कांग्रेसको पहलमा आज शीर्ष नेताको बैठक, मधेस आन्दोलन र संविधान संशोधन एजेन्डा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७२, शनिबार ०७:३६

च्द्फ्रेकाठमाडौँ ,५ मङ्सिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संसोधन र मधेस आन्दोलनका विषयमा सत्तारुढ दलसँग शनिबार छलफल गर्न लागेको छ। आफ्नो नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयक अघि बढाउन उसले सत्तारुढ दलसँग छलफल गर्न लागेको हो ।

कांग्रेसले शनिबार बिहान नौ बजे संसद् सचिवालयस्थित राज्य व्यवस्था समितिको कार्यालयमा बैठक डाकेको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा तथा उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई आमन्त्रण गरेको कांग्रेसले जनाएको छ।

‘हामीले देशमा देखिएको समस्या समाधानको पहलका लागि सत्तापक्षसँग कुरा गर्ने विषयमा प्रस्ताव गरेका हौँ’ कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ’त्यसैले कांग्रेसको आजै बसेको पदाधिकारी बैठकको निर्णय अनुसार सत्तारुढ प्रमुख दलहरुलाई डाकेर हामीले छलफल गर्न लागेका हौं।’

उनले समानुपातिक समावेसी प्रतिनिधित्वका सुनिश्चिता र जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनेगरी अघिघल्लो सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव अघि बढाउने विषयमा बैठकमा छलफल हुने बताए।

‘पछिल्लो राजनीतिक समस्याको समाधानका लागि संसद्‍मा प्रस्तुत भएका संविधान संसोधन विधेयक अघि बढाउने विषयमा सरकारमा रहका दलससँग बैठकमा कुरा हुन्छ’ प्रवक्ता बडुले भने, ‘मधेससँग गम्भीर भएर वार्ता गर्न पनि कांग्रेसले सरकारका ध्यानाकर्षण गराउनेछ।’

उनले सरकारले मधेसी दलहरुसँग गम्भीरताका साथ वार्ता नगरेको पनि आरोप लगाए।

‘अस्ति पनि सरकारले मधेसीसँग निर्णयक वार्ता गर्ने घोषणा गरेर बिना निर्णय वार्ता टुंग्यायो’ उनले भने, ‘त्यसैले देशको समस्या र नागरिक समस्याप्रति सचेत हुन र मधेससँग जिम्मेवार रुपमा प्रस्तुत हुनका लागि सरकारलाई हामी सम्झाउने छौं।’

उनले अघिल्लो सरकारले प्रमुख तीन दलको सहमतिमा आएको साझा प्रतिबद्धता अनुरुप संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै त्यसलाई अल्झाउने काम गरेर सरकारले अराजनीतिक काम गरिरहेका बताए।

‘संविधान संशोधनको प्रस्ताव एमाले सरकारमा रहेकै बेला सहमतिमा लगिएको विधेयक हो’ उनले भने, ‘त्यसैले त्यसलाई तोडमरोड नगरौं, तत्काल पारित गरौं भन्ने हाम्रो माग हो।’

उनले संविधान संशोधनको विधेयक त्यतिबेला एमाओवादी प्रतिपक्षमा रहेपनि ऊसहित सहमतिमा लगेको पनि बताए।

बडुले कांग्रेसले राष्ट्रिय पुनर्निर्माण विधेयक पारित गर्न रोकेका कारण ढिला भएको भन्दै गलत प्रचारको विषयमा पनि सत्तारुढ दलसँग छलफल गर्ने बताए।

’हामीले उहाँहरुसहित सरकारमा रहेका बेला लगिएको विधेयक तोडमरोड गर्नु आवस्यक छैन भनिरहेका छौं’ उनले भने, ‘उहाँहरुले सरकारमै सहभागी भएर अध्यादेश असफल बनाउनुभयो र अहिले विधेयकलाई पनि आफूखुसी तोडमरोड गरेर लैजाने प्रयास गर्दै हुनुहुन्छ।’

बडुले राष्ट्रिय पुननिर्माण प्राधिकरण एमाले नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगकै जिम्मा दिन लागेको पनि आरोप लगाए। ‘हिजो सहमतिमै प्राधिकरणको संरचना तयार भएको छ, आज आएर त्यसलाई बङ्ग्याउने भत्काउने काम गर्नु हुँदैन’ उनले भने, ‘त्यसलाई स्वभाविक रुपमा अघि बढाइएन भने पुनर्निमाणमा सरकारका नियत उदांगिने छ।’

उनले पुनर्निमाणको विषयमा सत्तापक्ष, प्रतिपक्ष नहुने भन्दै नागरिकलाई समस्याबाट बाहिर ल्याउन आफूहरुले सहयोग गर्न खोजेको बताए।
मधेसी सांसदसँग छुट्टै छलफल

नेपाली कांग्रेसले सरकारसँगको वार्तापछि मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदसँग छुट्टै छलफल गर्न लागको छ। छलफलका लागि कांग्रेसले बिहान ११ बजे संसदीय दलमा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ।

‘अहिले मधेसमा देखिएको समस्याको कसरी समाधान गर्न सकिन्छ र त्यहाँ आन्दोलनमा उठिरहेका मागहरु मध्ये कुन कुन पूरा गर्नै पर्न खालका छन् भनेर हामीले त्यहाँबाट प्रतिनिधित्व गर्न सांसद साथीहरुसँग छलफल गर्न लागेका हौं’ प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, ‘उहाँहरुको धारणा आइसकेपछि हामी त्यसैलाई आधार बनाएर मधेसी दलहरुसँग पनि वार्ता अघि बढाउने छौं।’

उनले मधसी सांसद्हरुका पनि केही कुण्ठा देखिएको भन्दै त्यसलाई छलफलले शान्त पर्न बताए।

उनले मधेसी दलहरुसँग वार्ता गर्न र सरकारसँग पनि कुराकानी गरेर मधेसका जायज माग पूरा गर्न सरकारलाई दवाव दिने बताए।

रमेश वाग्ले/पहिलोपोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१