आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७७, आईतवार ०५:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो दिनको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूसहित १६ जनालाई न्याय दिन माग गरेका छन् । सीमा समस्यामा केन्द्रित रहेर धारणा राख्ने क्रममा उपाध्यक्ष गौतमले तत्कालीन अवस्थामा आफूहरुले महाकाली नदीको मुहान किटान गर्नुपर्ने माग गर्दा वर्तमान नेतृत्वबाट कारबाही भोगेको स्मरण गरे ।

आफूसहित १६ जनालाई महाकालीको मुद्दा उठाउँदा कारबाही गरिएको भन्दै उनले एकीकृत पार्टीबाट न्यायको अपेक्षा गरेका छन् । उनले बैठकमा भने, ‘महाकाली सन्धिगर्दा अहिलेकै नेतृत्वका साथीहरुले मसहित १६ जनालाई कारबाही गरेका थिए । हामीले उठाएको एजेण्डा आज आएर सहीसाबित भएको छ । अब हामीविरुद्धको कारबाही गल्ती थियो भनेर किन नभन्ने ? हामीलाई न्याय दिनुपर्छ ।’

एकीकृत पार्टीको तर्फबाट न्याय हुनेमा आशावादी रहेको बताउँदै उनले भने, ‘त्यो बेलाका धेरै कुरा नगरौँ । तर हामीले महाकाली सन्धि ठिक छैन । त्यसको सैद्धान्तिक र व्यवहारीक पक्षमा नेपालविरुद्ध थियो । मुहान पनि किटान गरौँ भनिएकै थियो । त्यो गर्दा हामी १६जनाविरुद्ध कारबाही भयो । अहिले आएर सच्चाउनु पर्छ । हामीलाई न्याय चाहिँयो ।’ महाकाली सन्धिको बिरोध गरेपछि वामदेव गौतमसहित १६ जनालाई तत्कालीन एमाले नेता (वर्तमान प्रधानमन्त्री) केपी ओलीकै प्रस्तावमा एमालेले कारबाही गरेको थियो ।

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही नभनिकनै बाहिरिएका थिए । ओली बाहिरिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षले आफूसँग बिरामी भएकाले जान्छु भनेर निस्किएको जानकारी गराए ।

सीमा समस्याका विषयमा नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले आफ्ना विचार राख्न बाँकी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१