२० हजारभन्दा बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८०, मंगलवार ०६:१७

काठमाडौ  । दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरुले विभिन्न प्रवेशद्वारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सोही समयमा सात सय ३७ पटक जीप सफारी भएको छ ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जीप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जीप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जीप सफारी गरिएको छ । दसैँको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जीप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जीप सफारी गरिएको उनले बताए । उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जीप सफारी गरिएको छ ।

दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरुबाट रु एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक बिस्तारै बढ्न थालेको उनले बताए । उनले भने, “गत वर्षहरुको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।”

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताए । कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएका हुन् । अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उनको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् । आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उनले जानकारी दिए । दसैँको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् ।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जीप र डुङ्गा सफारी चलायमान भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१