एसएमएसको भाषा आपत्तिजनक भएकोमा सरोकारवालाहरुद्वारा विरोध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७१, मंगलवार ०६:०३
  • संस्थाले अझै गल्ती स्वीकार गरेनMobile_SMS_bnenge_Sarkari_Dastawez

    काठमाडौं, ८ पुस  – ‘तेर दे जोम फाउण्डेसन लोनाज (टिडिएच)’ नामक संस्थाले खुलेआम यौन ब्यवसायसंग सम्बन्धीत गलत एसएमएस पठाएको भन्दै केन्द्रीय बाल कल्याण समितिले स्पष्टिकरण सहित उपस्थित हुन पत्र पठाएको छ ।

    संस्थाले ‘काठमाडौं उपत्यका भित्र किशोरकिशोरीहरु व्यावसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि यति यति नम्बरमा फोन गर्नुहोला ।’ भन्ने सन्देश शुक्रबार तीन लाख नेपालीको मोवाइलमा पठाएको थियो ।

    उक्त एसएमएसले बालबालिका देखि सम्पूर्ण अविभावकसमेतलाई नकारात्मक असर पारेको भन्दै समितिले स्पष्टिकरण सोधेको हो । सोमबार पठाएको पत्रमा उक्त एसएमएसमा समितिको ध्यानाकर्षण भएको बताइएको छ । ‘बालसंबेदनशिलतारहित तथा आम रुपमा कानुन निशेधित कार्य गर्न अभिपे्ररित गर्ने अर्थ लाग्ने गरी एसएमएस के कसरी कुन क्षेत्राधिकार भित्र रही के उदेश्य प्राप्तीका लागि मोवाइल मोवाइलमा पे्रसित गरिएको हो ? सो सम्बन्धमा लिखित जवाफ सहित समितिको कार्याकक्षमा उपस्थित हुन अनुरोध छ’ सोमबार पठाएको पत्रमा उल्लेख छ ।

    यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उदेश्यले सञ्चालन गरिएको बताउँदै आएको उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गरी आफुहरुले अनुसन्धानका लागि यस्तो एसएमएस पठाएको जनाएको छ । ‘हामीले यौनशोषणमा परेका बालबालिकाको अवस्थाबारे  अनुसन्धानका लागि जनताको सहयोग जरुरी भएकाले यस्तो एसएमएस पठाएका हौं,’ संस्थाका प्रतिनिधि नवजीत कर्माचार्याले भने, ‘तर, एसएमएस प्रति आम जनताको बुझाइ अन्यथा भएको नकारात्मक प्रतिक्रिया आएको हो ।’

    संस्थाले आफुहरुले यौन व्यवसायमा संलग्न क्रियाकलापबाट किशोरकिशोरीहरुलाई बाहिर निकाल्ने प्रयास गर्दै मोवाइल मार्फत अभियान चलाएको जनाएको छ । एसएमएसको भाषा गलत भएको बारे संस्थाले स्वीकार गरेको छैन ।

    एसएमएस जुनसुकै उदेश्यले पठाएको भए पनि भाषा गलत भएको पत्रकार सम्मेलनमा सहभागीहरुले जानकारी गराएका थिए । बालबालिकासंग काम गर्ने संस्थाले बालबालिकाप्रति संबेदनशील भएर भाषा प्रयोग गर्नुपर्ने सुझाब समेत दिएका थिए ।

    एसएमएसले व्यक्तिगत जीवनमा समेत तनाब ल्याएको एक व्यक्तिले पत्रकार सम्मेलनका क्रममा बताएका थिए । ‘तपाईको एसएमएसले झण्डै मेरो घर व्यवहार बिगार्‍यो,’ उनले भने, ‘राती ११ बजे मोवाइलमा यस्तो एसएमएस देखेपछि मेरो मात्र होइन अधिकांशलाई समस्या पर्‍यो होला ।’

    बाल अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको साझा सञ्जालले यस एसएमएस प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले सोमबार एक विज्ञप्ती जारी गरी ‘एसएमएस जे जुन उद्येश्यले लेखिएको र प्रसारित गरिएको भए पनि उक्त एसएमएस बाल संबेदनशीलता, बालसंरक्षण, बालमनोबिज्ञान समेतका हिसाबले अत्यन्तै गलत र आपत्तिजनक एवं निन्दनीय भएको’ जनाएको छ । जनचेतना अभियानका लागि भनी प्रेसित उक्त एसएमएस बाल संबेदनशीलता बिरुद्ध रहेको देखिएको छ ।

    ‘काठमाडौं उपत्यका भित्रका किशोरकिशोरी भनेर सबै किशोरकिशोरीहरुलाई सामान्यीकरण गरिएको यस एसएमएस बाट सम्पूर्ण अविभावक तथा बालबालिकामा नकारात्मक असर पारेको पाइएको छ । यसरी गलत सन्देश प्रबाहित भएको कुरालाई स्वीकार गर्नुको बदला सो सन्देशलाई गलत बुझिएको भनेर मिति ०६ पुष २०७१ मा पे्रस विज्ञप्ती जारी गरिनु टिडिएच जस्तो बालअधिकार बिशेषत बाल संरक्षणका क्षेत्रमा योगदान पुर्‍याइरहेको संस्थाका लागि अशोभनीय कुरा हो,’ सञ्जालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी सो संस्थालाई सार्बजनिक रुपमा आफ्नो गल्ती स्वीकार गर्न र भावी दिनहरुमा यस प्रकारको गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जायर गर्न हार्दिक अनुरोध गर्दछौ ।’

    सञ्जालले सरकारसमक्ष पनि यस प्रकारका गतिविधिहरुको अनुगमन गर्न आग्रह गरेको छ ।

    बिभिन्न बिदेशी नम्बरहरुबाट +४४७०३४३६१०, ४४७४००३४३६५५ बाट आएको उक्त एसएसमएस उपत्यकाबासीमाझ चर्चाको विषय बनेको थियो ।  प्रहरी प्रशासन कार्यालय र सरोकालवाला निकाय कसैसंग पनि अनुमति नलिइकनै तीन लाख नेपालीलाई यस्तो एसएमएस पठाइएको थियो ।कान्तिपुरमा खबर छ

     

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१