‘हात्तीपाइलेको औषधि खान डराउनु पर्दैन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ फाल्गुन २०७१, शुक्रबार १६:२६

index40बाँके १५ फागुन । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरे स्वास्थ्यमा कुनै असर नपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । हात्तीपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा बाँकेका बरिष्ठ जनस्वास्थ्य प्रशासक नगेन्द्रप्रसाद चौधरीले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने नभई फाइदा पुग्ने बताए ।
उनले औषधि सेवन गरेपछि कसैकसैलाई वाकवाकी लाग्ने, रिङ्गाटा लाग्ने, बमेट (उल्टी) हुने, सामान्य ज्वरो आउने, पेट धुम्म भएका जस्तो हुने जस्ता समस्या देखिन सक्ने जानकारी दिए ।
‘जसको शरिरमा हात्तीपाइलेका परजिवी धेरै छन् औषधि सेवन गरेपछि त्यस्ता ब्यक्तिलाई विभिन्न किसिमका असरको संकेत देखिन सक्छ’–बरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले भने–‘यो लक्ष्यण विस्तारै हराउँदै जान्छ, डराउनु पर्दैन ।’
औषधि सेवनपछि असर देखिनु नराम्रो नभई राम्रो भएको चौधरीको भनाई छ । हात्तीपाइलेका परजिवी मर्ने भएकोले यस्तो संकेत देखिने गरेको बताउँदै उनले संकेत देखिदैमा डराउनु पर्दैन । ‘परजिवी धेरै भएकोले पहिलो वर्ष औषधि सेवनगर्दा विभिन्न किसिमका समस्या देखिएको हो’–उनले भने–‘पहिलो वर्षको तुलनामा पछिल्ला वर्षमा असर कम हुँदै गएका छन् ।’
विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको औषधि भएकाले डराउन नहुने जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले असर गर्ने डरका कारण ३७ दशमलव २ प्रतिशतले हात्तीपाइलेको औषधि नखाएको तथ्यांक पेश गरे ।
विरामी भइन्छ भन्ने सोँचाईका कारण १२ दशमलव ५ प्रतिशत, घर बाहिर गएका कारण १३ दशमलव १, सचेतनाको कमीले १२ दशमलव ५, औषधि आवश्यक छैन भन्ने ८ र औषधि नपाएर सेवन नगर्नेमा ४ दशमलव ९ प्रतिशत रहेको शर्माले बताए । उनले भने–‘पहिलो वर्ष अर्थात सन् २०११ मा पहिलो पटक संचालन भएको अभियानमा बाँकेका ९१ प्रतिशतले सेवन गरेता पनि सन् २०१४ मा ७३ प्रतिशतलेमात्र औषधि सेवन गरे ।’
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पहिलो वर्ष औषधि सेवन गरेपछि अनेकौं समस्या देखिएपछि सन् २०१२ मा केवल ५३ प्रतिशतमा झरेको थियो भने सन् २०१३ मा बढेर ६६ प्रतिशत पुगेको थियो । लक्ष्य पूरा गर्न यसपालीको अभियानमा विशेष ध्यान दिइएको जनस्वास्थ्यले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१