नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७७, बुधबार १४:५९

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

बहुमत स्थायी कमिटी सदस्यले अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् ।

उनीहरुले आजकाे बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका थिए । बरिष्ठ नेता झलनाथ खनालले आजको बैठकले ठोस निर्णय लिने जानकारी दिए ।

उनले भने, “पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याउने र आफूलाई मनलाग्दी गर्ने छुट कसैसँग छैन् । यसका विषयमा आज वारपारको निर्णय हुन्छ ।”

त्यस्तै आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने नेताहरु बताएका छन् । दुई अध्यक्षले एकले अर्कोलाई संगिन आरोप लगाउँदै प्रतिवेदन पेश गरेका थिए ।

कात्तिक २८ गतेको सचिलायल बैठकमा दाहालले ओली स्वेच्छाचारी भएको, सरकार असफल भएको, भ्रष्टाचार मौलाएको लगायतका एक दर्जन बढी आरोपसहितको प्रतिवेदन पेश गरेका थिए भने मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले त्यसको जवाफ र प्रत्यारोपसहितको प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन स्थायी कमिटीमा पनि पेश भएको छ ।

दुई अध्यक्षको आरोप प्रत्यारोपसहितको प्रतिवेदनका कारण विभाजनको संघारमा पुगेको नेकपामा प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगबाट अध्यादेश ल्याएपछि थप तरंग उत्पन्न भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१