छ सय जनाभन्दा धेरैबाट करोडौं ठगी, युरोप जान सरकारी कर्मचारीले नै छाडेका थिए जागिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०८०, शुक्रबार १८:१७

काठमाडौं  । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युरोपियन मुलुकहरु माल्टा, पोल्याण्ड, क्रोयसिया र क्यानडा लगायतका देशहरूमा पठाउने प्रलोभनमा पारी छ सय जनाभन्दा धेरै व्यक्तिहरुबाट करोडौं रकम ठगी गरी फरार रहेका विकाश वाईवा भन्ने सुजन तामाङ, अर्जुन तामाङ भन्ने कर्म तामाङ्गलाई पक्राउ गरेको छ ।

काठमाडौंको बालाजुमा युरो विङ्स् कन्सलटेन्सीका सञ्चालन गरी सर्वसाधारण ठग्ने सुजन र कर्मलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ । उनीहरुले २०७३ सालबाट आयुष मेनपावर लगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गरेको र करिव ५ वर्ष ऐजेन्टको काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार, मलेसियामा पठाए पाइएको छ ।

सुजन २०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानहरुमा लुकीछिपी बसेको र २०८० वैशाखमा काठमाडौं आई आफूलाई विकास वाईवाको रुपमा चिनाएर ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाइदिन्छु भनी रकम लिएर नक्कली भिषा देखाई जागिर छोड्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले बताएअनुसार विकाश वाईवाको नामबाट बैंक खाता खोली आफैंले हस्ताक्षर गरी बैंक, वित्तीय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेका थिए । युरोपियन मुलुकहरुमा पठाउन उनले मुलुक अनुसार रकम निर्धारण गरेका थिए ।

प्रहरीका अनुसार उनले क्यानडाका लागि १८ लाख, माल्टाका लागि ८ लाख, पोल्याण्डका लागि ७ लाख, क्रोयसियाका लागि ६ लाख ५० हजार लागत निर्धारण गरिएको थियो । छ सयभन्दा धेरै सर्वसाधारण व्यक्तिहरुबाट ५० हजारदेखि पाँच लाखसम्म रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार उनीहरुविरुद्ध हालसम्म ७० जनाको मुद्दा दर्ता भई तीन करोड २५ लाख २२ हजार बिगो कायम भएको छ । अहिले उनीहरुविरुद्ध अन्य व्यक्तिहरुले पनि ठगी मुद्दा दर्ता गराइरहेका विभागले जनाएको छ ।

उक्त ठगी गरेको रकमबाट उनीहरुले ४ करोड व्यक्तिगत ऋण तिरेको पाइएको र राप्ति मेनपावर बसुन्धरामा ५० प्रतिशत शेयरवापत ५० लाख लगानी रहेको खुलेको प्रहरीले जनाएको छ । साथै, ठगी गरेको पैसाबाट ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको, सुवाश तामाङ (भाइ) को खातामा विभिन्न मितिमा १५ लाख ५० हजार जम्मा गरेको, जल विद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१