नेपालगन्जमा मच्छरको खोजी !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १५:४१

काशी पोख्रेल
बाँके, २२ असार । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जका टोलटोलमा मच्छरको खोजी गर्दै छ । वर्षातसँगै डेङ्गु रोग सार्ने मच्छर देखिन थालेपछि जनस्वास्थ्यले टोली खटाएर मच्छरको खोजी गर्ने भएको हो ।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले आज मंगलबारदेखि २७ गतेसम्म नेपालगन्ज उप–महानगरपालिकाका १७ वडाका घरघरमा गएर डेङ्गु रोग सार्ने मच्छरको खोजी गर्ने र फेलापरेको खण्डमा मार्ने अभियान शुरु भएको जानकारी दिए । उनले भने, ‘पानी परेपछि डेङ्गु रोग सार्ने मच्छर देखिन थालेपछि नियन्त्रणका लागि अभियान थालिएको हो ।’
आज मंगलबार र भोली बुधबार नेपालगन्ज उप–महानगरका वडा नं. १ देखि ५ सम्मका घरमा मच्छर मार्ने अभियान गरिने जानकारी दिँदै उनले यही असार २४ र २५ गते ६ देखि ११ नं. वडामा र २६ र २७ गते वडा नं. १२ देखि १७ वडामा अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका अर्का भेक्टर कन्ट्रोल सहायक दुर्गा गौतमले बताइन् ।  ‘रकम अभावले उपमहानगरमा थप भएका १० वटा वडामा यसपाली अभियान सञ्चालन गर्न सकिएन,’ उनले भनिन् । उपमहानगरका ८५ जना स्वयंसेविका, वडा नागरिक मञ्चका संयोजक र स्वास्थ्यकर्मी सहित १११ जना अभियानमा खटिने भएका छन् ।  भारतसँग सीमा जोडिएका जिल्लामा डेङ्गु रोगको जोखिम भएकोले नेपालगन्ज उपमहानगरमा पनि उच्च सतर्कता अपनाइएको भन्दै जनस्वास्थ्यले जनाएको छ । ‘रोग लाग्न दिनुभन्दा बाटो छेक्न उपयुक्त हुने भएकोले पहिले नै सतर्कता अपाइएको छ,’ भेक्टर कन्ट्रोल सहायक गौतमले भनिन् ।

This is an Aedes albopictus female mosquito obtaining a blood meal from a human host.

डेङ्गुको उच्च जोखिम
लामखुट्टेको सानो टोकाइले ठूलो क्षति हुने भएकोले समयमा सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ । डेङ्गुरोग सार्ने मच्छरको टोकाइ सानो भएपनि यसले ठूलो क्षति पु¥याउने भएकोले यसबाट जोगिन सजगता आवश्यक भएको जनस्वास्थ्यले जनाएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक नगेन्द्रप्रसाद चौधरीले भारतसँग सीमा जोडिएका जिल्लामा डेङ्गुरोगको जोखिम रहेको औँल्याउँदै बाँकेमा पनि यसको खतरा रहेको बताए । उनले २००४ देखि नेपालका विभिन्न जिल्लामा डेङ्गुरोग फेला पर्दै आएकोले बाँकेमा पनि कतिखेर देखिने हो भन्न नसकिने बताए ।
उनले भने, ‘नेपालगन्जको परिवेश र हाल देखिएको संकेतले नेपालगन्ज डेङ्गुरोगको उच्च जोखिममा छ ।’ डेङ्गुरोग खासगरी सहरमा देखिए पनि विस्तारै ग्रामिण भेगतिर सर्दै गएको वरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले खुलासा गरे । यो रोग विलासी र सुविधा भोगीको रुपमा समेत चिनिएको छ ।
‘जहाँ सफा पानी छ त्यहीँ र ग्रामिण भेगभन्दा सहरमा बढी देखिने भएकोले यो रोगलाई विलासी रोग भनिन्छ,’ उनले भने । पोथी जातको इजिप्टाई नामक लामखुट्टेले टोकेमा डेङ्गुरोग लाग्ने उनले जानकारी दिए । विशेषगरी चलायमान उमेर समूहका ब्यक्तिलाई लाग्ने गरेको चिकित्सकले बताएका छन् । ‘विशेषगरी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका ब्यक्तिलाई यो रोग बढी लाग्ने गरेको छ, चौधरीले भने, अहिलेसम्मको अनुसन्धानले ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिलालाई यो रोग लागेको देखिन्छ ।’
हालसम्म कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, नवलपरासी, चितवन, मकवानपुर, पर्सा, बारा, सप्तरी र मोरङमा रोग फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सन् २००४ मा काठमाडौँमा देखिपछि सन् २०१० मा रुपन्देही र चितवनमा महामारीको रुपमा फैलिएको थियो भने सन् २०१२÷०१३ मा झापा, चितवन र पर्सामा डेङ्गुरोगको महामारी फैलिएको थियो ।
मानिसलाई दिउँसोमात्र टोक्ने मच्छर खासगरी सफा पानीमा बस्ने र जन्मिने भएकोले घर वरपर रहेका गमला, फुलदानी, प्लाष्टिक र टिनका बट्टा, अलकत्रा, पेन्टका ड्रम, कुलर र एसी एवम् मिनरल वाटर, कोकाकोलाका बोत्तलमा पानी जम्न नदिन जनस्वास्थ्यले सुझाव दिएको छ । ‘आफ्नो वरपर सफासुग्घर राख्ने हो भने डेङ्गु लगायत अन्य मच्छरबाट लाग्ने अन्य रोगबाट जोगिन सकिन्छ,’ चौधरीले सुझाव दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१