बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि यसको सीधा असर घरजग्गाको कारोबारमा,घट्यो सरकारको राजस्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ चैत्र २०७३, सोमबार १०:२७

काठमाडौं,२१ चैत्र  । बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि यसको सीधा असर घरजग्गाको कारोबारमा देखिएको छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा सिथिलता छाएको हो ।

राजधानीका मालपोत कार्यालयहरुमा अहिले जग्गा किनवेच गर्न आउनेहरुको संख्या पातलिँदै गएको कर्मचारीहरु बताउँछन् । बैंकहरुले कर्जामा कडाई गरेसँगै जग्गाको कारोबारमा पनि मन्दी आएको उनीहरुको भनाइ छ ।
कात्तिक महिनादेखि सुरु भएको तरलता अभाव अहिलेसम्म कायम नै छ । बैंकहरुले अहिले पनि नयाँ कर्जा लगानी खासै गर्न सकेका छैनन् । यसअघि नै कर्जा दिने सम्झौता गरेका ऋणीहरुलाई मात्रै अहिले बैंकहरुले ऋण प्रदान गरिरहेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले अहिले पनि ऋण माग्दै आउने नयाँ ग्राहकलाई निराश बनाएर पठाउनु परेको छ ।

घट्यो सरकारको राजस्व

जग्गा किनबेच हुँदा सरकारलाई राजस्व प्राप्त हुन्छ । माघ महिनाको तुलनामा फागुन महिनामा जग्गा किनबेचबापत सरकारलाई हुने आम्दानीमा पनि कमी आएको देखिन्छ । उपत्यकामा धेरै जग्गा किनबेच हुने जिल्लाको रुपमा अहिले भक्तपुरलाई लिन सकिन्छ । किनकी काठमाडौंको अधिकांश जग्गामा घर निर्माण भइसकेका छन् ।

उपत्यकामा अधिक मात्रामा जग्गा किनबेच हुने भक्तपुर मालपोत कार्यालयमा नै यसको कारोबारमा कमी आएपछि यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत असर परेको छ ।

भक्तपुर मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा जग्गा किनबेच बापत भक्तपुर मालपोतले दर्ता शुल्क १२ करोड ९३ लाख २२ हजार ४ सय ७२ रुपैयाँ प्राप्त भएको थियो । तर फागुन महिनामा भने यसमा गिरावट आउँदै दर्ता शुल्क १० करोड ६१ लाख ८५ हजार ९ सय ११ मा सिमित भएको छ ।
भक्तपुर मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिना फागुनदेखि घरजग्गाको किनबेचमा कमी आएको बताउँछन् ।
उनले भने ‘बाषिर्क लक्ष्य अनुसारको राजस्व हामीले उठाइसकेका छौ तर फागुनमा भने हामीले त्यो महिनामा प्राप्त गर्नुपर्ने राजस्व उठाउन सकेनौ ।’

प्लानिङ परमिट तथा ६ मिटरको बाटो राखेर मात्रै घर बनाउने प्राबधानका कारण समेत भक्तपुरमा पछिल्लो समय जग्गाको कारोबारमा कमी आएको पनि तिमल्सिनाले जानकारी दिए ।

काठमाडौंको राजस्वमा पनि कमी

काठमाडौंमा जग्गा भन्दा पनि धेरैजसो घरकै कारोबार हुने गर्दछ । त्यसैले भक्तपुरको तुलनामा काठमाडौं मालपोतमा महिनैपिच्छे दर्ता हुने लिखतको संख्या ज्यादै न्युन देखिन्छ ।

माघ महिनाको तुलनामा फागुनमा घरजग्गा किनबेचबापत काठमाडौं मालपोत कार्यालयले प्राप्त गर्ने राजस्वमा कमी आएको छ । माघ महिनामा १५ करोड ९५ लाख ३३ हजार २ सय २२ रुपैयाँ राज्यलाई प्राप्त भएकोमा फागुन महिनामा यो घटेर ११ करोड ४१ लाख ७६ हजार ८ सय ५१ रुपैयाँ कायम भएको छ ।

लिखतको संख्या भने माघको तुलनामा फागुनमा बृद्धि भएको छ । तर गत वर्षको फागुनको तुलनामा भने चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता हुने लिखतको संख्यामा कमी आएको देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१