पढाई कहिले, कहाँ, कसरी सञ्चालन गर्ने भन्ने पत्तो छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ बैशाख २०७२, शुक्रबार १०:४०
8c903d223f25489036e6a0429c761e3d_Lसिन्धुपाल्चोक,२५ बैशाख ।  विनाशकारी महाभूकम्पले सर्वाधिक क्षति पुर्‍याएको सिन्धुपाल्चोकका ९० प्रतिशतभन्दा बढी शैक्षिक संस्था ध्वस्त बनाएको छ। सरकारले आगामी जेठ ३ गतेबाट शैक्षिक संस्था सस्था सञ्चालन गर्न सूचना जारी गरे पनि विद्यालय भवन नै नरहेपछि झण्डै ८८ हजार विद्यार्थीको पढाई अन्यौलमा परेको छ।

जिल्ला शिक्षा कार्यालयले संकलन गरेको तथ्यांकअनुसार मंगलबारसम्म ९० प्रतिशत सार्वजनिक विद्यालय भवन ध्वस्त भएको विवरण प्राप्त भएको छ। ‘प्रारम्भिक तथ्यांक भएकाले क्षति अझै बढ्न सक्छ,’ सहायक जिल्ला शिक्षा अधिकारी सेवन्तराज कोइरालाले नागरिकन्युजसँग भने। उनका अनुसार जिल्लामा ५ सय ५७ सार्वजनिक शैक्षिक संस्था रहेकोमा ३ सय ८३ विद्यालय पूर्ण रुपमा ध्वस्त भएका छन्। ध्वस्त विद्यालयमा ४ हजार १ सय १३ कक्षा कोठा थिए।

१ सय ७४ विद्यालयको अधिकांश हिस्सा क्षतिग्रस्त छन्। केही कक्षा मर्मत गरी सञ्चालनमा ल्याउन सकिने भएपनि ती विद्यालयका १ हजार ५ सय ६६ कोठा भने ध्वस्त प्रायः छन्। क्षतिग्रस्त २ सय ८ विद्यालय क्षतिको पूर्ण विवरणसहित शिक्षा कार्यालयको सम्पर्कमा आएका हुन्। बाँकी क्षति विवरण आफ्नो संयन्त्र परिचालन गरी संकलन गरेको सहायक जिशिअ कोइराला बताउँछन्।

पश्चिमी मेलम्ची क्षेत्रका विद्यालय भूकम्पबाट बढी प्रभावित छन्। चौतारास्थित जिल्लाकै जेठो शैक्षिक संस्था रत्नगंगा उच्च मावि, बाँडेगाउँस्थित ऐतिहासिक सिपातीनधारा संस्कृत मावि, पूरानो व्यापारिक केन्द्र बाह्रविसेको शारदा उच्च मावि, लामोसाँघुको सेतीदेवी शारदा उच्च मावि, मध्यक्षेत्रको बराम्चीस्थित रत्नराज्य उच्च मावि, पश्चिमी मेलम्चीको इन्द्रेश्वरी उच्च मावि, जनता मावि, ग्याल्थुमको सरस्वती उच्च मावि लगायत जिल्लाका जेष्ठ अगुवा शैक्षिक संस्था सखाप भएका छन्।

जिल्लामा प्रावि, निमावि र मावि गरी ८ सय ४८ तह सञ्चालनमा थिए। कार्यालयका अनुसार पूर्वबालविकास केन्द्रदेखि उच्च माविसम्म ८७ हजार ९ सय ४७ विद्यार्थी अध्ययनरत थिए। नयाँ शैक्षिक सत्र सुरुसँगै विद्यार्थी भर्ना अभियान चलिरहेका बेला महाभूकम्प गएको हो। नयाँ भर्ना हुनेसहित प्रभावित बालबालिका अझै बढ्न सक्छ। जिल्लामा दरबन्दी र राहत गरी २ हजार १ सय २४ शिक्षक कार्यरत छन्। निजी स्रोतमा राखिएका शिक्षकको तथ्यांक शिक्षा कार्यालयसँग छैन।

सरकारले पढाई सञ्चालन बारे सूचना जारी गरेपछि कार्यालयले विद्यालयलाई त्यही जानकारी सर्कुलर गरेको छ। ‘तर कसरी विद्यालय सञ्चालन गर्ने भन्ने अन्यौल छ,’ सहयाक जिशिअ कोइरालाले भने। वैशाख मशान्तसम्म नजिकको खाली स्थान, बचेका संरचनामा बालबालिका भेला गरेर मनोविमर्श कक्षा सञ्चालन गर्न विद्यालयलाई आग्रह गरेको उनले जनाए। कोइरालाका अनुसार प्रलयकारी भूकम्प, पटक–पटकको धक्का, कहाली लाग्दो ध्वंस, आफ्नै घर तथा छिमेकमा परेको शोक, खुला आकाशमूनिको बास लगायत कारण बालबालिकामा मनोबैज्ञानिक असर देखिन्छ।

‘नियमित कक्षा सञ्चालन अघि मनोबिमर्श कक्षा चलाउनु पर्ने आवश्यकता देखियो,’ उनी भन्छन्। जेठ ३ बाटै कक्षा सञ्चालन गर्न बैकल्पिक उपाय खोजी गर्न पनि कार्यालयले विद्यालयलाई आग्रह गरेको छ। पाल र टेन्ट पाउनसके पढाई सञ्चालन गर्न सकिने कोइराला बताउँछन्।

१६ शिक्षकको मृत्यु

महाभूकम्पको मूख्य प्रभावित जिल्ला सिन्धुपाल्चोककको शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित भयो। शिक्षा कार्यालयले अहिलेसम्म प्राप्त गरेको तथ्यांकअनुसार १६ शिक्षकको भूकम्पबाट ज्यान गएको छ। विवरण प्राप्त हुने क्रममा रहेकाले यो संख्या अझै बढ्ने अनुमान छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१