त बनायो । हत्याकाण्डमा दुई छोरा र दुई छोरी, बुहारी र नाति नातिना गुमाएको पीडा पनि रत्नले बूढेसकालमा सहिन् । श्रोतहरुका अनुसार उनी दरबार हत्याकाण्डको रातभरि उनी छाउनीस्थित सैनिक अस्पतालमा बसेकी थिइन् । रत्नले दरबारमै बसेर चार राजाको शासन हेरिन् । त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको शासन देखिन् ।

सँगसँगै निरंकुश पञ्चायती व्यवस्थाको शक्तिशाली दरबार, राजासंस्थाको पतन र गणतन्त्रको उदय पनि रत्नले नजिकबाट हेरिन् । एकथरी दरबारियाहरु उनलाई राजसंस्थाको जीवित इतिहास मान्छन् र भन्छन् । १६ वर्षकै उमेरमै रत्नले आमा गुमाएकी थिइन् । आफूभन्दा मुनिका दुई भाई बहिनी उनैले हुर्काएकी थिइन् । आफूभन्दा मुनिका दुई भाइबहिनी उनैले हुर्काएकी थिइन । यस्तै युवराज्ञीका रुपमा दरबार छिरेपछि दिदी इन्द्रका छोराछोरी पनि उनैले हुकाईन् ।

दुःखको पहाड
१६ वर्षको उमेरमै आमाको देहान्त भएपछि उनीमाथि थप जिम्मेवारी पनि आइलाग्यो । आफूमुनिका तीन भाई बहिनीको स्याहार सुसार उनैले गरेकी हुन् । एक किसिमले उनी नै भाइबहिनीकी अभिभावक बनिन् । तत्कालिन युवराज्ञी इन्द्रराज्यलक्ष्मीको २००७ मा निधन भयो । इन्द्र रत्नको दिदी थिइन् । त्यसपछि दिदीका छोराछोरी हुर्काउने जिम्मेवारी पनि रत्नकै थाप्लोमा आयो । महेन्द्रसित बिहे गरेर नारायणहिटी भित्रिएपछि त्यो जिम्मेवारीले औपचारिकता पायो ।

दिदीका छोराछोरी हुर्काउनका लागि आफू सन्तान नपाउने निर्णय पनि लिइन् । तत्कालिन राजा त्रिभुवन छोरा महेन्द्रको विवाह रत्नसित नगराउने पक्षमा थिए । त्यसैले बुहारी बनेर दरबार छिरेपछि पनि त्रिभुवनले रत्नलाई राम्रो व्यवहार गरेनन् । त्रिभुवनको मृत्युपछि भने उनी महारानी नै बनिन् । पति महेन्द्रसँगै रत्न २०२७ सालमा शिकार खेल्न कैलालीको टिकापुर गएकी थिइन् । त्यहाँ महेन्द्रकै गोली लागेर उनी घाइते भइन् । २०२८ सालमा राजा महेन्द्रको हृदयघातबाट निधन भयो । ४२ वर्षको उमेरमै रत्न विधवा भइन् । पति महेन्द्रले सुरु गरेको निरंकुश पञ्चायती व्यवस्था २०४६ सालको जनआन्दोलनले भत्काइदियो । देशमा प्रजातन्त्र आयो । दरबारको भूमिका खुम्च्यएर संवैधानिक बनाइयो ।

२०५८ सालमा त रत्नमाथि ठूलो बज्रपात भयो । नारायणहिटीभित्रै भएको हत्याकाण्डमा उनका जेठा छोरा वीरेन्द्र (तत्कालिन राजा) को बंशबिनास भयो । अर्का छोरा धीरेन्द्र, दुई छोरी र एक ज्वाइँको आँखै अगाडि निधन भयो । यो घटनाले उनलाई थप विक्षिप्त बनायो । २०६२ ०६२ को जनआन्दोलनले त राजसंस्था नै समाप्त भयो । ०६५ सालमा गणतन्त्र घोषणा भएपछि रत्नको परिवार (छोराबुहारी, नाति, नातिनीलगायत) नारायणहिटी छाडेर नागार्जुनतिर लागे । र, सुरु भयो रत्नको एक्लो र निरस जिन्दगी ।रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१