त्रिभुवनचोक बन्यो आन्दोलनको निशाना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० भाद्र २०७२, आईतवार ११:३७

काशी पोख्रेल

tr

बाँके । त्रिभुवन चोक, अर्थात् नेपालगन्जको मुटु । नेपालगन्जको केन्द्रमात्रै होइन, सबैभन्दा राम्रो स्थानको रुपमा कुनै बेला त्रिभुवन चोकको चर्चा हुन्थ्यो । त्यहाँ पान खानेदेखि लिएर दिनभरि भएका एकआपसका क्रियाकलाप कुराकानी बारे छलफल गर्नेहरुको साँझ र विहान लर्को हुन्थ्यो ।
त्यो चोकमा नआइकन अधिकांस राजनीतिकर्मी, ब्यवसायी, सामाजिक अगुवाहरुको चित्त बुझ्दैन्थ्यो । तर, अचेल त्यो चोकमा जान डराउनेहरु धेरै छन्, कारण राजनीति अब साम्प्रदायिक हुन थालेको छ । त्रिभुवन चोक त्यसको केन्द्र ।
मधेशी र मुस्लिम समुदायको बाहुल्य रहेको नेपालगन्जको त्रिभुवन चोक मुख्य ब्यापारिक केन्द्र मात्र नभई भारतीय क्षेत्रबाट आउने उपभोक्ताको आकर्षण केन्द्रपनि हो । तर २०६३ सालको मधेश आन्दोलनपछि विस्तारै त्रिभुवन चोकको क्रेज घट्दै पो गएको हो कि ?
अधिकांस आन्दोलनका सभा, नाराबाजी, हड्ताल, दंगा र बवालको केन्द्रको रुपमा अब त्रिभुवन चोकको परिचय बाहिर आउन थालेको छ । नेपालगन्जमा केही नराम्रो खबर आउँछ भने अधिकांसको ध्यान पहिला त्रिभुवन चोकमा केन्द्रित हुन्छ । यसको कारण हो धेरैजसो आन्दोलनका क्रियाकलाप त्यहि चोकमा हुन थाले ।
त्रिभुवनचोकको अवस्था र स्थानीयहरुको मानसिकता दैनिक नेपालगन्जले बुझ्ने प्रयास गरेको छ । स्थानीय ब्यवसायी नशीम कादरी भन्छन्, ‘यो त्रिभुवन चोक होइन आतंक चोक भो । ‘आन्दोलन र धर्नाका पनि तरिका हुन्छन् नि ?’ आक्रोश पोख्दै उनले भने, ‘नेताहरु आफ्नो कारोबार पसल चलाउँछन् आम जनतालाई मात्रै सास्ती हुन्छ ।’
‘अचेल यो चोकमा आउन मन हुँदैन,’ त्रिभुवन चोकमा शनिवार दिउसो भेटिएका नशीमले भने, ‘नेताहरुले यो चोकको नाम खराब गरे, त्यसैले यहाँबाट ब्यापार ब्यवसाय विस्थापित हुन थालेको छ । म आफै अहिले धम्बोझीमा सरेर ब्यवसाय गर्न थालेको छु ।’
नेपालगन्ज तरकारी मण्डीका अध्यक्ष बाबु कबडियाले आन्दोलनले आमजनताको हालत खराब गरेको बताए । ब्यंग्य गर्दै उनले भने, ‘यो पनि कुनै आन्दोलन हो त्रिभुवन चोक बन्द गराउने बाँकी बजार खुल्ला ? उनी जस्तै अधिकाँशको यही गुनासो थियो, त्रिभुवन चोक किन आन्दोलनको निशाना बनिरहेको छ ?’
सामान्य समयमा नेपालगन्जको तरकारी बजारमा प्रतिदिन २२/२३ टन तरकारी खपत हुन्छ । तर आन्दोलन चर्किएपछि ८/१० टन मात्र बिक्री हुने गरेको कबडियाको भनाइ छ । ‘भारत लगायत क्षेत्रबाट तरकारी तथा फलफूल आउन नसकेका कारण बजार निकै धराशयी भयो,’ उनले भने, ‘यस्तै रहन्छ भने नेपालगन्जमा तरकारी पनि पाउन बन्द हुन्छ ।’
अभावका कारण अधिकाँश तरकारीहरुमा १० रुपैया सम्म भाउ बढेको पाइएको छ । नाकाबन्दीका कारण नेपालगन्जमा खाद्यान्न संगै औषधी बजारमापनि अभाव उत्पन्न हुने थालेको छ । त्रिभुवन चोकको पसलहरु करिब २४ दिन देखि निरन्तर बन्द छन् । फाट्टफुट्ट खुलिहाले पनि मान्छे जान डराउँछन् ।
आवतजावत गर्ने मानिसहरु देखा परेपनि अधिकाँश ब्यक्तिहरु त्रिभुवन चोकमा जमघट हुन छाडेका छन् । आन्दोलनकारी कै कारण चोक खचाखच हुन्छ स्थानीय ब्यवसायी राकेश गुप्ताले भने, ‘बाहिरबाट न सामान आएको छ न यहाँ भएको सामान किन्न मान्छे नै आउँछन् ।’
जिल्लामा चौतर्फी नाकाबन्दी, दिनहुँ बवाल, तोडफोड र हिंसाको सिकार त्रिभुवन चोकका विद्यार्थीहरुलाई पनि हुनु परेको छ । चोकमा बवाल हुँदा अश्रुग्यासले बालबालिकालाई सास्ती भोगेका स्थानीयवासी राजु अन्सारी भन्छन्, ‘यो ठाउँ बस्न लायक राखेनन् ।’
‘आन्दोलनमा झडप र लाठी चार्ज हुँदा भागेर घरमा पस्नेहरुको पनि उत्तिकै जोखिम हुन्छ’, स्वामीदयाल गुप्ता भन्छन्, ‘यहाँका बासिन्दालाई पनि प्रशासनले आन्दोलनकारीकै दृष्टिबाट हेरेको छ, त्यो अन्याय हो ।’ अचेल त्रिभुवन चोकमा मधेसी–मुस्लीम बाहेक अन्य समुदायका उपभोक्ता स्वात्तै घटेका छन् ।
‘पहाडी मूलका मान्छे कम आउन चाहन्छन्,’ स्थानीय समसुश खाँ भन्छन्, ‘यहाँ आउन उनीलाई जोखिम छ, कुन बेला बवाल हुन्छ भन्ने डर हरे समय हुन्छ ।’ बाहिरबाट उपभोक्ता आउन छाडेपछि कारोबारमा गिरावट भएको त्रिभुवन चोकमा आन्दोलनले गर्दा भारतीय उपभोक्ता पनि आउन छाडेका छन् ।
‘आपसी मेलमिलाप र समन्वय विना कुनै काम सफल हुँदैन,’ स्थानीय ब्यवसायी श्याम गुप्ता भन्छन्, ‘राजनीतिबाट साम्प्रदायिकता हटोस् ।’ ‘निर्वाध रुपमा सबै ब्यक्ति सबै ठाउँमा आवतजावत गर्न पाओस्’, उनले भने, ‘हामी ब्यवसायीहरुको धारणा एउटै छ, नेताहरुले बुझ्नु पर्छ ।’
त्रिभुवन चोकका रैथाने व्यवसायीहरु पछिल्लो एक दशक यता निरन्तरका आन्दोलन र त्यसपछि बिग्रिएको धारणाले आफुहरु पीडित रहेको गुनासो गर्छन् । ‘वास्तवमा यहा“का व्यवसायीहरु आन्दोलनको चाहना, कामना वा सहभागिता हु“दैनन्’, नाम खुलाउन नचाहने एक व्यवसायीले भने, ‘हामीले केही बोल्यौ भने वा विरोध गर्यौ भने अनाहकको निशाना बन्नुपर्छ ।
‘उनले बाहिरबाट त्रिभुवनचोक आएर आन्दोलनको केन्द्र बनाइँदै आएको गुनासो गर्दै भने, ‘कतिपय नेताहरु त बाहिर निर्धक्क आफ्नो पसल व्यवसाय र उद्योग चलाएर त्रिभुवन चोकमा आन्दोलन गरिरहेका छन् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१