वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन: अर्थमन्त्री महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८०, आईतवार ०७:१२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन् । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । साथै, वित्तीय क्षेत्रमा भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने समेत उनले बताए । ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौं,’– उनले भने ।

समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने उनले बताए । ‘त्यो प्रवृत्तिलाई राज्यले सहन सक्दैन, म खबरदारी गर्छु । बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयास हो, यो सम्भव छैन,’– उनले भने ।

लघु वित्तलाई कसरी स्वस्थ्य बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको मन्त्री डा. महतले उल्लेख गरे । पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको, लघु वित्त र सहकारीबाट ऋण लिएकाहरुलाई उपयोग गर्न खोजिएको भन्दै उनले यसखाले प्रवृत्ति.एकदमै खतरनाक रहेको बताए । ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरु मिलेर यसको प्रतिवाद गर्नुपर्छ’ मन्त्री महतले भने, ‘सँगसँगै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जानु हुँदैन ।’

लघु वित्तलाई नाफा कमाउने औजारको रुपमा उपयोग गर्न नहुने उनको भनाइ छ । उनले फाइदा उठाइ हालौं भन्नेहरुलाई निरुत्साहित गर्न आग्रह गरे ।

साथै ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व जो कोहीले पनि पूरा गर्नुपर्ने उनको भनाइ छ । ‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ । लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्यविपरित काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढंगबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई तपाईंहरु सबै मिलेर निरुत्साहित गर्नुपर्छ,’– मन्त्री महतले भने ।

राज्यले ऋण तिर्न समय थप गर्ने र ब्याज कम गर्नका लागि सहजिकरण गर्नसमेत सक्ने बताउँदै उनल ऋण तिर्नै पर्दैन भन्ने प्रवृत्ति पर्दाफास गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१