आज नवौँ विश्व माटो दिवस मनाइँदै

suman100@gmail.com' suman basnet
१९ मंसिर २०७९, सोमबार १०:५४

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराका साथ नवौँ विश्व माटो दिवस मनाइँदै छ। स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा दिन यो दिवस मनाइन्छ।

सन् २०१३ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ५, २०१४ लाई पहिलो आधिकारिक विश्व माटो दिवस घोषणा गरेको थियो। नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ।

कृषिका गतिविधि, खाद्य सुरक्षा, पोषण सुरक्षा र जलवायु संरक्षणको केन्द्रमा माटो रहेको छ। विश्व माटो दिवस कार्यक्रमले मानिसलाई माटोको महत्वको जानकारी गराउँदै माटोको उचित व्यवस्थापन एवं संरक्षण गर्दै उर्वरा शक्ति वृद्धि गर्न जनचेतना बढाउन मद्दत गर्ने कृषि विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले माटोको संरक्षण, सवर्धन र व्यवस्थापनविना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि जिकास, जैविक विविधता संरक्षण, प्राङ्गारिक कृषिलगायतका विषयसम्बन्धी बहसले सार्थकता नपाउने बताए।

हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा हस आउने क्रम दिन प्रतिदिन बढ्दो छ। त्यसैले यो समस्यालाई विश्वको साझा समस्याको रुपमा लिन थालिएको छ। यसलाई विश्वस्तरमै एकताबद्ध भएर सम्बोधन गर्न व्यापकरूपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस मनाउने गरिएको उनले बताए।

यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन मुलुकभर कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम गरिँदैछ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१