चर्चित फुजेल हत्या प्रकरणका आरोपी धरौटी र तारेखमा छुटे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७१, सोमबार ०८:३०

 

चितवन, ७ पौष । गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई चितवन जिल्ला अदालतले धरौटी र तारेखमा छाडेको छ ।
 जिल्ला न्यायधिश विनोद मोहन आचार्यको एकल इजलासले अधिकारीलाई नगद २७ हजार रुपैयां धरौटी र तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलका अनुसार पक्राउ परेका अधिकारीलाई मुलुकी ऐन अदालती बन्दोबस्तको ५ (१०) नम्बर बमोजिम नगद धरौटी र तारेखमा छाड्न आदेश दिएको हो । अधिकारीलाई पहिलो तारिख पुस ११ गतेका लागि तोकिएको श्रेष्तेदार पौडेलले जानकारी दिए । दोस्रो पटकको मुद्दामा लामो समय पछि फरार भनिएका रामप्रसाद अधिकारीलाई काठमाडौंको बालाजुबाट शनिबार सांझ पक्राउ गरिएको थियो ।
 जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कुवंर नेतृत्वको टोलीले सांझ अधिकारीलाई पक्राउ गरेको हो । पहिले पक्राउ परि छुटेपनि दोस्रो पटकको मुद्दामा अधिकारी फरार रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए । पक्राउ गरिएका अधिकारीलाई आज विहान चितवन जिल्ला अदालत पेश गरिएको थियो । अधिकारीको आजै बयानपछि थनुछेक बसह भएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता धर्मराज आचार्य, लक्ष्मण अधिकारी र खगराज कंडेलले बहस गरेका थिए भने वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले बसह गरेका थिए ।
 प्रहरीले यसअघि पनि अधिकारीलाई अदालत पुर्‍याउंदा प्रमाण नपुगेको भन्दै मुद्दा नै फिर्ता लिएको थियो । उनलाई गतवर्ष असोज १४ गते हाजिरी जमानमा छोडिएको थियो । रामप्रसादलाई धरौटी र तारेखमा छोडिएसंगै अब यस घटनाका आरोपित १३ जना मध्ये ११ जना नै चितवन अदालतमा उपस्थित भएका छन् । उनीहरु सबैको अब मुद्दा पेशीमा जाने अदालतले जनाएको छ ।
अदालत उपस्थित नभएकाहरु मध्ये शुभद्रा तिवारी र रुद्र आचार्य रहेका छन् । यस्तै अदालतमा उपस्थित ११ जना मध्ये सीता अधिकारी र जानुका पौडेल शुद्व तारेखमा छुटेका थिए भने बांकी धरौटी र तारेखमा रिहा भएका थिए । चितवनको रत्ननगरबाट तत्कालिन नेकपा माओवादीले अधिकारीको जेठ २३ गते अपहरण गरि जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१