पानी पिउने सिसाको गिलास स्वास्थ्यका लागि कति सुरक्षित छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७५, आईतवार १८:०२

हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा पानी खाने गिलास जसमा बुट्टा बनाइका थिए, को अध्ययन गरे । यस्ता गिलासमा टमलर्स, बियर र वाइन खाने गिलासका साथै जार पनि समावेश थिए ।

परीक्षण गरिएका १० मध्ये ७ वटा गिलास/टमलरमा लिड र क्याडमियम स्वास्थ्यका लागि हानिकारक मात्रामा पाइयो । लिड र क्याडमियम दुवै मानव स्वास्थ्यका लागि हानिकारक छन् । यस्ता टमलर/गिलासमा बनाइएका बुट्टाका सबै रंगमा र सुनौला पात बुट्टामा लिड पाइयो । क्याडमियमको धेरै मात्रा भने रातो इनामेलमा भेटिएको अध्ययन समूहले बताएको छ ।

‘रंगीन बुट्टेदार सिसाका गिलासको बुट्टा र रंगमा पाइएका दुवै तत्व मानव स्वास्थ्यसँगै पर्यावरणका लागि समेत हानिकारक छन्,’ अध्यय समूहका नेता एन्ड्र्यू टर्नर भन्छन्, ‘सिसाका गिलासको मुख वरिपरि र बाहिरका बुट्टामा लिड र क्याडमियमको यति उच्च मात्रा पाइनु आश्चर्यजनक छ ।’

उनले अमेरिकामा पनि यो समस्या रहेको अनुमान गरे । उनले भने, ‘किनभने यस्ता उत्पादनहरू एसियाबाट आयात गरिन्छन् ।’

क्याडमियमले क्यान्सर हुने सम्भावना हुन्छ । विभिन्न अध्ययनले क्याडमियमका कारण हाडको कडापन हराउने र नरम हुने तथा मिर्गौलामा जटिल समस्या आउने देखाएका छन् । बालबालिकाको शरीरमा लिड प्रवेश गरे, यसले उनीहरूको शारीरिक र मानसिक विकासमा विभिन्न समस्या आउँछन् ।

टर्नरको अध्ययन समूहले यस्ता गिलासमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्तरभन्दा लिडको मात्रा १ हजार गुणा बढीसम्म फेला पारेका थिए ।

अनुसन्धानकर्ताहरूले लामो समय प्रयोग गर्दा रंगका टुक्रा उप्कने गरेको पाएका थिए । यसको अर्थ लामो समय प्रयोग गर्दा यस्ता हानिकारक पदार्थ खाइने सम्भावना पनि देखियो ।

‘यस्ता गिलासको लामो समय प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गर्ने पाइएकाले अन्तर्राष्ट्रिय सिसा उद्योगले तत्काल आवश्यक कदम चाल्नुपर्छ,’ विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा टर्नरले उल्लेख गरेका छन् ।

अध्ययनकर्ताहरूले गत वर्ष ‘स्रेक’ फिल्मको थिममा निर्मित सिसाका गिलासमा गरिएको रंगमा पनि क्याडमियम पाइएपछि फास्टफूड रेस्टोरेन्ट म्याकडोनल्डले यस्ता गिलास बजारबाट फिर्ता गरेको बताए ।

क्याडमियमको साटो प्रयोग गर्न सकिने सुरक्षित वैकल्पिक तत्वहरू बजारमा पर्याप्त उपलब्ध भएकाले यस्तो खतरनाक तत्वको उपयोग गिलास सजाउन गरिनु आश्चर्यजनक र चिन्ताजनक रहेको टर्नरले बताए ।

‘यस्ता प्रतिबन्धित र स्वास्थ्यका लागि हानिकारक तत्वहरू चीन, युरोपेली संघ र अन्यत्र बनाइने सिसाका सामानमा किन प्रयोग गरिन्छ ?’ उनले आश्चर्य व्यक्त गर्दै भने, ‘उपभोक्ताहरूलाई यसबारे सजग पार्नुपर्छ । साथै खुद्रा विक्रेता र सिसाका सामान उद्योगहरूले सजावटका लागि प्रयुक्त हानिकारक पदार्थ/तत्वलाई सामानबाट हटाउनु पर्छ ।’
(यससम्बन्धी अध्ययन साइन्स अफ द टोटल इनभाइरनमेन्ट अनलाइन जर्नलमा प्रकाशित छ ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१