को हुन् शक्ति बस्नेत ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७२, आईतवार ०६:३१
timthumb (2)एकिकृत माओवादीको भागमा परेको गृह मन्त्रालयमा अन्ततः शक्ति बस्नेत पुगेका छन्।
मन्त्रीमण्डलमा सबभन्दा आकर्षक मन्त्रालयमध्ये पर्ने गृहमा नेता कृष्णबहादुर महरा तथा पूर्व लडाकु–कमान्डर जनार्दन शर्माजस्ता हस्तीलाई उछिन्दै बस्नेत मन्त्री बनेका हुन्।
विकट जाजरकोट जिल्लाबाट राजनीति सुरु गरेका ४३ वर्षीय बस्नेत पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालका अत्यन्तै निकट सहयोगी हुन्।
उनी सधैं दाहालनिकट भने थिएनन्।
तत्कालीन भूमिगत माओवादीले चुनवाङ बैठकमार्फत बहुदलीय राजनीतिमा हाम फाल्ने निर्णय गरेको थियो। उक्त ‘ऐतिहासिक’ निर्णयलाई शंकास्पद ढंगले हेर्ने युवा पुस्ताका नेतामध्ये एक हुन् शक्ति बस्नेत। उनीसँगै यो समूहमा थिए, नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, खड्गबहादुर विश्वकर्मा र रविन्द्र श्रेष्ठ लगायत नेता।
पार्टीको नयाँ नीतिलाई चुनौती दिने उक्त युवा समूह टुक्र्याउनु अध्यक्ष दाहालका निम्ति आवश्यक थियो।
त्यतिबेला संसदीय राजनीतिमा होमिनुहुन्न भन्ने मान्यता राख्ने बस्नेतले पहिलो संविधानसभा निर्वाचनमा भागसमेत लिएनन्। पहिलो संविधानसभाको नतिजा र त्यसले ल्याएको नयाँ राजनीतिक अवसरसँगै बस्नेतको बाटो पनि बदलियो। दाहालले उनलाई स्वकीय सचिवमा नियुक्त गरे।
पार्टीको आधार इलाकामा पकड जमाएका बस्नेतलाई आफ्नो पक्षमा ल्याउनु दाहालका निम्ति ठूलै राजनीतिक जित थियो। पार्टी ‘हार्डलाइनर’ टुक्रने क्रमसँगै बस्नेत झनै दाहालनिकट हुँदै गए।
त्यसपछिका दिनमा बस्नेत सधैंजसो शक्तिमा रहे। पछिल्लो समय उनकी श्रीमती सत्या पहाडी शान्ति तथा पुनर्निर्माण मन्त्री बनिन् भने बस्नेत स्वास्थ्यमन्त्री।
बस्नेतको राजनीतिक जीवन भने ०४६–४७ बाट मात्र सुरु भएको हो। जन–परिचालनमा निपूर्ण मानिएका उनी ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य भएका हुन्। त्यसपछि पार्टीको सबभन्दा माथिल्लो निकाय स्थायी समिति सदस्य बने।
दाङको महेन्द्र बहुमुखी क्याम्पस र जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा विद्यार्थी रहेका बस्नेत आफ्नो पढाइ पूरा नगरी भूमिगत भएका थिए।
पछिल्लो समयमा जसरी पनि संविधान बनाउनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन् बस्नेत। संविधान निर्माण प्रक्रिया रोकेर मधेसवादी दलसँग जसरी पनि सम्झौता गर्नुपर्छ भन्ने बाबुराम भट्टराईको अडानविरुद्ध उनी कडा रूपमा प्रस्तुत भएका थिए।
बस्नेतलाई पार्टीको ‘राष्ट्रवादी’ कित्तामा राखेर हेर्ने गरिन्छ। उनले बाबुरामको पछिल्लो भारत भ्रमणबारे पार्टीमा कडा आलोचना गरेका थिए। बाबुरामले भारतमा दिएको अन्तर्वार्ताले राष्ट्रिय स्वाभिमानमा आँच आएको उनको भनाइ थियो।
पार्टीको स्थानीय स्तरमा पकड हुनुका साथै दाहालसँग निकटताका कारण नै राष्ट्रिय राजनीतिमा उनको उदय भएको हो। कृष्णबहादुर महरा, जनार्दन शर्माजस्ता नेता तुलनात्मक रूपले स्वतन्त्र ढंगले काम गर्छन् भने बस्नेत दाहालसँग अत्यन्त निकट छन्। यसै कारण पनि उनी दाहालको रोजाइमा परेको पार्टी नेताहरूको भनाइ छ।
setopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१