कति छ त मन्त्रीहरुसँग सुन र गहना?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार १२:२०

sunko-sikri_Gold-nakeless

काठमाडौँ ,२६  कार्तिक । गहनालाई राम्रो लगानी र अड्कोपड्को फुकाउने मुख्य माध्यमका रुपमा पनि हेरिन्छ । त्यसैले नेपालमा सर्वसाधारणले मात्र होइन,नेताहरुले पनि उल्लेख्य मात्रामा सुन,चाँदी र हिराका गहना जोड्ने गरेका छन् । यसरी गहना र सुन जोड्नेमा उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम पनि अगाडि नै देखिएका छन् । उनीसँग ३५ तोला सुन,१०० तोला चाँदी र एक सेट हीराको गहना छ । अर्का उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहसँग भने बामदेबको भन्दा ३० तोला बढी सुन छ । आफ्नो सम्पत्ति विवरणमा ६५ तोला सुन देखाएका सिंहसँग चाँदी २ किलो र केही सेट हीराका गहना छन् । अर्थमन्त्री रामशरण महतसँग बहालबाला सबै मन्त्रीको भन्दा बढी सुन मौज्दात छ । उनीसँग ९५ तोला त सुन मात्रै छ । २१ सय तोला चाँदी रहेका महतसँग केही सेट हीराका गहना छन् । कानुन,न्याय,संविधानसभा तथा संसदीय मामिला तथा शान्ति तथा पुननिर्माणमन्त्री नरहरी आचार्य र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँग भने ८– ८ तोला सुन छ । शिक्षामन्त्री चित्रलेखा यादवसँग ४० तोला सुनका साथै १००० तोला चाँदी छ । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालसँग ७० तोला सुन र ४०० तोला चाँदी छ । वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यसँग सुनका बाला,चुरा नेकलेसलगायत गहनाहरु र केही सुनका सिक्काहरु छन् । उर्जामन्त्री राधाकुमारी ज्ञवालीसँग १२ तोला सुन र २० तोला चाँदी छ । सिंचाईमन्त्रीले आफ्नो सम्पत्ति विवरणमा ४४ तोला सुन भएको देखाएका छन् । उनीसँग चाँदी १०२ तोला छ भने हीराका गहना अन्य मन्त्रीको भन्दा धेरै छ । उनीसँग २ चुरा,६ औँठी,१ लकेट,पाँच टप र एक जोर मंगलसुत्र छ । सहरी विकासमन्त्री डा. नारायण खड्कासँग १८ तोला सुन मात्रै छ भने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफ्नो सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी देखाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीसँग भने बहालबाला मन्त्रीहरुमध्येमा सबैभन्दा कम सुन छ । उनीसँग सुनको जिनिस जम्मा तीन तोला मात्रै छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग १० तोला,भुमिसुधार मन्त्री दलबहादुर रानासँग ११ तोला सुन छ । कृषिमन्त्री हरिप्रसाद पराजुलीले २२ तोला सुन जम्मा गर्न भ्याएका रहेछन् भने बाणिज्य मन्त्री सुनिलबहादुर थापासँग ५५ तोला सुन र करिब १५ थान हिराका गहना छन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीसँग १८ तोला,श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग ५० तोला सुन छ,२१ गतेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१