संविधान : अब के हुन्छ? कस्तो प्रक्रिया बाँकी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७२, मंगलवार ०६:२७
mainphoto
  • मनोज सत्याल

काठमाडौँ ,२२ भाद्र  । संविधान कसरी जारी हुन्छ? अबको प्रक्रिया के हुन्छ?

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई शीर्ष नेता र सभासद्हरुको जिज्ञासा शान्त गर्न भ्याइ नभ्याइ छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेम्वाङको सरकारी निवास बालुवाटार नै पुगेर प्रक्रियाबारे जिज्ञासा राखे।

‘बिहान निवासमै आएर उहाँले प्रक्रिया बारे जिज्ञासा राख्नुभयो, अब कसरी अगाडि बढ्छ भनेर सोध्नुभयो’, नेम्वाङले पत्रकारहरुसँगको भेटमा भने- ‘प्रमुख दलका सचेतक र अन्य नेताहरुले पनि मसँग प्रक्रियाबारे चासो राखेका छन्।’

पत्रकारहरुसँग छलफल भइरहेकै समयमा एमाओवादी नेता एवम् राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नेम्वाङलाई फोन गर्दै प्रक्रियाबारे जिज्ञासा राखे। संविधानसभाको प्रक्रियाबाट बाहिरएका दलहरुलाई समावेश गराउने कुनै बाटो बाँकी भए नभएको विषयमा समेत भट्टराईले जिज्ञासा राखे। ‘सबैले मलाई के हुन्छ प्रक्रिया भनेर सोध्नुहुन्छ’, नेम्वाङले भने। उनले पत्रकारहरुसँग संविधान जारी गर्ने अबको प्रक्रियाबारे स्पष्ट गरे।

अब यस्तो हुन्छ प्रक्रिया


संविधानसभाको बैठक मंगलबार ११ बजेका लागि डाकिएको छ। बैठकमा दलहरु र सभासद्ले व्यक्तिगत रुपमा दर्ता गराएका  संशोधन प्रस्ताव पेश हुनेछ। ५६ वटा संशोधन प्रस्ताव पेश भएकामा सोमबारसम्म चार वटा फिर्ता भइसकेको छ। दल वा सभासद्ले अझै पनि प्रस्ताव फिर्ता लिन सक्छन्।

संशोधन मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले टेबल गर्ने वा विधेयकमा प्राप्त भएका संशोधन भनेर सिधै अगाडि बढाउने भन्ने अझै टुङ्गो लागेको छैन। तर मंगलबार नै संशोधनहरु पेश हुनेछन्। नेम्वाङले बैठकमा संशोधनकर्ताहरुलाई आफ्नो संशोधन पेश गर्न समय दिनेछन्। संशोधनकर्तालाई संशोधन राख्न ७ मिनेटको समय दिने तयारी नेम्वाङको छ। मंगलबार नै सबै संशोधन पेश गर्ने तयारी छ।

संशोधन पेश भएपछि सभासद्हरुले धारणा राख्न पाउने छन्। सुरुवात मै संसदीय दलका प्रमुख नेताहरुलाई धारणा राख्न दिने तयारी छ। सभासद्हरुले धारणा राखिसकेपछि संशोधनहरु भटाभट निर्णयार्थ पेश हुनेछन्।

ठूला दलहरु कांग्रेस- एमाले र अहिले एमाओवादीले समेत साझा संशोधन प्रस्ताव राखेकोले उनीहरुले राखेका संशोधन मात्र पास हुने, अरु फेल हुने देखिन्छ। पास भएका संशोधनहरु संविधानको हिस्सा बन्नेछन्।

तर संशोधनहरुमा मत विभाजन हुन सक्ने सम्भावना समेत रहेको छ। धर्म निरपेक्षताको विषयमा राप्रपा नेपालको अगुवाइमा मत विभाजन हुन सक्छ। तर त्यसका लागि बैठकमा उपस्थित संख्याको दश प्रतिशत सभासद्ले उठेर मत विभाजन माग गर्नुपर्ने हुन्छ। संविधान सभा ६०१ सिटको भए पनि मन्त्रिपरिषद्ले गर्नुपर्ने दुई जनाको मनोनयन भइसकेको छैन भने सूर्यबहादुर थापाको निधनपछि तीन सिट रिक्त छन्। फौजदारी मुद्दा परेकोले सद्‍भावना पार्टीका एक सभासद् सञ्जय साह निलम्बित छन्। सबै सभासद् उपस्थित भए भने संख्या ५९७ हुनेछ जसको १० प्रतिशत अर्थात् ६० जनाले उठेर माग गरेमात्रै मत विभाजन हुनेछ।

सबै धारा पास भएपछि एकीकृत विधेयक पास गर्नुपर्नेछ जसका लागि कूल सदस्य संख्याको कम्तिमा दुई तिहाई अर्थात् ३९८ मत आवश्यक हुनेछ।

यसरी संविधानसभाबाट पास भएका विषयहरुको धारा क्रम मिले नमिलेको हेर्ने र प्रमाणिकरण गर्ने काम संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नेछन्।

संविधानमा सभासद्हरुले समेत हस्ताक्षर गर्न पाउनेछन्। यसरी प्रमाणिकरण भएको संविधान राष्ट्रपतिले जारी गर्नेछन्। जारी भए लगत्तै संविधान लागू हुनेछ।

सम्बन्धित समाचार

अझै छ असन्तुष्टको मत समेट्ने बाटो

संविधानसभाको प्रक्रिया र सीमाङ्कनमा असन्तुष्ट रहेका दल र सभासद्हरुको माग समेट्ने बाटो अझै बाँकी रहेको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको बुझाई छ। ‘आएका संशोधन मध्येबाट दलहरुले सहमति भएका विषयहरुलाइ पास गराएर संविधानमा समेट्न सक्नेछन्’, नेम्वाङको भनाई छ – ‘संशोधनहरुलाई राम्रोसँग अध्ययन गरेर कतिपय विषय मिलाउन सक्ने अवस्था छ।’

साभार – पहिलोपोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१