सानो पेट दुख्ने समस्या (डिस्मेनोरिया)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार ०६:४९

Kidney-stone० डा. सुमनराज ताम्राकार
नर्सिङ्ग विषयको प्रमाणपत्र तहमा अध्ययनरत रमिलालाई महिनावारीका क्रममा एक्कासी तल्लो पेटमा अत्याधिक भएका कारण आकस्मिक कक्षमा ल्याई पु¥याए । आवश्यक जाँच पड्ताल पछि एक मात्रा पीडा कम गर्ने इन्जेक्शन दिएपछि निकै आराम महसुस गरिन् । किशोरीवस्थामा पुगेकाहरु मध्येका करीब १० प्रतिशतका प्रतिनिधि पात्र मात्र हुन् – रमिला । कुनै कारणविनाको (प्राथमिक) र कारक तत्व सहितको (सेकेण्डरी) गरी दुई प्रकारको हुने डिस्मेनोरिया (पीडादायी महिनावारी) समस्याका कारण कतिपय किशोरी वा महिलाले प्रत्येक महिना अनाहकमा शारीरिक तथा मानसिक तनाव व्यहोर्न कर लाग्दछ ।
मेडिकल भाषामा महिनावारीको बेला सानो पेट दुख्ने समस्यालाई डिस्मेनोरिया भनिन्छ । तर यसले व्यवहारिक रुपमा किशोरी वा महिलाको दैनिक क्रियाकलापमा असर पुग्ने गरी हुने पिडादायी महिनावारीलाई बुझाउँछ ।
प्राथमिक प्रकारको डिस्मेनोरिया
यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा स्पष्ट रुपमा कुनै समस्या देखिदैन । करीब ५ देखि १० प्रतिशत किशोरी वा महिलाहरुमा यस्ता खाले डिस्मेनोरिया हुन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिन जस्ता कतिपय पिडा कम गर्ने औषधिको प्रादुर्भाव पछि यस्ता खाले डिस्मेनोरियामा उल्लेखनीय कमी आएको छ ।
प्रायसः किशोरीवस्थामा हुने, डिम्व निस्कने खालको महिनावारीसँग सम्बन्धित प्राथमिक प्रकारको डिस्मेनोरियामा सानो पेट दुख्न शुरु हुनाको कारण ठ्याक्कै थाहा छैन । गर्भावस्था तथा योनीद्धारबाट सुत्केरी भएपछि निराकरण हुने यस्ता खाले डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याई तथा पाठेघरमा अक्सिजन अभाव हुनाले हुने गरेको विश्वास गरिएको छ ।
किशोरीवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमीका साथै पाठेघरको मुख साँगुरिने, जन्मजात रुपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्याधिक मात्रामा भ्यासोप्रेसीन (पाठेघर खुम्चाईलाई बढाउने रासायानिक पदार्थ) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्त संचार घटाउने रासायानिक पदार्थ) को उत्पादनले गर्दा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ ।
महिनावारी शुरु भएको दुईवर्षसम्म यस्ता खाले डिस्मेनोरिया हुन सक्छ । प्रभावित किशोरीकी आमा तथा दिदीलाई पनि यस्तै समस्या भएको हुन सक्छ । सभ्रान्त परिवारकी महिलामा बढ्ता देखिन्छ ।
प्राथमिक प्रकारको डिस्मेनोरिया महिनावारी शुरु हुनु केही घण्टा अगाडिदेखि वा महिनावारीको शुरुवात सँगै सानो पेट दुख्ने कार्य शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्दछ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने हुन सक्छ । तर पेट वा जनेन्द्रियको आन्तरिक जाँचमा त्यस्तो कुनै खराबी भने भेटिँदैन ।
प्राथमिक प्रकारको उपचारको लागि किशोरीको स्वास्थ्य स्थिति सुधार्न पोषिलो खानेकुरामा ध्यान दिनुका साथै पिडा हुनुको कारण प्रष्ट्याउने, ढाडस दिने लगायत मानसिक टेवा दिनु पर्दछ । यस्तो बेला खेलकूद, टेलिभिजन, योगा लगायतका आफ्ना रुचीकर कार्यमा संलग्न हुनु पर्दछ । नियमित रुपमा दिसा गरी तल्लो आन्द्रा खाली राख्नु पर्दछ । मेफेनेमिक एसिड, ब्रुफेन, नेप्रोक्सिन लगायत पिडा कम हुने औषधिहरु महिनावारी भएको केहि दिनसम्म प्रयोग गर्न सकिन्छ ।
अविवाहित बाहेक परिवार नियोजन चाहने, बढ्ता रक्त बहाव हुने तथा पिडा कम हुने औषधि बाट पनि उल्लेखनीय सुधार नभएकामा पिल्स चक्की चलाउन सकिन्छ । तर कसैकसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणाली शिथिल बनाउने सामान्य शल्यक्रियाको जरुरत पर्न सक्दछ ।
के हो मिट्टलसमर्ज सिण्ड्रोम ?
डिम्ब निष्काशनमा हुने पिडा त्यति साह्रो विरलै हुने समस्या चाहिँ होइन । यस्तो पिडा महिनावारीको मध्यताका देखा पर्दछ । नाइटोमुनि वा तल्लो पेटको दायाँ वा बायाँतिर हुने यो पीडा १२ घण्टा भन्दा लामो समयसम्म रहँदैन । मिट्टलसमर्ज सिण्ड्रोमसँगै योनीबाट हल्का रक्तश्राव र अत्याधिक योनीश्राव हुन सक्छ । यसो हुनाको कारण भने प्रष्ट छैन । डिम्बभित्र अत्याधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिडचिडाहट एवं डिम्बबाहिनी नली तथा पाठेघरको खुम्च्याइको कारणले यस्तो पिडा भएको विश्वास गरिन्छ । ढाडस तथा पिडा घटाउने सामान्य औषधिबाट यो पिडा कम गर्न सकिन्छ ।
सेकेण्डरी प्रकारको डिस्मेनोरिया
यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा उत्पन्न भएको समस्याको कारण पिडादायी महिनावारी हुन्छ । महिनावारी अगाडि स्त्री जनेन्द्रिय (पुठ्ठा भित्रको प्रजनन अङ्ग) हरुमा रक्तसंचार बढ्नाले यी अङ्गहरुमा तनाव बढ्छ र पीडा महसुस हुन्छ । जीर्ण प्रकारको स्त्री जनेन्द्रिय सम्बन्धी संक्रमण, सानो पेट वरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस), उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति (एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासु झोलिने समस्या (पोलिप) तथा पाठेघरमा राखेको कपरटीका कारण यस्तो खाले डिस्मेनोरिया हुन्छ ।
यस्तो प्रकारको डिस्मेनोरिया भएका महिलाको उमेर करीब ३० वर्ष नाघेकी एवं बच्चा पाइसकेकी हुन्छ । यस्तो खालको पिडा तल्लो पेट र ढाडमा हुन्छ । प्रायसः महिनावारी शुरु हुनु ३ देखि ५ दिन अगाडि पेट दुख्न शुरु भई महिनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ । पिडाको शुरुवात तथा अवधि पिडाको कारक तत्वमा भर पर्दछ । वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता अन्य लक्षण चिन्ह हुँदैन । तर पिडादायी महिनावारी हुनाको अन्तरनिहित कारण जस्तै कि इन्डोमेट्रिओसिस, एडेनोमायोसिस, फाइब्रोइड तथा पोलिप आदिका छुट्टै लक्षण चिन्हहरु भने देखा पर्दछ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण एवं अल्ट्रासाउण्ड, ल्याप्रोस्कोपी लगायतका विशेष खाले परीक्षणहरुबाट कारक तत्व निक्र्यौल गर्न सकिन्छ ।
सेकेण्डरी प्रकारको डिस्मेनोरियाको निराकरणका लागि कारक तत्वलाई लक्षित गरि उपचार गनुपर्दछ । अधिकांश समस्यालाई शल्यक्रियाको जरुरत परेपनि समस्याको गम्भिरता, प्रताडित व्यक्तिको उमेर तथा बच्चा पाउने चाहना अनुसार उपचारको छनौटमा भिन्नता आउँछ । शल्यक्रिया नगरुन्जेल वा शल्यक्रिया गर्ने उपयुक्त समय पर्खुन्जेल औषधि सेवनबाट पनि यस्तो खाले डिस्मेनोरियालाई नियन्त्रणमा राख्न सकिन्छ ।
घरेलु उपचार
महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) बाट छुट्कारा पाउन कतिपय घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ । अदुवा पानी तताएर पिए आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवं व्यायाम र घुमफिर गर्नाले आफ्नो ध्यान अन्यत्र मोडिने हुनाले फाइदै पुग्दछ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१