गोंगबुको होटलमा शरीरभरि घाउचोट लागेको अवस्थामा महिला मृत फेला, एक युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०८१, मंगलवार ०५:५८

काठमाडौँ । गोंगबु मित्रनगरको स्टार जोन होटलमा एक महिला मृत भेटिएकी छन्। मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी हुन् । शुक्रबार राति कल्पना र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अञ्दाजी ३२ वर्षका अनित कार्की बास बस्न स्टार जोन होटलमा पुगेका थिए। कल्पनाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा थिए । उनी सानी छोरीलाई लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी थिइन् ।

होटलका स्टाफले दिएको जानकारी अनुसार राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले होटलवालालाई खबर गरेका थिए । होटलवाला र युवकले प्रहरीलाई फोन गरेको र तत्काल प्रहरीसमेतले त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउँदा डाक्टरले राति ११:३५ बजे कल्पनालाई मृत घोषित गरेको थियो।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् । होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घँचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको र कपडा झुण्ड्याउने हुकसमेत भुईमा झरेको पाइएको युवकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

कल्पनाको मृत्युको घटना रहस्यमय देखिएको छ । कल्पनाको शरीरभरि नीलडाम र घाउचोट लागेको देखिएको छ । तर, मृत्यु के कारणले भएको हो भन्ने वास्तविक कारणचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाइ छ ।

महाराजगञ्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने कार्कीलाई महाराजगञ्ज प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले अहिले आत्महत्या दुरुत्साहनमा मात्र मुद्दा चलाउन लागेको भए पनि कल्पनालाई प्रतिवादी वा अरु कसैले कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएमा छुट्टै किटानी जाहेरी लिने ढोका भने प्रहरीले खुल्लै राखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१