एजेन्सी । बिहार बिधानसभाको चुनावमा एकातिर लालु यादव, नीतिशकुमार र कांग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् ।
भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संशाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ । बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले पहिलोपटक राजनीतिक रुपमा चुनौती दिएका थिए ।
उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहीनलाई आवाज दिए । लालु–रावडीको १५ वर्ष लामो शासनकालमा पिछडिएका जाति मूलधारको राजनीतिमा आउन सफल भए ।
यही आन्दोलनबाट उदाएका नीतिश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन्, उनीहरुलाई विभिन्न स्थानमा स्थापित समेत गरे । लालु र नीतिशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् । भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलोपटक हो ।
मोदीका सबैमन्त्री, भाजपाका ५० भन्दा बढी सांसद् र आरएसएसका हजारौं कार्यकर्ता बिहारको चुनावी मैदानमा दिनरात सक्रिय छन् । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् ।
आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्त्वपूर्ण किन भयो रु बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतिशका लागि अस्तित्वको लडाइँ बनेको छ । यो चुनावमा लालु र नीतिशको महागठबन्धनले हार्यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झट्का लाग्नेछ । त्यसपछि यी दुवै दलको भविष्यको कुनै ग्यारेन्टी हुनेछैन । भाजपाको जित भए मोदीको शक्ति निकै बढ्नेछ र उत्तर प्रदेशमा चुनाव जित्नका लागि यो सहज हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया