सुनको सिक्री लुट्ने प्रहरीको फन्दामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ माघ २०७१, बुधबार ०६:२०

सरोज बस्नेत, उर्लाबारी, १४ माघ। मोरङको राजघाट गाविसको दुर्गापुरी बजारबाट घरतर्फ जाने क्रममा राजघाट–५ गुरुङ टोलकी २३ वर्षीया विष्णुमाया गुरुङको सिक्री आइतबार लुटियो । करिब १ बजेको समयमा घाँटीमा लगाएको एक तोलाको सिक्री साइकलमा घर जानेक्रममा लुटिएपछि उनले राजघाट प्रहरी चौकीमा हारगुहार गरिन् ।

 राजघाट प्रहरी चौकीले तत्कालै इलाका प्रहरी कार्यालय उर्लाबारीमा घटना बारेमा जानकारी गराएर आफ्नो टोली परिचालन गरेको चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शशीकान्त झाले बताए । महिलाको सिक्री लुटिएको खबर प्राप्त हुनासाथ खोजीमा निस्किएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीको टोलीले दुई घण्टाभित्रै सिक्री लुट्ने राजघाट–६ का २३ वर्षीय किरण लिम्बूलाई पक्राउ गर्न सफल भयो ।
 नम्बर पोतिएको रातो रंगको मोटसाइकलमा कालो ज्याकेट लगाएको मंगोलियन अनुहारको युवकले सिक्री लुटेको खबर पाएपछि प्रहरी परिचालन गरिएको थियो । हुलियाको आधारमा सिक्री लुट्ने लिम्बूलाई उर्लाबारी–४ स्थित रिजन होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लिम्बूको साथबाट को १० प ८४२ नम्बरको रातो मोटरसाइकलसहित रिजन होटलको कोठा नं.१०१ मा कार्पेटभित्र लुकाइराखेको १ तोला सुनको सिक्री फेला पारेको छ ।
 १० दिनदेखि सोही कोठामा बस्दै आएका सुस्मा राई र ममता लिम्बूलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् । लिम्बूको कोठाबाट पक्राउ परेका युवतीहरुले दमकको साइनो होटलमा काम गर्ने गरेको बताएका छन् । त्यस्तैगरी माघ ९ गते इटहरा–५ र ७ को सीमानामा दिउँसो साइकलमा यात्रा गरिरहेका तीन जना युवतीहरुमध्ये इटहरा–६ की नविना जोगीको दुई तोलाको सुनको सिक्री लुटिएको थियो । पीडित जोगीका अनुसार रातो रंगको पल्सर मोटसाइकलमा कालो ज्याकेट र माक्स लगाएका युवकले घाँटीमा लगाएको सिक्री तानेर भागेका थिए । उनले तत्काल अस्थायी प्रहरी चौकी दाम्राभिट्टामा जानकारी गराएपनि सिक्री लुट्ने पक्राउ पर्न सकेको थिएन ।
 सो सिक्री लुट्ने पनि लिम्बू नै भएको प्रहरीको आशङ्का छ । यस विषयमा लिम्बूसँग बुझ्दा पारिवारीक समस्याका कारण होटलमा बसेको र बाध्यता भएकै कारण सुन आफूले लुटेको स्वीकार गरेका छन् । तर, प्रहरीले भने लिम्बू योजनाबद्ध रुपमा सिक्री लुट्ने कार्यमा सक्रिय रहेको दाबी गरेको छ । लिम्बूले दक्षिणी मोरङका ग्रामीण क्षेत्रमा लुटपाट गर्ने गरेको र उनका अन्य समूहको समेत खोजी भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।
केही समयअगाडि पूर्वी मोरङको उर्लाबारी, राजघाट, पथरी लगायतका विभिन्न क्षेत्रहरुमा सिक्री लुटिने क्रम बढे पनि प्रहरीले लुटेराहरुलाई पक्राउ गर्न सकेको थिएन । बढी भीडभाड र एकान्त स्थानमा लुटपाटका घटना हुने गरेको प्रहरीले जनाएको छ । सिक्री लुट्ने र सडकमा हिंड्ने व्यक्तिमाथि हुने अपराधलाई प्राथमिकतामा नराख्ने गरेकाले अपराधीको मनोबल बढेको जानकारहरू बताउँछन् । लुटपाट गरिएका सुनका गरगहना सहजै बजारमा बिक्री हुने गरेकाले पनि यस्ता घटना बढ्दै गएका हुन् । सुनका गरगहना आधा मूल्यमा सुन पसलेले खरिद गरिदिने गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१