बलात्कारविरुद्ध अभियान कार्यक्रम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७१, मंगलवार ११:४४

काठमाडौँ, २२ पौष  । नेपाल महिला न्यायाधीश मञ्चद्वारा बलात्कारविरुद्ध अभियानअन्तर्गत कीर्तिपुरस्थित पाङ्गा माध्यमिक विद्यालयमा बालबालिकालाई दुईदिने सचेतना कार्यक्रमको आयोजना गरियो । प्रमुख अतिथि तथा युनिसेफकी पूर्व कार्यक्रम अधिकृत शान्ता खड्गीले सो कार्यक्रमको सोमबार उद्घाटन गर्दै स्कुल, काम गर्ने ठाउँ, सार्वजनिक ठाउँमा दिनप्रतिदिन बढ्दै गइरहेको बलात्कारका घटनालाई कम गर्न मञ्चबाट स्कुलका बालबालिका लागि लक्षित गरी सञ्चालन गरिएको अभियान सान्दर्भिक भएको बताउनुभयो ।

युएनले महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलनसम्बन्धी महासन्धि अनुमोदन गरिसकेको अवस्थामा नेपालमा पनि हरेक बालबालिकाले बाँच्न, संरक्षण पाउने र विकास गर्ने अवसर पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल महिला न्यायाधीश मञ्चकी अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदा श्रेष्ठले सभापतिको आसनबाट बालबालिका र अभिभावकलाई बलात्कारविरुद्ध सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा मञ्चकी उपाध्यक्ष गौरी ढकालले मञ्च तथा कार्यक्रमबारे जानकारी गराउनुभयो ।

पाङ्गा माविका प्रधानाध्यापक रमेश महर्जन, विद्यालय व्यवस्थापनका अध्यक्ष नन्दबहादुर महर्जनलगायतले कार्यक्रमबाट विद्यालयका बालबालिका लाभान्वित हुने बताउनुभयो ।

दुईदिने बलात्कारविरुद्ध सचेतना कार्यक्रममा विद्यार्थी, अभिभावक तथा महिला समूहका सदस्यलाई नेपालमा भइरहेको बलात्कारका घटनाको किसिम, बलात्कारसम्बन्धी घटनामा प्रहरीको दायित्व, बलात्कारसम्बन्धी मुद्दामा हुने अदालती कारबाही र कानुनी प्रक्रिया, निःशुल्क कानुनी सेवा कसरी प्राप्त गर्नेलगायत विषयमा जानकारी र छलफल गरिने मञ्चले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१