मधेस आन्दोलन भारतको ‘डिजाइन’मा भएको हो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार ०६:१४

भारतसँग जोडेर न्यायपूर्ण मागको अपब्याख्या भयो
Upendra Yadav

उपेन्द्र यादव
अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

 

पहिचान, संघीयता र समानुपातिक समावेशिकरण सहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेश आन्दोलनलाई बद्नाम गरी यसलाई तुहाउने षड्यन्त्रले नेपाल सरकार, कतिपय मिडिया, विभिन्न पार्टीका नेता र विभिन्न क्षेत्रबाट छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण टिकाटिप्पणी एवं व्यक्तव्यबाजीप्रति संघीय समाजवादी फोरम, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । शदियौंदेखि कायम रहेको नेपाल–भारतको मित्रवत सम्बन्धलाई प्रतिकूल असर पर्ने गरी भइरहेको क्रियाकलापप्रति दुःख व्यक्त गर्दै कहीँकतैबाट यसप्रकारका नकारात्मक टिकाटिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछ ।

यो आन्दोलन मधेशी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको भएकोले यसलाई छिमेकीसँग जोडेर अपब्याख्या गर्नु, अनावश्यक टिकाटिप्पणी गर्नु वा दमन गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो, यसले मुलुकको हित गर्दैन । न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायत माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन । भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।

नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेकोले छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन सबैमा अनुरोध छ । अहिले मधेश-थरुहट क्षेत्रको आन्दोलन उत्कर्षमा पुगेसँगै मुलुकको अन्य भू–भागमा पनि भइरहेको आन्दोलनलाई ढाकछोप एवं दबाउने कोशिस गर्नु अदूरदर्शी सोच हो । मधेश-थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेश आन्दोलनका दौरान भएको २२ बुंदे र ८ बुंदे सम्झौता, आदिवासी जनजाति, खस, थारुसँग भएको सम्झौता, अन्तरिम संविधान २०६३ र पहिलो संविधानसभामा भएको सहमति कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने फोरम नेपालको धारणा प्रष्ट पार्न चाहन्छौ ।

(यादवद्धारा जारी विज्ञप्तीको अंश)

मधेस आन्दोलनमा भारत सहयोगी

Ragu ji panta
रघुजी पन्त
नेता, नेकपा एमाले

जारी संविधानलाई भारतले स्वागत र समर्थन दिएको छैन। संविधान जारी गर्ने कार्यलाई नै उसले बेसमयमा आएर रोक्न खोज्यो। संविधानसभाले संविधान पारित गर्दैगर्दा उसले प्रष्ट देखिने गरी हस्तक्षेप गर्न खोज्यो । तैपनि भारतको आग्रहलाई स्वीकार गर्दै दुई दिन संविधान सभा बैठक रोकियो। तर पनि तराई मधेशका दलहरु वार्तामा आएनन्।

भारतले एकातिर तराईमा आन्दोलन गरिरहेका तराईमधेशका दलहरुले गरेका तोडफोड र हिंसात्मक गतिविधिलाई आलोचना गरेको छैन। आन्दोलनलाई शान्तिपूर्ण र संयमित बनाउन भनेको छैन। बरु उल्टो उनीहरुलाई सघाउ पुर्‍याइरहेको देखिन्छ। तर, सरकारलाई चाहिँ समाधान खोज्न दबाब दिने काम गरिरहेको छ। आन्दोलनरत दलहरुलाई वार्तामा बस्न र वार्ताबाट समाधान खोज्न भनेको छैन । भारतप्रति सधैं मैत्रीभाव राख्ने छिमेकी नेपालप्रति भारतले सदायसता र मित्रभाव राख्नुपर्ने यो घडीमा संयमता, मैत्री भाव र सुझबुझ  देखाउन नसक्नुको कारण के हो? नेपाली जनता र तिनका राजनीतिक दलहरुले आफ्नो संविधान आफैं बनाए भनेर भारत बेखुशी हुनुपर्ने किन?

नेपाल सरकार र तीन दलले तराई मधेशमा आन्दोलनरत दलहरुलाई पटकपटक आव्हान गरिसकेका छन्। तर वार्ताको आव्हानलाई उनीहरुले अस्वीकार गरिरहेका छन्। यो तथ्यका आधारमा पनि भारतले नेपाल सरकारलाई मात्र एककोहोरो दबाव दिइरहनु उचित देखिँदैन। वार्तामा नआइरहेको दलहरुलाई वार्तामा जाने सुझाव र दबाव भारत सरकारले दिनु जरुरी छ। होइन भने यो नेपालको आन्तरिक मामला हो भनेर भारत सरकार तटस्थ बस्नुपर्छ।

भारत एउटा ठूलो लोकतन्त्र हो तर त्यहाँ पनि आन्तरिक समस्याहरु छन्। काश्मिरको समस्या बर्षौंदेखि त्यहाँ समाधान भएको छैन। बर्षौंदेखि त्यहाँ बेलाबेला कर्फ्यु लाग्ने गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागी आन्दोलनकारीहरु मर्ने गरेका छन् भने सुरक्षाकर्मी माथि पनि आक्रमण हुने गरेको छ। पञ्जाबको खालिस्तानमा आन्दोलन चर्कँदा भारतमा उग्रवादको ठूलो समस्या देखापरेको थियो। नागाल्याण्ड, मिजोरम र आसाम लगायतक ठाउँमा पृथकतावादी र उग्रवादी समस्या अझै छ।भारतीय नेपालीहरुले मागेको गोर्खाल्याण्डको आन्दोलन अझै जारी छ। त्यस्तै नयाँ नयाँ राज्यको माग त्यहाँ जारी छ भने माओवादी समस्या पनि जटिल अवस्थामा छ।

भारतमा रहेका यस्ता आन्तरिक द्वन्द्वका घटनाहरुमा कतिपय स्थानमा नेपालीहरु समेत मारिएका छन्। भारतमा सेना र पुलिस पनि नेपालीहरु छन् भने अन्य कामदारका रुपमा  पनि नेपालीहरु रहेका छन्। यस्ता द्वन्द्वमा त्यहाँ कार्यरत नेपालीहरु पनि पर्ने गरेका छन्।

भारतमा रहेका आन्तरिक द्वन्द्वका घटनाहरुमा नेपाल जहिले पनि भारतीय जनता र भारत सरकारको पक्षमा रहँदै आएको छ। सधैं भारतको प्रगति र त्यहाँका जनताको समुन्नतिको पक्षमा नेपालले व्यवहार गरिरहेको छ। तर नेपालप्रति यस्तै उदारता देखाउन भारत सरकार पछि पर्ने गरेको छ। भारतको सुरक्षा चिन्ताप्रति  नेपालले चासो र सद्भाव देखाएका छ र नेपाली भूमिबाट भारतविरोधी गतिविधी हुन दिएका छैन।

तर भारतले हाम्रो सद्भाव र मित्रताको सट्टा हाम्रो आन्तरिक मामलामा खेल्ने र अनावश्यक दबाव दिने गरेको छ। नेपाललाई अप्ठ्यारोमा पारेर आफ्ना अनुचित शर्तहरु पुरा गराउन चाहन्छ। यतिबेला पनि भारतले यही गरिरहेको र नेपाललाई अनुचित दबावमा पार्न र आफ्ना अनुचित शर्तहरु मनाउन खोजिरहेको अनुभव नेपाली जनताले गरेका छन्। भारतको यो व्यवहारले नेपालमा भारत विरोधी भावना झन् बढाइरहेको छ भन्ने तथ्य भारतले बुझ्नु पर्दछ। हामी भारतीय लोकतन्त्र सुदृढ र भारतीय जनता समृद्ध भएको हेर्न चाहन्छौं। के भारत नेपाली लोकतन्त्र बलियो भएको र नेपाली जनता समृद्ध भएको हेर्न चाहँदैन? यो प्रश्न नेपाली जनताको भारतप्रतिको प्रश्न हो। के यसको उत्तर भारतको व्यवहारबाट पाउन सकिएला?

(सेतोपाटीमा प्रकाशित लेखको अंश)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१