आज श्रीपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०८०, बुधबार ०७:०६

काठमाडौं। विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्तपञ्चमी तथा सरस्वती पूजा बुधबार विविध कार्यक्रमसाथ मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाउन लागिएको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

यही दिनको साइत पारेर अभिभावकले नानीबाबुलाई अक्षर चिनाउने कार्य शुभारम्भ गर्दै छन् । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।

यस दिनमा नवीन कार्य प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन् । यस दिन भर्ना हुन आएका विद्यार्थीलाई भर्ना शुल्क नलाग्ने तथा मासिक शुल्कमा समेत आकर्षक छुट दिने प्रस्तावसाथ शिक्षण संस्थाले प्रचार प्रसार गरिरहेका छन् ।

वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई यस पर्वले दर्शाउने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१