हात मिलाउन छोडौं, नमस्कार गरौं, स्वाइन फ्लुबाट बचौं !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १४:४३

नमस्कार गर्नु नेपालीको अभिवादन गर्ने उत्कृष्ट तरिका हो । अर्थात नमस्कार गर्नु सम्मान पनि हो । तर साथी-साथीहरुबीच, समकक्षीहरुबीच, नमस्कारसँग हात मिलाउने प्रचलन निकै प्यारो भइसकेको छ । अहिले त हात मिलाउनुलाई माया साट्ने तरिकाका रुपमा लिइएको छ । अब भने सचेत हुनेबेला आएको छ । धेरैसँग सम्पर्कमा आउँदा तपार्इलाई पनि स्वाइन फ्लु हुनसक्छ । छिमेकी मुलुक भारतमा भयावह अवस्थामा फैलिएको यो रोग नेपालका विभिन्न ठाउँमा पनि देखिएको छ । भारतबाट सुर्खेत पनि नजिक रहेकोले सुर्खेत पनि यसको जोखिममा रहेकोले सचेत हुने सर्वसाधारणहरुलाई जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले बताएको छ ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलबाट मजुरीका लागि भारत गएकाहरु बाँकेको नेपालगञ्जबाट सुर्खेत हुँदै जाने भएकोले पनि सुर्खेतमा पनि स्वाइनफ्लुको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख तथा जनस्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेलले बताए । स्वाइनफ्लु बारे पत्रकारहरुसंग कार्यालयमै कुराकानी गर्दै डोटेलले स्वाइनफ्लुबाट बञ्च व्यक्ति आफैले ध्यान दिनुपर्ने भन्दै सचेत हुन आग्रह गरे । नमस्ते गर्ने परिपाटीको विकास गरी हात मिलाउने र धेरै व्यक्तिको सम्पर्कमा नरहे स्वाइनफ्लुबाट बञ्च सकिने डोटेलले बताए । ‘‘यो धेरै हात मिलाउदा सर्ने सम्भावना धेरै हुन्छ,’ उनले भने–‘तसर्थ हात मिलाउन छोडी, नमस्ने मात्रै गर्ने बानी बसालौं ।’’
कडा खालको रुघा खोकी लागेमा एक्कासी रिङगटा लागेमा, बच्चाहरुले छिटोछिटो श्वासप्रश्वास गरेमा स्वाइन फ्लु हुनसक्ने भएकोले रगत परिक्षण गराउन उनले सुझाव दिए । साथै रुघाखोकी लागेको बेला सार्वजनिक ठाउँहरुमा नजाने, मास्क प्रयोग गर्ने बानीको पनि विकास गर्नु पर्ने उनको भनार्इ छ । मध्यपश्चिमको बाँके, बर्दिया र सुर्खेत पनि यस रोगको जोखिममा रहेपनि अहिले बिरामीहरु भने फेला परिसकेका छैनन् । जोखिममा रहेको यो क्षेत्रमा कसैलाई यो रोग लागेपनि पत्ता लगाउन समस्या हुनेछ । अहिलेसम्म मध्यपश्चिम क्षेत्रका कुनै पनि जिल्लामा स्वाइनफ्लु जाँच गर्ने मेसिन छैन । यसले गर्दा स्वाइन फ्लु भएपनि पत्ता लगाउन चुनौती रहेको छ ।
स्वाइनफ्लुबाट बच्न सतर्कता अपनाउन बाँकेका सीमावर्ती क्षेत्रमा हेल्प डेस्क पनि संचालनमा ल्याइएको छ । त्यहाँ भारतबाट आउनेलाई निगरानीमा राखिए पनि जाँच गर्ने मेसिन नै नहुँदा प्रभावकारी नहुने बताइएको छ । यसको एउटा मात्रै विकल्प शंका लागेका व्यक्तिको रगत परीक्षणका लागि केन्द्रमा पठाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख डोटेलले बताए । तर प्रचारमा आएको जती स्वाइन फ्लुबाट डराउनु पर्ने अवस्था नभएको भन्दै डोटेलले व्यक्ति आफै सतर्क हुन सके यसबाट सजिलै बच्न सकिने बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयले अहिले नै ‘हेल्प डेस्क’ राख्ने योजना नबनाएको भन्दै उनले सचेतनामूलक कार्यक्रम गरिने बताए । जिल्लाका संचार माध्यमबाट नागरिकहरुलाई स्वाइनफ्लु बारे जानकारी गराउने, यसका लक्षण, सर्ने तरिका र बच्ने उपायका बारेमा जानकारी गराइने उनको भनाई छ ।
स्वाइन फ्लु यो वर्ष नेपालमा १४ जनालाई देखिसकेको छ । विशेष गरी राजधानी काठमाडौं र कास्कीको पोखरमा यो रोगका विरामीहरु फेला परेका छन् । दम र श्वासप्रश्वासका रोगको समस्या भएकाहरुलाई यसको जोखिम हुन्छ ।

Symptoms_of_swine_fluके हो स्वाइन फ्लु ?
स्वाईन फ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ । सबैभन्दा पहिले यसको संक्रमण मेक्सिकोको वेराक्राज इलाकाको सुगुँर फार्ममो देखिएको थियो । यसलाई कतै–कतै सुगुँुर ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।
–एचवानएनवान, एचवानएनटु, एचथ्रीएनटु र एचथ्रीएनवान । जस मध्ये अहिले एनवानएनवान जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको सक्रमण संसारका करिब दुई सय देशहरुमा देखिइसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो । जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।

कसरी फैलन्छ स्वाइन फ्लू ?
सर्वप्रथम त सुँगुरको सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुरबाट यो भाइरस सर्ने गर्दछ । त्यसपछि स्वाइन फ्लू प्रभावित व्यक्तिहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइन फ्लुको विषाणु सामान्य रुघाखोकी जस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणुयुक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि–बोर्ड, आदि सतहमा विषाणु घन्टौं जीवित रहन सक्छन् ।

यसका लक्षणहरु के–के हुन ?
यसको लक्षण सामान्य रुघा–खोकीसंग मिल्दो जुल्दो हुन्छ तर रगतको परिणबाट मात्र यो पत्ता लगाउन सकिन्छ । स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ ।

बचावटका उपायहरु
यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हदसम्म सम्भव छ । यो रोगको संक्रमण भएकाहरुका लागि नेपाल सरकारले राजधानी काठमाडौमा उपचारका लागि विशेष प्रबन्ध पनि गरेको छ । यसबाट बच्ने सर्वाेत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा–सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोरबाट भाइरस छिटै फैलिन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१