८ श्रीमतीको मिलिजुली परिवार , ६० सन्तान एकाघरमै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७१, बिहीबार ०५:५७

 

दमारबेंसी (अर्घाखाँची), १८ मङ्सिर । कानुन र समाजमा एकभन्दा बढी विवाह गरेमा कारबाही खेप्नुपर्ने हुन्छ ।
 कसैकसैले भने बहुविवाह गरे पनि सौता-सौताबीचको दिनरातको कलझगडाले टाउको समाएर बसेका देखिन्छन् । ‘दुई श्रीमतीको पोइ कुना बसी रोइ’ भनिँदै आए पनि जुलुके, दमारबेंसीका ७१ वर्षीय टानबहादुर पुलामीले भने आठ श्रीमती भित्र्याए पनि परिवारमा दुःख र झगडा केही छैन । सबै हाँसीखुसी बस्दै आएका छन् । हँसिला र ठट्यौली स्वभावका ७१ वर्षीय टानबहादुरले बिहे गर्दागर्दै आठ श्रीमती पुगेको बताए । पहिले विवाह १८ वर्षको हुँदा गरेका उनका जेठी श्रीमती खुमासरका एक छोरा, ४ छोरी छन् । दोस्रोकी ३ छोरी र २ छोरा, तेस्रोकी २ छोरी, चौथोकी ४ छोरी, पाँचांैका २ छोरा र १ छोरी र छैटौंका २ छोरा छन् ।
 तीमध्ये ४ छोरा विदेश, एक छोरा काठमाडौंमा बस्छन् भने अरूले खेतीपाती । छोराछोरी, नातिनातिना र पनातिना गरी पुलामीको ६० जनाको सन्तान पुगेको छ । पुलामीको ५ ठाउँमा जग्गा छ । हिउँदमा जग्गामा मल हुने गरी सबै ठाउँमा गोठ राखिन्छ । त्यसमा एक/एक श्रीमतीको परिवार छुट्टाछुट्टै जान्छन् । खेती लगाएपछि उनीहरू वर्षायाममा एक घरमा भेला भएर बस्छन् । धेरै श्रीमती र परिवार भए पनि अहिलेसम्म सबै मिलीजुली बसेका छन् । ‘अहिलेसम्म झगडा भएको छैन,’ पुलामीकी कान्छी श्रीमती सुशीलाले भनिन्, ‘म आफैँ देखेर विवाह गरेकी हुँ, दिदीहरू र छोराछोरीले नराम्रो गर्नुभएको छैन ।’ उनले सानै छँदा बुबाआमाको मृत्यु भएपछि बिचल्लीमा परेपछि दिदीबहिनीले एउटैसँग बिहे गरेको बताइन् ।
‘अहिले खान, लाउन केही दुःख छैन । पुलामीले लगाएको सबैले आआफ्नो काम गर्छौं, पेटभरि खान्छौं, सबै खुसी छौँ, जिन्दगी रमाइलो नै छ,’ उनले भनिन् । वर्षको एकपटक तीजमा सबैलाई पुलामीले एउटै खालका कपडा कान्छी श्रीमतीलाई किन्न लगाउँछन् । उनी कांग्रेस जलुके गाविसका सचिव हुन् । सदरमुकामदेखि झन्डै १ सय ५० किलोमिटर दक्षिण प्यूठान र दाङको सीमास्थित घना जंगलमा दमारबेंसी गाउँ छ । पुलामीका घरमा पुग्दा ६ श्रीमती आआफ्नो काममा व्यस्त थिए । जेठी श्रीमती काम गर्न सक्दिनन् । ‘बुढाले दोस्री ल्याउँदा त सुरुमा साह्रै रिस उठ्यो तर दुई चार महिनापछि फेरि माया लाग्यो,’ जेठी श्रीमती खुमासरले भनिन्, ‘हेर्दाहेर्दै ८ वटी बनाए, कामको दुःख हरायो, धेरै हुँदा त झन् मिलेरै बसियो, केको झगडा गर्नु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१