मासिक शुल्क नतिर्दा पूरक परीक्षा दिनबाट बञ्चित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ श्रावण २०७२, आईतवार १७:३९

गौरव पोखरेल
झापा, २४ साउन । विद्यालयलाई बुझाउनु पर्ने मासिक शुल्क नतिर्दा एक संस्थागत विद्यालयका विद्यार्थी प्रवेशिका परीक्षा अन्तर्गतको पूरक परीक्षा दिनबाट बञ्चित भएका छन् । झापा चकचकीस्थित नमुना अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी विपिन कटुवाल मासिक शुल्क तिर्न नसक्दा परीक्षा दिनबाट बञ्चित भएका हुन् । गत चैत्र ६ गतेदेखि १३ गतेसम्म सञ्चालित प्रवेशिका परीक्षाको नतिजा अनुसार कटुवाल विज्ञान विषयमा अनुत्तीर्ण भएका थिए । शनिबार हुने विज्ञान विषयको मौका परीक्षाको सम्पूर्ण तयारी पूरा गरी विहान उनी आफ्नो परीक्षा केन्द्र सुरुङ्गास्थित कनकाई उच्च माध्यमिक विद्यालयको गेटसम्म आए । मौका परीक्षा दिएर फलामे ढोका तोड्ने उनको लक्ष्य थियो ।

slcतर, परीक्षा दिन आएका उनलाई आफ्नो विद्यालयको संस्थापक प्रिन्सिपल रामकुमार राजवंशीले विद्यालयको हाता बाहिरबाटै अपहरणको शैलीमा कतै लगेको उसँगै परीक्षा दिन आएका सहपाठी परीक्षार्थीहरुले जनाए । “यस विद्यार्थीले विद्यालयमा मासिक शुल्क वापत ४२ हजार रुपैयाँ बुझाउन बाँकी छ ।” परीक्षा शुरु हुन १० मिनेट अगाडी संस्थापक प्रिन्सिपल राजवंशीले परीक्षा केन्द्राध्यक्ष ईश्वरीप्रसाद शिवाकोटीलाई भनेका थिए, “त्यसैले परीक्षा दिन रोकिदिनु होला ।” शिवाकोटीले विद्यार्थीलाई परीक्षा दिनबाट रोक्न नमिल्ने जवाफ दिए । “हवस् त ठीकै छ त्यसो भए ….”, भन्दै निस्किएका प्रिन्सिपलले त्यसपछि मौका परीक्षा दिन आएका त्यस विद्यार्थीलाई एकाएक गायब बनाए । परीक्षा शुरु हुने बेलासम्म पनि परीक्षा हलमा विपिन प्रवेश नगरेपछि परीक्षार्थी र परीक्षाको सुरक्षार्थ खटिएका प्रहरी भरतबहादुर थापाले शिक्षक राजवंशीको मोबाइल नम्बर ९८१४०४३०२१ मा सम्पर्क गर्दा फोन लागे पनि उठेन । ००४७८३८ ‘एक्स’ सङ्केत नम्बर भएका विपिनले मासिक शुल्क नतिरेकै कारण एसएलसीको मौका परीक्षा दिनबाट बञ्चित भएपछि सञ्चारकर्मीले उनका साथी किरण पाठकलाई यो समाचार तयार पार्दा सम्पर्क गरी सोध्दा उनले आफ्नो साथी विपिन त्यति वेलासम्म सम्पर्कमा नभएको बताए ।

“विद्यालयको शुल्क तिर्न पटकपटक अभिभावकलाई विद्यालयले आग्रह गरेको थियो ।”, विपिन अध्ययनरत विद्यालयमा समाजिक शिक्षा पठाउने शिक्षक रामकुमार गौतमले भने, “शनिबार विहान म उसको घरमा पनि गएको थिएँ । परीक्षा दिनबाट बञ्चित गरेको कुरा चाहिँ मलाई थाहा छैन ।” यता, यस विषयमा झापाका सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टलाई सोध्दा उनले फारम भरेर प्रवेश पत्र पाइसकेको विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गर्न नपाइने बताए । “फारम भरेकै छैन भने त पाइँदैन”, विष्टले भने, “प्रवेश पत्र आइसकेको विद्यार्थीलाई प्रवेशिका परीक्षा दिनबाट रोकिएको भए त्यस विषयमा हामी छलफल गर्छौं ।” मासिक शुल्क नतिरेकै कारण विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण परीक्षा एसएलसी दिनबाट बञ्चित गराइनु निकै दुखद् कुरा भएको उनका साथीहरुले दुखेसो पोखे । प्रवेशिका परीक्षा अन्तरगतको पूरक परीक्षामा नेपाल भरीबाट एक विषय मात्रै ५५ हजार ४ सय ७४ जनाले परीक्षार्थी रहेका छन् भने दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना रहेका छन् । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २० गतेबाट शुरु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१