नेपालको आन्तरिक स्रोत पर्याप्त छैन, वैदेशिक लगानी अपरिहार्य छः अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०८०, बिहीबार ०६:५२

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको बताएका छन् । त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको उनको भनाई छ । लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन् ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।

सो अवसरमा अर्थमन्त्री डा.महतले नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न बिभिन्न सुधारका कार्य शुरु गरेको समेत बताए ।

उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिंदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए ।

नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एशियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने वीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको बिभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बेलायती संसदमा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका बिभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१