‘माधव नेपालको चुनाव चिन्ह हँसिया र मकैको घोगा’: ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७७, बुधबार ०५:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्हमा माधवकुमार नेपालको पनि हक नलाग्ने बताएका छन् ।

निर्वाचन आयोगका आयुक्तहरुसित छलफल गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले सूर्य चिन्हबाट कहिल्यै चुनाव नलगेको भन्दै माधव नेपालको पनि हक नभएको जिकिर गरे ।

माधव नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिन्ह दर्ता गराएको भन्दै पछि आफूहरुले सूर्य चिन्ह कायम गरेको बताए । उनले आयोगसमक्ष भने, ‘माधव नेपाल र बलराम उपाध्यायले पहिले नै हँसिया र मकैको घोगा चुनाव चिह्न दर्ता गराउनुभएको हो । हामीले सूर्य चिन्ह कायम गरेको हो । हामी त्यसयता सूर्य चिन्हमै चुनाव लड्दै आएका छौं । प्रचण्डजीसँग २०७४ असोज १४ गते सूर्य चिह्नबाट लड्ने सहमति भएको थियो, तर १६ गते त्यसबाट पछि हट्नुभयो । उहाँ कहिल्यै सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन ।’

निर्वाचन आयोगमा हँसिया र मकैको घोगा दर्ता गराउने माधवकुमार नेपालको सूर्य चिन्ह हुन नसक्ने भनाइ ओलीको थियो ।

ओलीले नेकपा एकीकरण टुंगिन नसकेकाले आफूले केन्द्रीय कमिटीमा सदस्य थपेर विस्तार गरेको बताएका छन् । तीन महिनाभित्र एकीकरण सक्ने र दुई वर्षमा महाधिवेशन गर्ने भनिएकोमा त्यसो नभएकाले कमिटी विस्तार गर्नुपरेको मौखिक जानकारी समेत ओलीले आयोगलाई गराएका छन् ।

ओलीले भने– ‘पुस ५ गतेपछि कसैले कुनै निर्णय गरेर आयौं भन्छ भने त्यो जालझेल र राजनीति मात्र हो । दुई अध्यक्षको सहमतिमा एकता भएर त्यसलाई पछि दुवै पार्टीले अनुमोदन गरेका हुन् । त्यो एकता टुंगिन नसकेपछि मैले एकल हस्ताक्षर चल्ने पहिलो अध्यक्षको वैधानिक हैसियतमा विस्तार गरें । अहिले उहाँहरुको कार्यालय पेरिसडाँडामा छ । हाम्रो कार्यालय धुम्बाराहीमा भाडामा चलेको छ ।’

प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफैं भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।

वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो– ‘उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिश गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ?’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१